काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा एक जना युवतीको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगपालिका-२६ मित्रनगरमा २५ वर्षीया निशा सुनारको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
धनगढीकी निशाको शव साउन ३ गते बिहान ११ बजेतिर नयाँ बसपार्कको मित्रनगरस्थित होटल माउन्टेन एल्सिभाको चौथो तलाको कोठामा फेला परेको थियो।
उनको शव खाटमुनि लुकाइएको अवस्थामा फेला परेको थियो। कोठा सफा गर्ने क्रममा गन्ध आएपछि शव फेला परेको हो।
शव फेला परेपछि परिसर, प्रहरी प्रभाग नयाँबसपार्क र प्रहरी वृत्त महाराजगन्जको टोली खटिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
अनुसन्धान क्रममा निशाले उक्त कोठा बुक गरेको खुलेन। बरू केही दिनअघि त्यही कोठा २० वर्षीय दानबहादुर शाहीका नाममा बुक गरिएको खुल्यो। उनी जुम्लाको चन्दननाथ गाउपालिका-१ घर भई नेपालगन्ज उपमहानगरपालिकामा बस्थे।
अनुसन्धान क्रममा प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। सोधपुछ गर्दा उनले आफूले बुक गरेको कोठा आफ्नो साथीलाई प्रयोग गर्न दिएको खुलेको छ। उनलाई साउन ३ गते नै पक्राउ गरी साउन ४ गते काठमाडौंबाट अर्का आरोपी रमेश बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दैलेख डुङ्गेश्वर गाउँपालिका-६ घर भई महाराजगन्जमा बस्दै आएका रमेशलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।
एसपी भट्टराईका अनुसार रमेश यस हत्यामा प्रत्यक्ष संलग्न छन्। रमेशले निशालाई असार ३१ गते भेटेका थिए। उनले निशालाई होटलमा लगेका थिए।
'उनीहरूबीच कुनै चिनजानको सम्बन्ध होइन। कतै भेट भएपछि उनीहरू त्यहाँ पुगेको देखिन्छ,' एसपी भट्टराईले भने, 'त्यहाँबाट निशाले एक लाख रूपैयाँ नगद चोरी गरी लगेको प्रहरीसमक्ष बयानमा भनेका छन्।'
यसरी चोरी गरेपछि उनले आफ्ना साथी दानबहादुरलाई सम्पर्क गरेका थिए। त्यसैगरी रमेशले भोलिपल्ट निशालाई भेट्टाएर दानबहादुरले बुक गरेको होटलमा लगेका थिए।
दानबहादुरले असार २८ गते उक्त कोठा बुक गरेका थिए। रमेशले त्यही कोठामा असार ३२ गते निशालाई लगेको देखिन्छ।
होटल नपुग्दासम्म रमेशलाई निशाले चिनेका थिएनन्। तर त्यहाँ पुगेर चिनेपछि उनीहरूबीच त्यही अघिल्लो दिन चोरी भएको रकमलाई लिएर विवाद भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
'लेनदेनको विषयमा दुई जनाबीच विवाद हुन्छ। त्यही क्रममा रमेशले निशाको घाँटी कसेर हत्या गर्छन्,' एसपी भट्टराईले भने।
हत्या गरेपछि पनि रमेश त्यहाँबाट भाग्दैनन्। उनी त्यही कोठामा मदिरा सेवन गर्छन्। शवलाई बेडमुनि लुकाएर राख्छन्। त्यही बेडमाथि उनी रातभर सुतेर साउन १ गते त्यहाँबाट फरार भएको एसपी भट्टराईले बताए।
यसरी लुकाएर राखिएको शव दुई दिनपछि गन्ध आएपछि मात्र भेटिएको हो।
प्रहरीले पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।