लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन र पर्यटनजस्ता व्यावसायिक विषयलाई 'प्रायोगिक बौद्ध अध्ययन' संकायमा समेटेपछि विद्यार्थीको शैक्षिक भविष्य र उनीहरूले प्राप्त गर्ने प्रमाणपत्रको मान्यतामाथि गम्भीर प्रश्न उठेको छ।
विश्वविद्यालयले पहिले फरक–फरक संकाय अन्तर्गत सञ्चालन हुँदै आएका प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रमलाई एकमुष्ट रूपमा 'प्रायोगिक बौद्ध अध्ययन संकाय' अन्तर्गत राख्ने निर्णय गरेपछि यस्तो प्रश्न उठेको हो।
विद्यार्थीहरूले विश्वविद्यालयको निर्णयको शैक्षिक औचित्य, कानुनी आधार र त्यसले प्रमाणपत्रको मान्यतामा पार्न सक्ने प्रभावबारे पर्याप्त स्पष्टता नभएको गुनासो गरेका छन्।
बौद्ध दर्शनको अध्ययन र अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्य प्राविधिक विषयका अध्ययनलाई पनि सम्बन्धन दिएको भन्दै बेला–बेला प्रश्न उठ्ने गरेको थियो। तर विश्वविद्यालयको पछिल्लो निर्णयले यसअघि आफैले सम्बन्धन दिएका विषय पढिरहेका विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन र विपद् जोखिम व्यवस्थापनजस्ता व्यावसायिक विषय अध्ययन गरिरहेका विद्यार्थीको चिन्ता एउटै छ— वर्षौंको मेहनत र लगानीपछि हात पर्ने प्रमाणपत्रले आफूहरूको शैक्षिक योग्यता र पेसागत पहिचानलाई मान्यता देला कि नदेला?
विश्वविद्यालय सभाको गत असार २६ गते शिक्षा मन्त्रालयमा बसेको बैठकले विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई फ्याकल्टी अफ बुद्धिस्ट स्टडिज र फ्याकल्टी अफ अप्लाइड बुद्धिस्ट स्टडिज गरी इटा मात्र फ्याकल्टी बनाउने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन, ग्रामीण विकास, विपद जोखिम व्यवस्थापन तथा कृषि वनसम्बन्धी कार्यक्रमलाई फ्याकल्टी अफ अप्लाइड बुद्धिस्ट स्टडिजअन्तर्गत राखिएको हो।
विश्वविद्यालयका अनुसार यो निर्णय सरकारको नीतिअनुसार संकाय संरचना पुनर्गठन गर्ने प्रक्रियाकै निरन्तरता हो।
विद्यार्थीहरू भने संकायको नाम र संरचना परिवर्तन गर्ने निर्णयले आफूहरूले अध्ययन गरिरहेको विषयको पहिचान तथा भविष्यमा प्राप्त गर्ने उपाधिको स्वीकार्यतामाथि अन्योल सिर्जना गरेको बताउँछन्।
डिजास्टर रिस्क इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट विषयमा स्नातकोत्तर तहको पहिलो सेमेस्टरमा अध्ययनरत सुशील खनाल विश्वविद्यालयको निर्णयबाट चिन्तित छन्।
उनका अनुसार २०७२ सालदेखि सम्बन्धन प्राप्त संस्थामार्फत इन्जिनियरिङ संकाय अन्तर्गत अध्ययन हुँदै आएको विषयलाई अहिले बौद्ध अध्ययनसँग जोडिएको संकायमा राख्नुले विद्यार्थीको भविष्य अन्योलमा पारेको छ।
'इन्जिनियरिङ लगायत प्राविधिक विषयलाई समेत बौद्ध अध्ययन संकायमा राखेर हाम्रो सर्टिफिकेटलाई रद्दीको टोकरीमा हाल्ने गरी निर्णय गरिएको छ,' खनालले भने।
विश्वविद्यालयले २०७२ सालमा ललितपुरस्थित लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्सेजलाई डिजास्टर रिस्क इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट विषय अध्यापन गराउन सम्बन्धन दिएको थियो। सोही व्यवस्था अनुसार खनालले अध्ययन गर्दै आएका छन्।
खनालका अनुसार यही विषय अध्ययन गरेर उत्तीर्ण भएका विद्यार्थीहरू इन्जिनियरिङ सेवामा काम गरिरहेका छन्। अहिले संकाय परिवर्तन गरिएपछि आफूहरूले प्राप्त गर्ने प्रमाणपत्रका आधारमा इन्जिनियरिङ सेवामा प्रवेश गर्न वा सम्बन्धित क्षेत्रमा पेसागत अवसर हासिल गर्न समस्या पर्ने हो कि भन्ने उनको आशंका छ।
उनको चिन्ता केवल प्रमाणपत्रमा संकायको नाम परिवर्तन हुने विषयमा मात्र सीमित छैन। अन्य विश्वविद्यालयमा थप अध्ययन गर्न, उपाधिको समकक्षता प्राप्त गर्न, सरकारी सेवामा प्रवेश गर्न तथा प्राविधिक क्षेत्रमा आफ्नो योग्यता प्रमाणित गर्न कठिनाइ उत्पन्न हुने सम्भावनाले पनि थप चिन्तित बनाएको छ।
विश्वविद्यालयको प्रमाणपत्र विद्यार्थीका लागि अध्ययन पूरा गरेको प्रमाण मात्र होइन, भविष्यमा रोजगारी, उच्च शिक्षा र पेसागत विकासको आधारसमेत हो। त्यसैले अध्ययन गरेको विषय, प्राप्त उपाधि र प्रमाणपत्रमा उल्लेख हुने संकायबीच स्पष्ट सम्बन्ध हुनु आवश्यक मानिन्छ।
विशेष गरी संरचनात्मक इन्जिनियरिङ, निर्माण इन्जिनियरिङ तथा व्यवस्थापन र विपद जोखिम इन्जिनियरिङ तथा व्यवस्थापनजस्ता विषयको शैक्षिक पहिचान स्पष्ट नहुँदा सम्बन्धित नियामक निकाय तथा अन्य शैक्षिक संस्थाले उपाधिलाई कसरी स्वीकार गर्छन् भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्रदान गरिएका केही उपाधिको मान्यताबारे यसअघि पनि प्रश्न उठेको थियो। विश्वविद्यालयका एक कर्मचारीका अनुसार पर्यटन व्यवस्थापन अध्ययन गरेका केही विद्यार्थीले मानविकी संकाय अन्तर्गतको प्रमाणपत्र प्राप्त गरेपछि विदेशका विश्वविद्यालयमा समकक्षता प्राप्त गर्न समस्या भएपछि विश्वविद्यालयमा पत्राचार गर्नुपरेको थियो।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका एक अध्यापकले यसै प्रकारको परिस्थितिमा विद्यावारिधि उपाधि प्राप्त गरे पनि बढुवाको प्रयोजनमा समस्या आएपछि दोस्रो पटक विद्यावारिधि गर्नुपरेको थियो।
विद्यार्थीहरूका अनुसार विश्वविद्यालयले शैक्षिक कार्यक्रमको वर्गीकरण परिवर्तन गर्नुअघि सम्बन्धित प्राविधिक निकाय, समकक्षता निर्धारण गर्ने संस्था र अन्य विश्वविद्यालयसँग आवश्यक समन्वय गरेको थियो वा थिएन भन्ने विषयसमेत स्पष्ट पारेको छैन।
संकायको नाम परिवर्तन हुँदा पाठ्यक्रम, अध्ययनको स्तर र उपाधिको मूल प्रकृति परिवर्तन हुन्छ कि हुँदैन भन्ने विषयमा पनि स्पष्ट जबाफ आवश्यक रहेको उनीहरूको भनाइ छ।
विश्वविद्यालयको पछिल्लो निर्णय कामचलाउ नेतृत्वको प्रस्तावमा भएको भन्दै विद्यार्थीहरूले निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएका छन्। विगतमा सम्बन्धन र संकाय सम्बन्धी निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरूकै कार्यकालमा अहिले संकायमा संरचना परिवर्तन गरिएको भन्दै उनीहरूले आशंका व्यक्त गरेका हुन्।
खनालले विश्वविद्यालयका कामचलाउ उपकुलपति माणिक रत्न शाक्य र रजिस्ट्रार इन्द्र काफ्लेले विगतमा इन्जिनियरिङ संकाय अन्तर्गत राखिएका विषय अहिले बौद्ध अध्ययन संकायमा समेट्ने निर्णय गरेर विद्यार्थीको भविष्य अन्योलमा पारेको आरोप लगाए।
रजिस्ट्रार काफ्ले २०७० सालदेखि विश्वविद्यालय क्याम्पसको प्रमुखका हैसियतमा कार्यकारी परिषदका सदस्य थिए। त्यस बेला नरेशमान बज्राचार्य उपकुलपति थिए। उनीहरू जिम्मेवार पदमा रहेका बेला २०७२ कात्तिक २५ गते लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्सेजले सम्बन्धन पाएको थियो। त्यस्तै, काठमाडौंस्थित ग्लोबल कलेजले पनि व्यवस्थापन विषयको सम्बन्धन प्राप्त गरेको थियो।
अहिले विश्वविद्यालयको १६ औं सभाबाट तीनवटा संकाय समायोजन गरी बौद्ध दर्शनबाहेकका अन्य विषयलाई प्रायोगिक बौद्ध अध्ययन संकायमा राखिएको विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थी सुशील खनालले विश्वविद्यालयको निर्णय शिक्षा प्राप्त गर्ने हकविपरीत भएको दाबी गर्दै आवश्यक परे कानुनी उपचारमा जाने बताए।
विद्यार्थीहरूले प्रश्न उठाइरहेका बेला विश्वविद्यालय प्रशासनले भने नयाँ संकाय संरचना सरकारी निर्णय कार्यान्वयन गर्ने क्रममा लागू गरिएको जनाएको छ।
विश्वविद्यालयका रजिस्ट्रार इन्द्र काफ्लेका अनुसार यसअघि विश्वविद्यालयमा विभिन्न संकाय अन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका थिए। तर सरकारले करिब दुई वर्षअघि 'फ्याकल्टी अफ बुद्धिस्ट स्टडिज' र 'फ्याकल्टी अफ अप्लाइड बुद्धिस्ट स्टडिज' गरी दुइटा मात्र संकाय कायम गर्ने निर्णय गरेपछि अहिले कार्यान्वयन गरिएको काफ्लेले बताए।
काफ्लेका अनुसार इन्जिनियरिङ, कानुन लगायतका विषय पनि फ्याकल्टी अफ अप्लाइड बुद्धिस्ट स्टडिज अन्तर्गत राखिएको छ। संकायको संरचना परिवर्तन भए पनि प्रमाणपत्रमा विद्यार्थीले अध्ययन गरेको सम्बन्धित विषयसमेत उल्लेख गरिने उनले बताए।
'अहिले जारी भएका केही विद्यार्थीको प्रमाणपत्रमा प्राविधिक त्रुटि भएको देखिएको छ। विश्वविद्यालयले त्यसलाई सच्याउँछ,' काफ्लेले भने।
प्रमाणपत्रमा देखिएका त्रुटि सच्याउन सकिने भएकाले यसलाई ठूलो विषय बनाउन आवश्यक नभएको उनको भनाइ छ।
विश्वविद्यालयले त्रुटि भएका प्रमाणपत्र सच्याउने प्रतिबद्धता जनाए पनि विद्यार्थीहरूले भने प्रमाणपत्रमा विषयको नाम उल्लेख हुने आश्वासन मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूलाई सम्बन्धित नियामक निकायले उपाधि स्वीकार गर्ने, अन्य विश्वविद्यालयले समकक्षता दिने र सरकारी तथा निजी क्षेत्रमा प्राविधिक पदका लागि योग्य ठहरिने विषयमा समेत विश्वविद्यालयले ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।
भर्ना हुँदा अध्ययन गर्न स्वीकार गरेको विषय र पछि प्राप्त गर्ने प्रमाणपत्रको संकायगत पहिचान फरक पर्दा उत्पन्न हुने समस्या विश्वविद्यालयले समाधान गर्नुपर्ने विद्यार्थीहरू बताउँछन्।
सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा अध्यादेश मार्फत संशोधन गरी विश्वविद्यालयका पदाधिकारीको योग्यतामा बौद्ध अध्ययन सम्बन्धी स्नातकोत्तर वा विद्यावारिधि उपाधिलाई प्राथमिकता दिएको छ।
विश्वविद्यालय सभाले इन्जिनियरिङ र व्यवस्थापनजस्ता प्राविधिक तथा व्यावसायिक विषयलाई प्रायोगिक बौद्ध अध्ययन संकाय अन्तर्गत राखेपछि सो फ्याकल्टी अन्तर्गत उत्तीर्ण इन्जिनियरिङ, कानुन वा व्यवस्थापन जुनसुकै विषयमा भएको अध्ययनले पनि विश्वविद्यालयको पदाधिकारी हुने अवस्था बनाएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध दर्शन, संस्कृति र अध्ययनको विकाससँग जोडिएको संस्था हो। पछिल्ला वर्षहरूमा विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षणसमेत बढिरहेको छ। यस्तो अवस्थामा शैक्षिक कार्यक्रमको संरचना र प्रमाणपत्रको विश्वसनीयता सम्बन्धी विवादले विश्वविद्यालयप्रतिको विश्वासमा समेत असर पार्न सक्ने जोखिम बढेको छ।