भारतका वातावरण अभियानी सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनसन अन्त्य गरेका छन्।
उनले बिहीबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा अनसन तोडेका हुन्।
सामाजिक सञ्जाल एक्समा तस्बिर सार्वजनिक गर्दै वाङ्चुकले २६ दिनपछि अनसन अन्त्य गरेको जानकारी दिएका छन्।
'आज राति केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा मैले २६ दिनपछि आफ्नो अनसन तोडेको छु,' उनले लेखेका छन्।
उनले अनसन तोड्नु अघि विभिन्न सर्तमा लामो वार्ता भएको र देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताएका छन्।
उनले विभिन्न दलका ६५ सांसदरहरूले भेटेर तथा पत्रमार्फत अनसन अन्त्य गर्न आग्रह गरेको पनि जानकारी दिएका छन्।
'विभिन्न सर्तमा लामो वार्तापछि र देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै मैले यो निर्णय गरेको हुँ। ती सबै सर्तबारे म छिट्टै छुट्टै भिडियोमार्फत जानकारी दिनेछु। अहिलेलाई सबैलाई कुनै पनि प्रकारको हिंसा हुन नदिन सतर्क रहन आग्रह गर्छु,' उनले भनेका छन्।
वाङ्चुकले अनसन अन्त्य गरेको केही घण्टाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्नविरुद्ध अझ कडा कानुनी व्यवस्था ल्याइने बताएका थिए।
मोदीले सरकारले प्रश्नपत्र चुहावट प्रकरण सार्वजनिक भएपछि धेरैलाई पक्राउ गरेर जेल पठाइसकेको उल्लेख गर्दै २२ लाख विद्यार्थीका लागि पुनः परीक्षा गराएर नतिजासमेत सार्वजनिक गरिएको बताए।
उनले प्रश्नपत्र चुहावटका घटनाको छिटो सुनुवाइ गर्न 'फास्ट ट्र्याक' अदालत गठन गर्ने तथा दोषीलाई कडा सजाय दिने व्यवस्था समेटिएको विधेयक शुक्रबार मन्त्रिपरिषदमा छलफलका लागि पेश गरिने जानकारी दिए।
मन्त्रिपरिषद्को सुझावपछि अन्तिम रूप दिएर संसद्को दोस्रो सातादेखि उक्त विधेयक पारित गराउने प्रयास गरिने उनको भनाइ थियो।
वाङ्चुकले अनसन तोडेपछि प्रधानमन्त्री मोदीले उनको स्वास्थ्यप्रति चासो व्यक्त गरेका छन्। उनले चिकित्सकको सल्लाहअनुसार उपचार गराएर स्वास्थ्य सुधार गर्न आग्रह गर्दै वाङ्चुकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
'म सोनमजीलाई चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यको ख्याल राख्न र छिट्टै पुरानै स्वास्थ्य अवस्थामा फर्किन आग्रह गर्छु। उहाँ सधैं स्वस्थ रहून् भन्ने मेरो प्रार्थना छ,' मोदीले एक्समा लेखेका छन्।
उता, 'कक्रोच जनता पार्टी (सिजेपी)' का संस्थापक अभिजित दिप्केले वाङ्चुकको अनसन अन्त्य भएकोमा राहत महसुस भएको बताएका छन्।
उनले वाङ्चुकले आफ्नो जीवन जोखिममा राखेर देशभरका नागरिकको चेतना जगाएको भन्दै उनको साहस र त्यागप्रति धन्यवाद व्यक्त गरेका छन्।
यद्यपि, सिजेपीले नयाँदिल्लीको जन्तर–मन्तरमा जारी आन्दोलन भने नरोकिने स्पष्ट पारेको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने दिप्केको भनाइ छ।
सन् २०२६ को नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणपछि सीजेपीले जुन २० देखि आन्दोलन सुरु गरेको थियो।
आन्दोलनले प्रतिस्पर्धात्मक परीक्षामा भएको भनिएको अनियमितताको छानबिन, शिक्षा प्रणालीमा सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आएको छ।
वाङ्चुक जुन २८ मा आन्दोलनमा सहभागी भएका थिए र त्यसलगत्तै आमरण अनसन सुरु गरेका थिए। सिजेपीले जुलाई २४ मा देशव्यापी शान्तिपूर्ण प्रदर्शन गर्न तथा हरेक जिल्लामा विरोध कार्यक्रम आयोजना गर्नसमेत आह्वान गरेको छ।