६७ वर्षीया मुलजिता रोकाले पाँच वर्षपछि बल्ल आफ्नो जग्गा फिर्ता पाएकी छन्।
दाङको घोराही उपमहानगरपालिका-७ सौडियारमा रहेको १० कट्ठा ८ धुर जग्गा बिहीबार मात्रै पुनः आफ्नो नाममा फिर्ता पाएकी हुन्।
आफ्नो नाममा भएको करोडौंको जग्गा जालसाजी गरी दुई जनाले किनबेच गरिसकेको थाहा पाएपछि मुलजिताले कानुनी लडाइँ थालेकी थिइन्।
अदालतमा मुद्दा अझै विचाराधीन छ। तर, आपसी सहमतिमार्फत बिहीबार उनको नाममा जग्गा फिर्ता आएको हो।
रोल्पाको थवाङ–४ बाट घोराही झरेर जग्गा किनेकी मुलजिताले आफ्नो सम्पत्ति फिर्ता पाउन भने लामो संघर्ष गर्नुपर्यो। जति संघर्ष गर्नुपरे पनि पाँच वर्षपछि आफ्नै जग्गा फिर्ता पाउँदा उनी निकै खुसी देखिइन्।
एकल महिला मुलजिताले जग्गा किने पछि भाडामा लगाएकी थिइन् भने आफू घोराही–१४ मा डेरा गरी बस्दै आएकी थिइन्। छोरी पेम्बाको उच्च शिक्षाका लागि खर्च जुटाउन मुस्किल परेपछि उनले २०७८ असार १६ गते जग्गा भाडामा दिने सम्झौता गरेकी थिइन्।
आफ्नै भतिजाको साथी घोराही–१५ का टिका बुढा (रन्जित)सँग वार्षिक २४ हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षका लागि जग्गा लिजमा दिने सहमति भएको थियो।
रन्जितले कृषि फर्म खोल्न भनेर मुलजितासँग जग्गा भाडामा लिएका थिए। भतिजाको साथी पनि भएकाले रञ्जितले जे-जे भने उनले त्यही त्यही गरिन्।
जग्गा भाडामा लिएको ११ दिनपछि, अर्थात् २०७८ असार २७ गते घोराहीका लक्ष्मण शर्मालाई बेचिदिएका थिए।
यसबारे रन्जितले मुलजितालाई गुमराहमा राखेका थिए।
कृषि फर्म सञ्चालनका लागि एक करोड रुपैयाँ ऋण लिन लागेको भन्दै मालपोत कार्यालयमा गएर दस्तखत गरिदिन उनले मुलजितालाई आग्रह गरेका थिए। सोझी मुलजिताले त्यो पनि पत्याइन्। मालपोतमा गएर उनले भनेअनुसार हस्ताक्षर गरिदिइन्।
आफूमाथि यति ठूलो जालसाजी भइरहेको छ भन्ने कुरा उनले कल्पनासम्म गरेकी थिइनन्। त्यसरी कानुनी प्रक्रियामार्फत जग्गा लक्ष्मण शर्माको नाममा लिखत पास भएको थियो।
पछि शर्माले २०८१ फागुन ८ गते उक्त जग्गा घोराहीका परशुनारायण श्रेष्ठलाई बेचिदिए। तर, मुलजितालाई त्यसको पनि सुइँकोसम्म भएन।
यतिसम्म बदमासी भएको थियो कि रन्जितले जग्गाको भाडासमेत दिएका थिएनन्। भाडा माग्दा उनी अनेक बहाना बनाएर पन्छिरहन्थे। रन्जितको व्यवहारले मुलजिता निकै चिन्तित थिइन्।
त्यहीबीच २०८२ जेठमा मुलजिता जग्गाको तिरो तिर्न मालपोत कार्यालय पुगेकी थिइन्।
त्यहाँ मालपोतका कर्मचारीबाट आफ्नो जग्गा दुई पटक किनबेच भइसकेर तेस्रो व्यक्तिको नाममा पुगेको थाहा पाएपछि उनी झसंग भएकी थिइन्। उनी त्यहीँ ढलेकी थिइन्। होस खुलेपछि उनले तत्काल पत्रकार सम्मेलन गरी आफू ठगिएको भन्दै जग्गा फिर्ता र न्यायको माग गरेकी थिइन्।
जालसाजी गरी बिक्री गरिएको आफ्नो जग्गा फिर्ता गराइदिन उनले सामाजिक संघसंस्था तथा राज्यका निकायसँग हारगुहार गरिन्।
घोराहीमा पत्रकार सम्मेलनपछि सञ्चारमाध्यममा मुलजिता ठगिएको समाचार सार्वजनिक भए पनि जालसाजीमा संलग्नहरूले उल्टै उनलाई धाकधम्की दिएका थिए।
मुलजिता निडरतापूर्वक जग्गा फिर्ता गराउन लागेपछि रन्जित हच्किए। त्यतिबेलासम्म रन्जितको अवस्था पनि पहिलेजस्तो थिएन। त्यसपछि उनका आफन्तले जालसाजी गरी अर्काको नाममा पुगेको जग्गा फिर्ता गराइदिने आश्वासन दिएका थिए।
त्यही आश्वासनका कारण मुलजिता केही समय जग्गा फिर्ता पाइने आशामा शान्त बसिन्। तर, रन्जितले फेरि उनलाई बेवास्ता गरे। त्यसपछि उनको धैर्यको बाँध फुट्यो।
त्यसपछि मुलजिता कानुनी लडाइँ लड्ने निष्कर्षमा पुगेकी थिइन्।
तत्कालीन नेकपा (माओवादी)का नेता रहेका रन्जितलाई राजनीतिक संरक्षण रहेको बताइन्छ। उनी पूर्वसभामुख कृष्णबहादुर महराका कान्छा ज्वाइँ हुन्।
'त्यही शक्तिको आडमा जसरी रन्जितले सेटिङ मिलाएर जालसाजी गरी उनको जग्गा अर्कैलाई बिक्री गरे, त्यसैगरी अदालतलाई समेत प्रभावित पार्ने प्रयास भयो। समयमै सुनुवाइ हुन दिइएन, पेसी सार्ने र मुद्दा पन्छाउने काम भयो,' उनले भनिन्।
मुलजिताले आफू ठगिएको विषय पूर्वसभामुख महरालाई ज्वाइँमार्फत जानकारी गराएकी थिइन्। अन्य नेताहरू पनि गुहारेकी थिइन्।
रन्जितलाई खोज्नकै लागि उनी कैयौंपटक काठमाडौंसम्म पुगेकी पनि छन्। त्यसमा लाखौं रुपैयाँ खर्च पनि भएको उनी सुनाउँछिन्।
रन्जित सम्पर्कविहीन भई लुकिछिपी बस्न थालेपछि तथा भागेर टार्न खोजेपछि मुलजिताकी छोरी पेम्बा तामाङले आफू अंशियारलाई जानकारी नै नदिई जग्गा बिक्री गरिएको भन्दै दाङ जिल्ला अदालतमार्फत जग्गा रोक्का गराइन्।
त्यसपछि जग्गाको कारोबार रोकियो।
दाङ जिल्ला अदालतका प्रवक्ता गोकर्ण वलीका अनुसार पेम्बाले जालसाजीसम्बन्धी दुई, राजीनामा लिखतसम्बन्धी दुई र अंशसम्बन्धी एक गरी पाँच वटा मुद्दा दायर गरेकी थिइन्। ती मुद्दाको पेसी जेठ २५ गते तोकिएको थियो। वलीका अनुसार ती मुद्दामा हालसम्म फैसला भएको छैन। मुद्दा अझै विचाराधीन छ।
यसैबीच मुलजिताले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्वसञ्चारकर्मी सुवास शर्मालाई भेटेर सहयोगको याचना गरिन्।
शर्माले उनलाई ढाडस मात्र दिएनन्, साथ र सहयोग पनि गरे। उनले प्रहरी प्रशासनदेखि जालसाजी गरी जग्गा किनबेचमा संलग्न सबै पक्षसँग छलफल गरे। उनको सहजीकरणपछि जालसाजी गरी जग्गा हत्याउनेहरू मुलजितालाई जग्गा फिर्ता गर्न राजी भए।
यसरी पाँच वर्षअघि गुमेको करोडौं मूल्य बराबरको आफ्नो जग्गा मुलजिताले बिहीबार फिर्ता पाउन सफल भइन्।
अदालतका प्रवक्ता वलीका अनुसार विचाराधीन मुद्दाका पक्षहरू बाहिर आपसी सहमतिमा पुगेको कुरा आफूले पनि सुनेको बताए। जग्गा फिर्ता भइसकेकाले मुद्दा दायर गर्ने पक्षले मुद्दा फिर्ता लिएमा त्यसपछि थप कानुनी कारबाही नहुने उनले बताए।
भाडामा लगाएको जग्गा जालसाजी गरी बिक्री भइसकेपछि पाँच वर्षसम्म न्यायका लागि संघर्ष गरेकी मुलजिताले बिहीबार मालपोत कार्यालयबाट आफ्नै जग्गाको पुर्जा फेरि हात पार्दा उनका आँखाबाट खुसीका आँसु झरे।
अदालतका प्रवक्ता वलीका अनुसार त्यो मुद्दामा अदालतले जालसाझी मुद्दामा साउन २९ गतेका लागि पेशी तारेख तोकेको छ।
त्यस्तै अंश मुद्दामा भदौ १५ का लागि पेशी तोकेको छ ।
यसैबीच पेम्बाले बिहीबार मात्रै अदालतमा रोक्का जग्गा फुकुवा गरी पाउँ भनेर निवेदन दिएकी थिइन्।
उनको निबेदनका आधारमा इजलासबाट जग्गा फुकुवा भइ मालपोत कार्यालयलाई पत्राचार भएको देखिएको प्रवक्ता वलीले बताए।
यो पनि:
जब उनले भाडामा दिएको आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाइन्