इरानले यमनमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)का कमान्डर, सल्लाहकार, मिसाइल र ड्रोनसँग सम्बन्धित सैन्य सामग्री पठाएको दाबी गरेको छ।
जुलाई महिनाको १३ तारिखतिर इरानले महान एयरको विमानमार्फत आइआरजिसीको कमान्डरसहित हतियार पठाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चार स्रोतलाई उद्धृत गर्दै समाचार लेखेको छ।
इरानले यमनमा हुथी समूहलाई हतियार पैसा दिएर परिचालन गर्छ। अहिले स्ट्रेट अफ हर्मुजपछि रेड सीमा पनि दबाब बढाउन इरानले कमान्डर र सल्लाहकारसहित सैन्य सामग्री पठाएको दाबी गरिएको छ।
सैन्य सामग्री बोकेर गएको विमान हुथी विद्रोही समूहको नियन्त्रणमा रहेको राजधानी सानातर्फ गएको दाबी गरिएको छ।
तर साउदी समर्थित यमनी सरकारी फौजले विमानस्थलमा आक्रमण गरेपछि विमानलाई हुथी नियन्त्रित बन्दरगाह सहर होदेइदाहतर्फ अवतरण गराइएको स्रोतहरूले बताएका छन्।
एक इरानी स्रोतका अनुसार आईआरजीसीका कमान्डरहरू हुथी लडाकुलाई नयाँ क्षेप्यास्त्र प्रणाली सञ्चालनसम्बन्धी तालिम दिन र उनीहरूको सैन्य अभियानमा सहयोग गर्न यमन पुगेका हुन्।
सोही विमानमार्फत हुथी गतिविधिका लागि आर्थिक स्रोत जुटाउन सुनसमेत पठाइएको ती स्रोतको दाबी छ। सुरक्षा संवेदनशीलताका कारण ती दुवै इरानी स्रोतले आफ्नो नाम गोप्य राख्न आग्रह गरेको भनेर रोयटर्सले लेखेको छ।
यो घटनाले इरानले हुथीलाई सैन्य रूपमा थप सुदृढ बनाउन खोजिरहेको नयाँ प्रमाण प्रस्तुत गरेको छ। एक दशकभन्दा बढी समयदेखि हुथी विद्रोहीहरू साउदी समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारविरुद्ध गृहयुद्धमा छन्।
उनीहरूले यसअघि साउदी अरब र अन्य खाडी मुलुकमाथि ड्रोन तथा मिसाइल हमला गर्दै आएका छन्।
यद्यपि, इरानको विदेश मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तेहरानले यसअघि पनि हुथीलाई क्षेप्यास्त्र क्षमता उपलब्ध गराएको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ।
उक्त विमानमा आफू पनि सवार रहेको दाबी गरेका हुथी सञ्चार अधिकारी अब्देल रहमान अल-अहनोमीले इरानले सैन्य विज्ञ यमन पठाएको भन्ने आरोपलाई मनगढन्ते भनेका छन्। उनका अनुसार विमानमा रहेका सबै यात्रु सर्वसाधारण थिए।
हुथीहरूले आफू इरानको प्रतिनिधि समूह (प्रोक्सी) नभएको र आफ्नै रूपमा हतियार विकास गर्ने गरेको दाबी पनि दोहोर्याएका छन्।
कमान्डर पुगेको तीन दिनपछि साउदीविरुद्ध नौसैनिक नाकाबन्दी
आआरजीसीका कमान्डरहरू यमन पुगेको तीन दिनपछि इरानले अमेरिकाले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमण गरे रेड सीमा तेल ढुवानी मार्ग बन्द गर्न तयार रहन हुथीलाई आग्रह गरेको खबर पनि रोयटर्सले नै सार्वजनिक गरेको थियो।
हुथीहरूले जुलाई १३ मा साना विमानस्थलमा भएको बमबारीको प्रतिशोधस्वरूप साउदी अरेबियाविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेका थिए। उनीहरूले उक्त आक्रमण साउदी अरेबियाले गरेको आरोप लगाएका छन्।
यस घटनाले साउदी अरेबिया र हुथीबीच चार वर्षदेखि कायम रहेको युद्धविराम अन्त्य भएको संकेत दिएको रोयटर्सले उल्लेख गरेको छ। त्यसपछि बिहीबार हुथीहरूले दुई वटा साउदी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गर्दै रेड सी र बाब अल–मन्देब जलमार्गको सुरक्षाप्रति थप चिन्ता बढाएका छन्।
यमनका साउदी समर्थित सरकारका सूचना मन्त्री मोअम्मर अल–इरयानीले पनि गुप्तचर सूचनाका आधारमा आईआरजीसीका सैनिक र सैन्य सामग्री यमन पुगेको पुष्टि गरेका छन्।
'उनीहरूको उद्देश्य हुथी मिलिसियाको सैन्य क्षमता बढाउनु र रेड सी तथा बाब अल–मन्देब जलडमरूमध्यमा अन्तर्राष्ट्रिय सामुद्रिक सुरक्षामाथि खतरा उत्पन्न गर्ने तयारी गर्नु हो,' उनले भनेका छन्।
वर्षौंदेखि हुथी तथा इरान समर्थित समूहहरूको गतिविधि नियाल्दै आएका सुरक्षा तथा गुप्तचर विश्लेषक मजाहेम अलसलुमले पनि जुलाई १३ को उडानमार्फत आईआरजीसीका सैन्य विज्ञ यमन पुगेको पुष्टि गरेका छन्।
उनका अनुसार विमानमा छोटो तथा मध्यम दूरीका क्षेप्यास्त्र र ड्रोनसँग सम्बन्धित उपकरणसमेत थिए। यस्तै हतियार प्रणाली यसअघि साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समाथिका आक्रमणमा प्रयोग गरिएको थियो।
अलसलुमले गत वर्ष इसराइलसँगको युद्धका क्रममा पनि इरानले सोमालियामार्फत सैन्य सल्लाहकार यमन पठाएको दाबी गरे। तर, तेहरानले त्यो आरोप पनि अस्वीकार गरेको थियो।
यसै महिनाको सुरुमा हुथीहरूले साना–तेहरान सिधा हवाई सेवा सञ्चालनमा आएको घोषणा गरेका थिए। उनीहरूका अनुसार यसले साउदी अरेबियाले यमनमाथि लगाएको नाकाबन्दी तोड्न सहयोग पुग्नेछ।
जुलाई २० मा तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले जुलाई १३ को उडानको उद्देश्य तेहरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी भएको हुथी प्रतिनिधिमण्डल तथा इरानमा उपचार गराइरहेका यमनी नागरिकलाई स्वदेश फर्काउनु रहेको बताएका थिए।