अमेरिकाले इरानमाथि हमला नगरिन्जेल इरानले पनि आफ्ना आक्रमण स्थगित गर्ने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहाकारहरूले इरानमा निसाना लगाउने क्षेत्र सकिँदै गएको र अमेरिकी हतियारको भण्डार पनि रित्तिने चिन्ता व्यक्त गरेपछि उनले इरानमाथिको बमबारी रोकेका छन्।
यस्तोमा अमेरिकाले इरानमाथि हमला रोकिन्जेल इरानले पनि आक्रमण नगर्ने भनेर एक वरिष्ठ इरानी अधिकारीले समाचार संस्था रोयटर्सलाई आइतबार बताएका छन्।
इरानमाथि १३ रातसम्म लगातार तीव्र हवाई आक्रमण गरेपछि अमेरिकाले शुक्रबार ढिलो गरी उक्त अभियान स्थगित गरेको थियो। त्यसपछि शनिबार वा आइतबार दुवै दिन कुनै पनि अमेरिकी आक्रमण भएको छैन। प्रत्येक रात अमेरिकी आक्रमण पछि अमेरिकी सैन्य अखडा रहेका छिमेकी मुलुकहरूमा प्रहार गरिरहेको इरानले पनि दुई दिनदेखि आक्रमण रोकेको छ।
इरानको नीति ‘जस्तालाई त्यस्तै’ रहेको औंल्याउँदै ती अधिकारीले भने, 'यदि आक्रमणहरू रोकिन्छन् भने इरानले पनि आफ्ना गतिविधिहरू स्थगित गर्नेछ। यो सन्देश अमेरिका कहाँ पुगिसकेको छ।'
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले फक्स न्युज सन्डे र अन्य अमेरिकी मिडियालाई बताए अनुसार ट्रम्पले कूटनीतिको लागि थप समय दिन अमेरिकी आक्रमणहरू रोक्ने निर्णय गरेका हुन्।
'उनले वार्ताका लागि केही समय र स्थान दिइरहेका छन्,' थप विवरण नदिई वाल्ट्जले भने।
युद्धको मुख्य केन्द्रविन्दु बनेको स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावतमा इरानी धम्की रोक्ने उद्देश्यले पछिल्लो दुई हप्तामा गरिएका बमबारीले पूर्व-निर्धारित लक्ष्यहरू लगभग सकिइसकेको अमेरिकी सैन्य जनरलहरूले पछिल्ला दिनमा बताएका छन्।
पुनः ठूला सैन्य कारबाही सुरु गर्ने विकल्प कायमै छ। तर अमेरिकी सेनाप्रमुख जनरल ड्यान केनले हतियारको भण्डारमा पर्ने नकारात्मक असरलाई ध्यानमा राख्दै यसले जोखिम निम्त्याउन सक्ने भन्दै ट्रम्पलाई सचेत गराएका छन्। त्यसैले ट्रम्पले पछिल्ला दिनमा इरानमाथिको आक्रमण रोकेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)