अमेरिकाको इरानसँग राम्रो वार्ता भइहेको र द्वन्द्व अन्त्य गर्न सम्झौता हुने सम्भावना रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
‘हामी राम्रो कुराकानी गर्दैछौं। मलाई लाग्छ केहि हुने राम्रो सम्भावना छ, र यदि हुन्छ भने राम्रो, यदि हुँदैन भने, हामी दुई दिन अघि जे गरिरहेका थियौं त्यसमै फर्कनेछौं,’ उनले सोमबार भने।
‘तपाईंले तिनीहरूलाई घुस दिन सक्नुहुन्न। तपाईंले तिनीहरूलाई पराजित गर्नुपर्छ। र हामी तिनीहरूलाई राम्ररी हराउनेछौं। तर यो कसरी अघि बढ्छ भनेर हामी हेर्नेछौं। अहिले धेरै सौहार्दपूर्ण कुराकानी भइरहेको छ,’ उनले पछि थपे।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार मध्यस्थकर्ताहरू मार्फत दुवै पक्षबीच सन्देशहरू आदानप्रदान भइरहेको र इरानले कूटनीति नत्यागेको जानकारी दिए। तर इरानले वार्ताका लागि अनुरोध गरेको भन्ने रिपोर्टहरू ‘बनावटी’ भएको बताए। उनले भने, ‘यो हाम्रो डीएनएमा छैन।’
यसअघि नै अमेरिकाले इरानमाथि हमला नगरिन्जेल इरानले पनि आफ्ना आक्रमण स्थगित गर्ने बताइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूले इरानमा निसाना लगाउने क्षेत्र सकिँदै गएको र अमेरिकी हतियारको भण्डार पनि रित्तिने चिन्ता व्यक्त गरेपछि उनले इरानमाथिको बमबारी रोकेका छन्।
यस्तोमा अमेरिकाले इरानमाथि हमला रोकिन्जेल इरानले पनि आक्रमण नगर्ने भनेर एक वरिष्ठ इरानी अधिकारीले समाचार संस्था रोयटर्सलाई आइतबार बताएका थिए।
इरानमाथि १३ रातसम्म लगातार तीव्र हवाई आक्रमण गरेपछि अमेरिकाले शुक्रबार ढिलो गरी उक्त अभियान स्थगित गरेको थियो। त्यसपछि शनिबार, आइतबार, र सोमबार तीनै दिन कुनै पनि अमेरिकी आक्रमण भएको छैन। प्रत्येक रात अमेरिकी आक्रमण पछि अमेरिकी सैन्य अखडा रहेका छिमेकी मुलुकहरूमा प्रहार गरिरहेको इरानले पनि दुई दिनदेखि आक्रमण रोकेको छ।
इरानको नीति ‘जस्तालाई त्यस्तै’ रहेको औंल्याउँदै ती अधिकारीले भने, 'यदि आक्रमणहरू रोकिन्छन् भने इरानले पनि आफ्ना गतिविधिहरू स्थगित गर्नेछ। यो सन्देश अमेरिका कहाँ पुगिसकेको छ।'
युद्धको मुख्य केन्द्रविन्दु बनेको स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावतमा इरानी धम्की रोक्ने उद्देश्यले पछिल्लो दुई हप्तामा गरिएका बमबारीले पूर्व-निर्धारित लक्ष्यहरू लगभग सकिइसकेको अमेरिकी सैन्य जनरलहरूले पछिल्ला दिनमा बताएका छन्।
पुनः ठूला सैन्य कारबाही सुरु गर्ने विकल्प कायमै छ। तर अमेरिकी सेनाप्रमुख जनरल ड्यान केनले हतियारको भण्डारमा पर्ने नकारात्मक असरलाई ध्यानमा राख्दै यसले जोखिम निम्त्याउन सक्ने भन्दै ट्रम्पलाई सचेत गराएका छन्। त्यसैले ट्रम्पले पछिल्ला दिनमा इरानमाथिको आक्रमण रोकेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)