धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना हुँदा ट्रकमा आगलागी हुँदा ट्रक चालकको जलेर ज्यान गएको छ।
धनकुटा प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो।
आगलागीमा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उनी ट्रकबाट बाहिर निस्किए पनि आगोले गम्भीर रूपमा जलेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल छन्।