सुर्खेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा परी चालकसहित १२ जना घाइते भएका छन्।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी लेकबेसी नगरपालिका–६ की २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की र ७० वर्षीया खगिसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू सबैलाई उपचारको लागि माया नर्सिङ होम सुर्खेत तर्फ पठाइएको छ।
सोही दुर्घटनामा परी लेकबेसी–६ कै ७ वर्षीय दर्शन विक, २५ वर्षीया जुना सुनार, ३० वर्षीया उमा राना, २३ वर्षीया मिना परियार घाइते भएका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको तथा उपचारका लागि माया नर्सिङ होम तर्फ पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै दुर्घटनामा परि लेकबेसी–४ का चालक २३ वर्षीय दिपेश पुन, लेकबेसी–६ की अन्दाजी २८ वर्षीया गिता सुनार, २७ वर्षीया दिलमाया र २८ वर्षीया समीक्षा विक पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूको अवस्था सामान्य छ। उनीहरूको स्थानीय मेडिकल दशरथपुर उपचार भइरहेको छ।
बिहान १० बजेतिर जिल्लाको लेकबेसी नगरपालिका ५ र ६ को सिमाना हलकन्डरा भन्ने स्थानमा डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे. १ ख ५४० नम्बरको मुस्ताङ जिप दुर्घटनामा परेको थियो।
प्रहरीका अनुसार जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।