त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको प्रश्नपत्र लिक भएको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
व्यवस्थापन संकायतर्फ एमिएस प्रथम सेमेष्टरको अर्गनाइजेशनल बिहेबियर विषयको परीक्षाको प्रश्न पत्र लिक गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले थप दुई जनालाई पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
पक्राउ पर्नेमा रौतहट घर भएका २५ वर्षीय अतुलकुमार मिश्र र बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम छन्।
मिश्रलाई काठमाडौंबाट र हाकिमलाई वीरगन्जबाट पक्राउ गरेको हो।
उनीहरू दुबै जना विद्यार्थी हुन्। मिश्रले ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र आएपछि केहीको जबाफ पठाएको आरोप छ।
हाकिमले भने त्यही प्रश्नपत्रलाई अर्को ग्रुपमा पठाएको आरोप छ।
यसअघि प्रहरीले भक्तपुरका ३३ वर्षीय सन्दिप सिंहलाई पक्राउ गरेको थियो। उनैले परीक्षा सुरू भएको ५ मिनेटमै ग्रुपमा प्रश्नपत्र लिक गरेका थिए।
सिआइबीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।