कपिलवस्तुमा ट्रकको ठक्करबाट दुई साइकल यात्री र एक पैदलयात्रीको मृत्यु भएको छ।
महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो।
मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवा बस्ने पैदलयात्री १२ वर्षीय आनन्द कश्यप छन्।
साइकलयात्रीहरू महाराजगञ्ज नगरपालिका–३ गनौरिया निवासी करिब ४५/४६ वर्षीय विजयकुमार गुप्ता र महाराजगञ्ज नगरपालिका–३ निवासी करिब ७५ वर्षीय भोल्लर कुर्मीको पनि मृत्यु भएको छ।
दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।
दुर्घटनापछि ट्रक र चालक मोरङ, विराटनगर महानगरपालिका–४ बस्ने ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि केही समय अवरूद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको छ।