इरानले अमेरिका र इसराइलसँगको युद्धपछि कमजोर बनेको आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन चीनबाट हतियार किन्ने भएको छ।
इरानले चीनसँग ३०० देखि ४०० वटा हवाइ प्रतिरक्षा मिसाइल किन्ने सम्झौता गरेको भनेर समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गरेर लेखेको छ।
यो सम्झौता हङकङस्थित झोङकिङ बाओशाङ इन्टरनेसनल इन्भेस्टमेन्टसँग भएको थियो। कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ता बीच मध्यस्थकर्ताको रूपमा काम गरेको हो।
इरानले किन्न लागेको मिसाइल डिफेन्स सिस्टम काँधमै बोकेर प्रहार गर्न मिल्ने खालका हतियार हुन्। यसलाई म्यानप्याड्स भनिएको छ।
यसमा क्युडब्ल्यु-१२ र एफएन-१६ मिसाइल प्रणाली समावेश छ। यो मिसाइलको पहिलो खेप केही साताभित्रै इरान पुग्ने रोयटर्सले जनाएको छ।
ती हतियारको मूल्य ६ देखि ७ करोड अमेरिकी डलर बराबर हुने बताइएको छ।
युद्ध सुरु भएयता छोटो दूरीको हवाई सुरक्षा प्रणाली बलियो बनाउन इरानले गरेको यो सबैभन्दा ठूलो प्रयास भनिएको छ।
इरानको विदेश मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। सामान्यतया यस्ता हतियार खरिद-बिक्री सम्झौता गोप्य राखिन्छ। चिनियाँ विदेश मन्त्रालयले पनि इरानलाई हतियार बिक्री गरेको भन्ने सूचना निराधार रहेको भनेको छ।
पछिल्ला केही महिनायता अमेरिका र इसराइलले इरानका मिसाइल, ड्रोन र हवाई सुरक्षा कार्यक्रमसँग सम्बन्धित धेरै सैन्य संरचनामा आक्रमण गरेका छन्। त्यसको जवाफमा इरानले पनि ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरेको थियो।
यस युद्धले आधुनिक लडाकु विमान र अत्याधुनिक हतियारबाट स्थायी सैन्य अड्डा तथा रणनीतिक संरचनालाई जोगाउन इरानलाई कठिन भइरहेको देखाएको विश्लेषण गरिएको छ।
यद्यपि गत शनिबार अमेरिकाले दुई सातादेखि जारी बमबारी रोक्दै अस्थायी रूपमा सैन्य कारबाही स्थगित गरेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भए युद्ध फेरि सुरु हुने चेतावनी दिएका छन्।
अप्रिलदेखि युद्धविरामको अवस्था रहेको भनिए पनि तनाव भने कायमै छ।
रोयटर्सका अनुसार यो सम्झौता कार्यान्वयन भए इरानको छोटो दूरीको हवाई सुरक्षा क्षमता उल्लेख्य रूपमा बढ्नेछ। साथै चीन र इरानबीचको सैन्य सम्बन्ध पनि बलियो बन्नेछ।
स्रोतहरूले सम्झौता भइसके पनि मिसाइल पठाउने समय, संख्या र अन्य व्यवस्थापनसम्बन्धी विवरण अझै परिवर्तन हुन सक्ने बताएका छन्।
सम्झौताअनुसार पहिलो खेप चीनको पश्चिमी सहर उरुम्चीबाट पठाइनेछ।
त्यसपछि पाकिस्तान हुँदै इरान पुर्याउने योजना बनाइएको स्रोतहरूले बताएका छन्। तर मिसाइल हवाई मार्गबाट लैजाने कि स्थलमार्गबाट भन्ने विषय खुलाइएको छैन।
पाकिस्तानको सेनाको जनसम्पर्क निकाय (आइएसपिआर) भने चीनबाट इरानमा हवाई सुरक्षा हतियार पठाउन पाकिस्तान प्रयोग नहुने बताएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
सैन्य विज्ञहरूका अनुसार काँधमा बोकेर प्रहार गर्न मिल्ने यस्ता वायु रक्षा प्रणाली साना समूहले सजिलै सञ्चालन गर्न सक्छन्। आवश्यकताअनुसार एक ठाउँबाट अर्को ठाउँमा तुरुन्तै सार्न सकिने भएकाले स्थायी हवाई सुरक्षा प्रणालीभन्दा यस्ता हतियार नष्ट गर्न पनि कठिन हुन्छ।
युरोपेलीहरूले पनि चीनले इरानलाई क्युडब्ल्यु-१२, क्युडब्ल्यु-१८, क्युडब्ल्यु-१९ मिसाइल बेच्ने विषयमा विभिन्न चरणमा छलफल चलिरहेको विषयमा आफूहरू जानकार रहेको बताउँदै आएका छन्।
क्युडब्ल्यु-१२ र एफएन-१६ काँधमा राखेर प्रहार गर्न मिल्ने इन्फ्रारेड प्रविधिमा आधारित जमिनबाट आकाशमा प्रहार गरिने मिसाइल हुन्। यी मिसाइल कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र ड्रोन खसाल्न प्रयोग गरिन्छ।
आवश्यकता अनुसार सैन्य अड्डा, ऊर्जा पूर्वाधार र अन्य संवेदनशील क्षेत्रमा तुरुन्तै तैनाथ गर्न सकिने भएकाले यस्ता प्रणालीलाई प्रभावकारी मानिन्छ।
क्यूडब्ल्यु-१२ नयाँ क्युडब्ल्यु-१८ र क्यूडब्ल्यु-१९ जति शक्तिशाली नभए पनि ड्रोन र कम उचाइमा उड्ने लक्ष्यमाथि प्रभावकारी रूपमा प्रहार गर्न सक्छ भनेर रक्षा विश्लेषकहरूले रोयटर्ससँग बताएका छन्।
हवाईमार्गबाट पठाउँदा असुरक्षित हुने भएकाले चिनियाँ सामग्रीहरू गोप्य रूपमा स्थलमार्गबाटै पठाउने विकल्पमा अध्ययन भइरहेको भनेर पश्चिमी गुप्तचर र एक इरानी अधिकारीले बताएका छन्।
इरानले यसअघि पनि चीनसँग क्रुज मिसाइल खरिद गर्ने छुट्टै सम्झौता गरेको भनेर रोयटर्सले सार्वजनिक गरेको थियो। त्यो सम्झौता कार्यान्वयनका लागि अन्तिम चरणमा पुगिसकेको भनिए पनि त्यसमा के भयो भन्ने अझै सार्वजनिक भएको छैन।