दाङबाट ३५ किलो चरेससहित बुधबार एक युवा पक्राउ परेका छन्।
रुकुम पूर्वको भूमे गाउँपालिका–२ का २६ वर्षीय हिक्मत पुन ३५ किलो ५५० ग्राम लागुऔषध चरेससहित दाङको गढवाबाट पक्राउ परेका हुन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार पुन पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनी बाट बुधबार बिहान १० बजेतिर पक्राउ परेका थिए।
अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको माइक्रो चेकजाँचका क्रममा पुनलाई पक्राउ गरेको थियो।
गाडीमा रहेका दुईवटा झोला र एउटा सुटकेस जाँच गर्ने क्रममा प्लास्टिकले प्याक गरिएको ३५ प्याकेटमा रहेको ३५ किलो ५५० ग्राम चरेस बरामद भएको डिएसपी केसीले जानकारी दिए।
पुन माथि अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।