अमेरिकाले इरानमाथि पुनः आक्रमण थालेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले बिहीबार बिहान इरानमा भीषण हमला गरिएको जानकारी दिँदै वक्तव्य जारी गरेको छ।
इरानले मध्यपूर्वस्थित आफ्नो सैन्य अड्डामा आक्रमण गरेको जबाफी कारबाहीस्वरूप उक्त हमला गरिएको सेन्टकमले जनाएको छ।
अमेरिकाले इरानमाथि झन्डै ६ दिनपछि हमला गरेको हो।
अघिल्लो साता लगातार १३ दिन हमला गरेर इरान रोकिएको थियो। इरानमा निसाना लगाउनुपर्ने ठाउँ पनि सकिएको र हतियार पनि खेर गइरहेको भन्दै अमेरिकाले गत शुक्रबार आक्रमण रोकेको थियो।
सेनाले आक्रमणको रणनीति राष्ट्रपति ट्रम्पसमक्ष प्रस्तुत गरे पनि ट्रम्पले तत्काल आक्रमण रोक्न निर्देशन दिएका थिए। त्यसयता अमेरिका र इरानले एक अर्कामाथि कुनै हमला गरेका छैनन्।
बुधबार अमेरिका र साउदी अरब मिलेर इराकमा हमला गरेपछि भने द्वन्द्व पुनः सुरू हुन लागेको हो। इराकमा इरान समर्थित लडाकू समूहलाई लक्ष्य गर्दै साउदी र अमेरिकाले हमला गरेको थियो।
त्यसको जबाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर मिसाइल र ड्रोन हानेको थियो।
त्यसपछि नै दुई देशबीच फेरि द्वन्द्व सुरू भएको हो।
बिहीबार इरानी सेनाको कमान्ड सेन्टर, मिसाइल, ड्रोन भण्डारण क्षेत्र र तटीय निगरानी केन्द्र लगायतका संरचनालाई लक्ष्य गरी हमला गरेको सेन्टकमले जनाएको छ।
'इरान र त्यसका समर्थित समूहबाट अमेरिकी सेना, अन्तर्राष्ट्रिय व्यापारिक जहाज तथा खाडी क्षेत्रका छिमेकी देशमाथि उत्पन्न खतरा थप कमजोर बनाउनु यी आक्रमणको उद्देश्य हो,' सेन्टकमले भनेको छ।
अमेरिकाले बुधबार इरानी सेनाले इराकस्थित आफ्ना समर्थित समूहलाई अमेरिकी सेना र साउदीको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न निर्देशन दिएको आरोप लगाएको थियो।
इरानको विदेश मन्त्रालयले भने अमेरिका र साउदीको संयुक्त आक्रमणलाई द्वन्द्वलाई अझ फैलाउने प्रयासको संज्ञा दिएको छ।
यसबीच इजिप्ट पनि पहिलो पटक यो युद्धको प्रत्यक्ष असरमा परेको छ।
समुद्री यातायात निगरानी गर्ने कम्पनी केपलरले इजिप्टको एक बन्दरगाहमा विस्फोट भएपछि दुई जहाजमा आगलागी भएको थियो।
तीमध्ये एउटा अमेरिकी स्वामित्वको ग्यास भण्डारण ट्यांकर थियो। अर्को समुद्री सुरक्षा कम्पनी एम्ब्रेले त्यो विस्फोट ड्रोन आक्रमणका कारण भएको जनाएको छ।
ट्रम्पले पनि इजिप्टको घटनाबारे आफूलाई जानकारी गराइएको त्यसमा इरानको संलग्नता रहेको संकेत गरेका थिए। यद्यपि त्यसबारे थप प्रमाण भने सार्वजनिक गरेका छैनन्।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इसराइल र इरानबीचको युद्धमा साउदी अरब प्रत्यक्ष रूपमा युद्धमा सहभागी नभए पनि अमेरिकी अधिकारीहरूका अनुसार उसले गोप्य रूपमा इरानविरुद्ध केही जवाफी कारबाही भने गर्दै आएको छ।