अमेरिका र इरानले एक-अर्कामाथि आक्रमण गरिरहे पनि दुई देशबीच वार्ता भइरहेको दाबी पाकिस्तानले गरेको छ।
विशेष गरी स्ट्रेट अफ हर्मुजमा स्थिरता कायम गर्न अमेरिका र इरानबीचको वार्ता जारी रहेको पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले बताए भलेर ब्लुमबर्गले लेखेको छ।
दुवै पक्षले संवाद र कूटनीतिमार्फत समाधान खोज्नुपर्ने भन्दै पाकिस्तान कूटनीतिक समाधानका लागि प्रतिबद्ध रहेको पनि उनले जनाए।
अमेरिकी सेनामाथि भएको इरानी हमलाको जबाफमा अमेरिकाले नयाँ चरणको आक्रमण सुरू गरेपछि मध्यपूर्वमा द्वन्द्व बढेका बेला उनले यस्तो भनेका हुन्।
गत जुनमा अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्र (एमओयू) भए पनि हर्मुजका बारेमा मत भिन्नताका कारण दुई देशबीच आपसी हमला जारी छ।
हर्मुजमा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्ने भनेर ओमान नजिकै भएर चल्ने जहाजमा इरानले आक्रमण गरेपछि अमेरिकाले इरानमाथि करिब तीन हप्ता अघि आक्रमण सुरू गरेको थियो।
इरानमाथि १३ रातसम्म लगातार तीव्र हवाई आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ढिलो गरी उक्त अभियान स्थगित गरेका थिए।
इरानमा निसाना लगाउनुपर्ने ठाउँ पनि सकिएको र हतियार पनि खेर गइरहेको भन्दै अमेरिकाले गत शुक्रबार आक्रमण रोकेको थियो। तर अमेरिका र इरानले फेरि बमबारी सुरू गरेका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले बिहीबार बिहान इरानमा भीषण हमला गरिएको जानकारी दिँदै वक्तव्य जारी गरेको छ।
इरानले मध्यपूर्वस्थित आफ्नो सैन्य अड्डामा आक्रमण गरेको जबाफी कारबाहीस्वरूप उक्त हमला गरिएको सेन्टकमले जनाएको छ।
अमेरिकाले इरानमाथि झन्डै ६ दिनपछि हमला गरेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)