सेयर कारोबारी दीपेन्द्र अग्रवाल र उनीसँग साझेदारका समेतको सम्पत्ति रोक्का भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालमाथि छानबिन गरिरहेको छ। छानबिनको क्रममा उनको, उनको परिवारको र उनीसँग साझेदार रहेकाहरूको सम्पत्ति (बैंक खाता, सेयर खाता लगायत) रोक्का भएको स्रोतले बतायो।
‘अनुसन्धान भइरहेको हुँदा उनको, र उनीसँग जोडिएका अन्य व्यक्तिहरूको पनि खाता रोकिएको हो,’ स्रोतले भन्यो।
अग्रवाल सेयर कारोबारको विषयमा विवादमा आउने गरेका छन्।
२०८२ पुस ४ गते सिआइबीले उनलाई पक्राउ गरेको थियो।
उनीमाथि धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ। उक्त दफाको ‘ग’ मा भनिएको छ, ‘बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने र बदनीयत साथ झूटा वा भ्रामक विवरण प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्ने।’
यसरी बदनीयत राखेर उनले सेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा कमाएको आरोप सिआइबीको थियो।
अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको आरोप थियो।
त्यस्तै, यसरी उनले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको देखिएको हो।
उनले सोही ऐनको दफा ९४ को 'क' र 'ख' अनुसार र दफा ९५ अनुसार झूटो कारोबार र मूल्य प्रभावित पार्ने कसूर समेत गरेको बोर्डको प्रतिवेदनमा देखिएको थियो।
सोही प्रतिवेदनको आधारमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो।
पछि उनले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका थिए।