इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले खाडी क्षेत्रका सहित मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन आग्रह गरेका छन्।
अमेरिकाले इरानको अर्थतन्त्र तहसनहस पार्ने भनी व्यापक आर्थिक प्रतिबन्ध घोषणा गरेको एक हप्ता पछि खमेनीले यस्तो आग्रह गरेका हुन्।
मोहम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा मनाइने 'इस्लामिक एकता सप्ताह'का लागि टेलिग्राम खातामार्फत संदेश दिँदै खमेनीले मुसलमानहरू बीचको विभाजनले प्रतिपक्षीहरूको हित पूरा गरेको बताएका छन्।
सन्देशमा मुसलमान एकता, विभिन्न क्षेत्रमा सहकार्य र आपसी रक्षाको पनि आह्वान गरिएको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। जानेर वा नजानेर मुस्लिमहरू बीच विभाजन सिर्जना गर्ने जोकसैले इस्लामका शत्रुहरूलाई मद्दत पुर्याउने कुरा पनि त्यसमा उल्लेख छ।
यदी मुस्लिमहरू एकजुट भएका भए के प्यालेस्टिनीहरूलाई यसरी लाचार छाडिने थियो? भन्दै सन्देशमा प्रश्न गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगाएको कडा आर्थिक नाकाबन्दीमा सहयोग गर्नेहरूलाई आफूले शत्रु ठान्ने इरानले चेतावनी दिएको थियो। अहिले भने इरानका सर्वोच्च नेता खमेनीले मुसलमानबीच एकताका लागि आह्वान गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)