परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताएका छन्।
भोटेकोशी बाढी सम्बन्धमा सरकारले गरिरहेको खोजी, उद्धार तथा राहत कार्यलगायत विषयमा जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली सेनासँगको समन्वयमा विशेषगरी सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार गर्न भारत, चीन र गणतन्त्र कोरियाबाट केही सुरुङ उद्धार विशेषज्ञहरू पनि परिचालन गरिएको छ।’
बाढीपछि नेपाल सरकारले खोजी, उद्धार, राहत तथा पुनःप्राप्ति कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध स्रोतसाधन तथा प्रयास परिचालन गरेको परराष्ट्र सचिव राईले बताए।
तत्कालीन राष्ट्रिय प्राथमिकता जीवन बचाउने, बेपत्ता व्यक्तिहरूको खोजी गर्ने, उनीहरूको उद्धार गर्ने, जीवित बचेकाहरूलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित नेपाली र विदेशी नागरिकहरूले उचित सहायता तथा सहयोग प्राप्त गर्ने सुनिश्चित गर्ने रहेको उनको भनाइ छ।
सचिव राईले यस उद्देश्यका लागि प्रभावित क्षेत्रमा करिब १९ हजार सुरक्षाकर्मी र १६ हेलिकप्टर परिचालन गरिएको जानकारी दिए।
‘हालसम्म ती क्षेत्रबाट ७३४ शव फेला परेका र करिब दुई हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। यस्तै आठ हजार १८६ भन्दा बढी नागरिकको उद्धार गरिएको छ, जसमा २६१ विदेशी नागरिक रहेका छन्, चार सयभन्दा बढी विदेशी नागरिक अझै बेपत्ता छन्,’ उनले भने।
यस कठिन घडीमा सरकारले हाम्रा निकटतम् छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग निकट सम्पर्क तथा समन्वय जारी राखेको उल्लेख गर्दै सचिव राईले भने, ‘धेरै विदेशी नागरिक अझै बेपत्ता छन् त्यसैले मन्त्रालय एक आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकायहरू तथा बेपत्ता व्यक्तिका परिवारहरूसँग समन्वय गरिरहेका छौँ।’
परराष्ट्र सचिव राईले नेपालका सुरक्षा तथा अन्य निकायका एकीकृत टोलीहरूले परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेका जानकारी दिँदै भने, ‘हाम्रा निकायहरूले भारतबाट आएका ११, चीनबाट आएका ९ तथा गणतन्त्र कोरियाका विशेषज्ञ सहितका विशेष प्राविधिक टोलीहरूसँग सुरुङ उद्धारका लागि काम गरिरहेका छन्।’
त्यसैगरी, शव व्यवस्थापनका लागि एयरटाइट ब्यागहरू पनि प्राप्त भएका र थप ब्यागहरू पनि पठाउन लागिएको मन्त्रालयले जनाएको छ।
डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोली पनि आइपुगेको र त्यस सम्बन्धमा समन्वय निरन्तर जारी रहेको परराष्ट्र सचिव राईले बताए।
साथै भारत, चीन र युनाइटेड अरब इमिरेट्स (युएई) तथा अन्य देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको र संयुक्त राज्य अमेरिका, जापान, कतार, सिङ्गापुर, अष्ट्रेलिया, मलेसिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान तथा अन्य देशहरू र साझेदारहरूबाट पनि अत्यावश्यक सामग्रीहरू प्राप्त भइरहेका छन्।
सरकारले आइसिआरसी लगायतका मानक तथा स्वीकृत प्रोटोकलअनुसार मृतकका शव विशेषगरी पहिचान गर्न नसकिने, अङ्गविच्छेद भएका तथा लामो समयसम्म पानीमा रहँदा कुहिएका शवलाई अस्थायी रूपमा गाडिएको जनाएको छ।
‘गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डिएनए नमुना लिने गरेको छ, ताकि परिवारले पछि अभिलेखसँग मिलान गर्न सकुन्, र आवश्यक संस्कारका लागि शव निकाल्न अनुमति दिइनेछ,’ उनले भने।