रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरूङमा फसेको भनिएका करिब २५ जनाको उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोली फिर्ता भएको छ।
सुरूङभित्र ठूला–ठूला ढुंगा (बोल्डर) भेटिएपछि थप उपकरण र प्राविधिक व्यवस्थाको आवश्यकता देखिएको भन्दै सेनाको टोली फिर्ता भएको हो।
अब कम्पनीले आफ्नै प्राविधिक टोली परिचालन गरेर उद्धारको काम अघि बढाउने जानकारी दिएको छ।
आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार उद्धारको काम बिहानदेखि सुरू भए पनि करिब १०० मिटर मात्रै सुरूङभित्र प्रवेश गर्न सकिएको जानकारी दिए।
कुल करिब १५० मिटरभित्र जानुपर्ने भए पनि बाटोमा ठूला–ठूला ढुंगा भेटिएपछि उद्धारमा कठिनाइ भएको उनले बताए। ती ढुंगा हटाउन विशेष उपकरण वा थप व्यवस्थापन आवश्यक पर्ने उनको भनाइ छ।
‘उद्धारको काम बिहानदेखि सुरू त भएको हो। तर सबै काम अझै सकिएको छैन। करिब १५० मिटरको सुरूङमध्ये १०० मिटरजति मात्र भित्र जान सकिएको छ। भित्र ठूला–ठूला बोल्डरहरू भेटिएका छन्,’ भट्टराईले भने।
ढुंगाका कारण सिर्जिएको कठिनाइले गर्दा उद्धारमा खटिएको नेपाली सेना सहितको टोली अहिलेलाई फिर्ता भएको उनले बताए।
उनका अनुसार सोमबार उद्धारमा करिब १८–१९ जना भारतीय तथा नेपाली सेनाका प्राविधिक सहितको टोली खटिएको थियो।
सेनाको टोली फर्किएपछि मंगलबारदेखि कम्पनीले आफ्नै प्राविधिक टोलीलाई सुरूङभित्र पठाएर उद्धारको काम अघि बढाउने भएको छ।
‘अहिले उहाँहरूले नसक्ने भनेर ब्याक हुनुभयो। अब मैले हाम्रो टेक्निकल टिमहरूलाई लगाएर भोलिदेखि काम गर्छौं। भोलिबाट फेरि डिप्लोय गर्दैछौँ,’ उनले भने।
खोजी कार्यको लागि अझै एक–दुई दिन लाग्न सक्ने भट्टराईले बताए। यद्यपि अन्तिम चरणमा नेपाली सेना सहितको टोलीको सहयोग लिइने उनले बताए।