इसराइलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका जेठा छोरालाई सुरक्षा खतराका कारण अमेरिकाबाट बाहिर निकालेको छ।
इसराइली सुरक्षा निकाय शिन बेटले एक संक्षिप्त वक्तव्य जारी गर्दै याइर नेतन्याहुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। शिन बेटले थप विवरण नखुलाए पनि याइरमाथि गम्भीर खतरा रहेको जनाएको छ।
प्रधानमन्त्री नेतन्याहुले गत हप्ता एक इसराइली टिभी स्टेसनलाई अन्तर्वार्ता दिँदै इरानले उनका एक छोराको हत्या गर्ने प्रयास गरेको बताएका थिए। तर कुन छोराको हत्या प्रयास भएको हो भन्ने खुलाएका थिएनन्। उनका दुई छोरा र एक छोरी छन्।
याइर सन् २०२३ मा मायामी सरेका थिए र इसराइल गजा, लेबनन र इरानसँग युद्धमा रहेका बेला अधिकांश समय देश बाहिरै बसेका थिए। उनले प्रायः आफ्ना बुवाको अनौपचारिक सल्लाहकारको रूपमा काम गर्दै आएका छन् भने सामाजिक सञ्जालमा आलोचकहरूमाथि आक्रमण गरेर कतिपय समयमा विवाद समेत सिर्जना गर्ने गरेका छन्।
प्रधानमन्त्री नेतन्याहुले जबर्जस्ती युद्ध लम्ब्याएर जनताका छोरा-छोरीलाई युद्ध मैदानमा धकेले पनि उनका छोरा-छोरी भने २०२३ अक्टोबर ७ देखि जारी हमाससँगको युद्धमा नलडेको भनेर उनको आलोचना हुँदै आएको छ।
आगामी अक्टोबरमा हुन लागेको आम निर्वाचनमा सो कुरा पनि एउटा मुद्दाको रूपमा उठेको छ। यस्तो बेलामा उनका जेठा छोरालाई सुरक्षा खतराका कारण अमेरिकाबाट बाहिर निकालेको समाचार आएको हो।
भर्खरै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पको हत्या गर्ने योजना बनाएको पनि खुलेको थियो।
ट्रम्पका २० वर्षीय कान्छा छोरा मार्न इरानले योजना बनाइरहेको जस्तो सुनिने भिडिओ त्यहाँको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)बाटै प्रसारण भएपछि खुलासा भएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)