रसुवाको भोटेकोशी-त्रिशूली बाढीपछि जलविद्युत आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार आज जारी छ।
माथिल्लो त्रिशूली–१ मा कोरियाली उद्धार टोली नेपाल आएको छ। लाङटाङ खोलामा प्राविधिक र विज्ञ टोली परिचालन हुँदैछ। अन्य आयोजनामा सुरूङ सफा गर्ने, ड्रिलिङ गर्ने र उपकरण लैजाने काम हुँदैछ।
मंगलबारसम्म धेरै आयोजनामा सुरूङ र विद्युत गृहसम्म पुग्नै समस्या थियो। लेदो, हिलो, पानी र डेब्रिज मुख्य अवरोध बनेका थिए। कतिपय ठाउँमा उद्धार टोली पुगे पनि आवश्यक उपकरण लैजान सकिएको थिएन। बुधबार भने थप जनशक्ति र उपकरण परिचालन गरेर खोजीलाई तीव्रता दिने भनिएको छ।
आज कहाँ के गरिँदै छ, के छ अवस्था?
माथिल्लो त्रिशूली–१
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा आज खोजी तथा उद्धारलाई तीव्रता दिइँदैछ। आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजीमा सघाउन ४४ सदस्यीय कोरियाली उद्धार टोली नेपाल आइपुगेको छ।
दक्षिण कोरियाको विदेश मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) र अग्नि नियन्त्रण निकायका अधिकारी सहितको टोली बुधबार बिहान नेपाल आएको हो।
आयोजनाले बुधबार चार टोली परिचालन गरेर ड्रोनबाट समेत खोजी गर्ने जनाएको छ। मंगलबार सुरूङभित्र उद्धारको काम अघि बढाइएको थियो। अडिट ३ र ४ मा लेदो भेटिएको थिएन। अडिट १ र २ मा भने उद्धार गर्न बाँकी थियो।
आयोजनाको अडिट १ मा लेदो पसेको छ। डेब्रिजले सुरूङ पुरिएको छ। त्यसैले अनुभव प्राप्त अन्तर्राष्ट्रिय विज्ञ आवश्यक रहेको कम्पनीले जनाएको थियो। कोरियन विज्ञ टिम आएपछि थप सहायता पुग्ने विश्वास गरिएको छ।
यो आयोजना सबभन्दा धेरै मानिस सम्पर्कविहीन रहेको आयोजनामध्ये एक हो। सम्पर्कविहीनमा नौ जना कोरियाली नागरिकसमेत छन्। तीमध्ये छ जना दुसान इनर्जिबिलिटी कम्पनीका र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी हुन्।
बाढी आएको दिन आयोजनामा १ हजार ४३३ जना कार्यरत थिए। कम्पनीका अनुसार ८७६ जना उद्धार भइसकेका वा सम्पर्कमा आएका छन्। कम्पनीका १५ जना, ईपीसी निर्माण कम्पनी दुसानका ७८ जना, एन्ड्रिज हाइड्रोका ९४ जना, परामर्शदाता कम्पनी ल्याम्पेर र जेठ जेभीका सात जना तथा सिभिल सब–कन्ट्र्याक्टर पावर चाइनाका ३८५ जना हराइरहेको कम्पनीले जनाएको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा आज पनि सुरूङभित्र उद्धारकर्ता पठाउने तयारीअनुसार काम हुने जनाइएको छ। नेपाल विद्युत प्राधिकरणले इप्पानलाई दिएको जानकी अनुसार ड्रिलिङ र खन्ने कामलाई निरन्तरता दिइनेछ। सुरूङभित्र जमेको पानी निकाल्ने काम पनि जारी रहनेछ। डेब्रिज हटाउने काम पनि चल्ने बताइएको छ।
यो आयोजनामा मंगलबार चार वटा स्काभेटर प्रयोग गरिएको थियो। सुरूङभित्र उद्धारकर्ता पठाउन ड्रिलिङ तथा खन्ने काम गरिएको थियो। विज्ञसहितको प्राविधिक टोली पनि निरन्तर खटिएको थियो।
विद्युत गृह निर्माणमा प्रत्यक्ष सहभागी भएका विज्ञलाई पनि उद्धारमा सहभागी गराउने विषयमा छलफल भएको थियो। अहिलेसम्म सुरूङमा फसेकाहरूको उद्धार हुन सकेको छैन।
चिलिमेमा विद्युतगृहसम्म पहुँच बनाउने प्रयास
२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रमा आज पनि विद्युत गृहसम्म पुग्ने बाटो बनाउने काम हुने बताइएको छ।
लेदो र हिलो सफा गरिने, प्रवर्द्धक कम्पनीले आफ्नै प्रयासमा पहुँच बनाउने काम अघि बढाउने जनाएको छ।
मंगलबार भारतीय उद्धार टोली र नेपाली सेनाले विद्युत गृहसम्म पुग्ने मार्ग सफा गरेका थिए। तर, विद्युत गृहको सुरूङसम्म मेसिनरी उपकरण लैजान सकिएको छैन। यसले उद्धारमा समस्या भएको छ।
मेसिनरी उपकरणबिना विद्युत गृहभित्र पुग्न कठिन भएपछि उद्धारका लागि पुगेको शेर्पाहरूको समूह फर्किएको छ। नदीमा पानीको सतह बढिरहेकाले उद्धार टोलीलाई थप समस्या भएको छ।
चिलिमे जलविद्युत कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार प्रवर्द्धक कम्पनी आफैंले पहुँच बनाउने प्रयास गरिरहेको छ।
रसुवागढीमा स्काभेटर पुर्याएर खोजी गर्ने तयारी
१११ मेगावाटको रसुवागढी जलविद्युत केन्द्रमा आज स्काभेटर प्रयोग गरेर खोजी तथा उद्धार अघि बढाउने तयारी छ।
कम्पनीले मंगलबार स्काभेटर खरिद गरेको थियो। बुधबार उक्त स्काभेटर रसुवा पुर्याउने तयारी गरिएको छ। मंगलबार नेपाली सेना नेतृत्वको टोलीले विद्युत गृहको स्थलगत अवलोकन गरेको थियो। टोलीले विद्युत गृहको सुरूङभित्र कोही नरहेको निष्कर्ष निकालेको थियो।
त्यसपछि थप उद्धार अघि बढ्न सकेको छैन। रसुवागढीबाट ९१ जना अझै सम्पर्कविहीन छन्। उपकरणसहित खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको कम्पनीले जनाएको छ।
आयोजना स्थलमा प्रोटोकलमा रहेका व्यक्तिबाहेक अरूलाई प्रवेश अनुमति छैन। सात दिनसम्म पनि हराइरहेकाहरूको खोजी हुन नसकेपछि आफन्तहरू आक्रोशित भएका छन्।
लाङटाङ खोलामा १३ विज्ञको टोली परिचालन
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा आजदेखि १३ जना प्राविधिक तथा विज्ञ परिचालन हुँदैछन्।
उनीहरूले आयोजना स्थलमै बसेर खोजी तथा उद्धार गर्नेछन्। आयोजनाका प्रवर्द्धक तथा प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार आजबाट काम सुरू हुनेछ।
अहिले आयोजना स्थलमा नेपाली सेनाका १५ जना र कम्पनीको करिब आठ जनाको प्राविधिक टोली छ।
कम्पनीका आवश्यक उपकरण पनि आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ। उपकरण हवाई माध्यमबाट लैजाने तयारी गरिएको छ।
भट्टराईका अनुसार आज बेलुकासम्म पेनस्टकको पाइप काटेर करिब १५० मिटरसम्म पुग्न सकिने अनुमान छ। यो काम भोलिसम्म पनि लाग्न सक्ने उनले बताए।
पेनस्टकमा कंक्रिट गर्न पहुँच सुरूङमा गएका सात जना भित्र फसेको अनुमान छ। यसअघि १९ जनाको उद्धार भइसकेको छ। आयोजनाबाट ४१ जना सम्पर्कविहीन रहेको बताइएको छ।
यसअघि भट्टराईले १३ जनाको टोली परिचालनपछि तीनदेखि चार दिनमा खोजीको नतिजा देखिन सक्ने बताएका थिए।
त्रिशूली थ्री ‘बी’ मा खोजी जारी
३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ आयोजनामा आज पनि सम्पर्कविहीनको खोजी तथा उद्धार जारी रहने बताइएको छ।
मंगलबारसम्म खोजी तथा उद्धारको काम चलिरहेको थियो। सुरूङमा फसेका २३ जना आफै बाहिर निस्किएका थिए। अहिलेसम्म पाँच जनाको शव फेला परेको कम्पनीले जनाएको छ।
निर्माण कम्पनीले सुरूमा ११० जना सम्पर्कविहीन रहेको जनाएको थियो। पछि सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्दा १४१ जना हराइरहेको प्रवर्द्धक कम्पनीले जनाएको छ।
हराइरहेकामा कम्पनीका २१ कर्मचारी छन्। कर्मचारीका परिवारका सात जना छन्। परामर्शदाता कम्पनीका १२ जना छन्। एक जना सुरक्षा गार्ड छन्। चार चिनियाँ सहित छ जना र काठमाडौं विश्वविद्यालयका तीन विद्यार्थी पनि सम्पर्कविहीन छन्। खोजी तथा उद्धार कार्यलाई आज पनि निरन्तरता दिइनेछ।
यसरी बुधबार जलविद्युत आयोजनामा खोजी तथा उद्धारका लागि थप जनशक्ति र उपकरण परिचालन हुँदैछ।
माथिल्लो त्रिशूली–१ मा कोरियाली टोली आएको छ। लाङटाङ खोलामा विज्ञ र प्राविधिक टोली खटिँदैछ। रसुवागढीमा स्काभेटर पुर्याइँदैछ। अन्य आयोजनामा सुरूङ सफा गर्ने, ड्रिलिङ गर्ने र पहुँच बनाउने कामलाई निरन्तरता दिइँदैछ।