भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा सात अर्ब घन फिट (करीब २० करोड घन मिटर) भन्दा बढी बरफ र ढुङ्गा खसेको खुलेको छ।
लाङटाङ लिरूङ हिमालको उत्तरी भिरालो पाखामा तलको उपत्यकाबाट लगभग एक माइल (१.६ किलोमिटर) उचाइमा रहेको सो मात्रामा बरफ र ढुङ्गा खसेको विभिन्न वैज्ञानिकलाई उद्धृत गर्दै द न्यू योर्क टाइम्सले लेखेको छ।
त्यति उचाइबाट तल खसेको सो भग्नावशेषले लगभग १०० वटा फुटबल स्टेडियम भर्न पुग्ने भनेर पनि टाइम्सले लेखेको छ।
हिमाल र हिमनदीको सो भाग खस्दा ५.२ रेक्टर स्केलको भूकम्पको रुपमा मापन भएको थियो।
हिमनदीको विशाल भाग र त्यो हिमनदी मुनिको चट्टानी पहाडको ठूलो हिस्सा नै फुटेर सो परिमाणमा बरफ र ढुङ्गा तल खसेको थियो।
त्यसले ल्याएको ढुंगा, माटो र गेग्रानयुक्त बहाव ल्हेन्दे खोलामा मिसिएपछि सो विनाशकारी बाढी आएको हो।
वैज्ञानिकहरूलाई यो विनाशको वास्तविक कारण बुझ्न महिनौँ लाग्नेछ।
अहिलेसम्मको विश्लेषण अनुसार यो जगका चट्टानहरू (बेडरक) खसेको घटना हो।
लाङटाङ लिरूङ हिमालको उत्तरी भिरालो पाखाको बेडरक नै खसेपछि त्यसले हिमनदीलाई छिन्नभिन्न पारिदियो।
हिमालयमा रहेका त्यस्ता बेडरक कहिले खस्छन् भनेर अनुमान गर्न धेरै गाह्रो हुन वैज्ञानिकहरू बताउँछन्।
हिमालयका धेरै ठाडो भिरालो भूभागहरूका बेडरक खस्ने जोखिमको मूल्याङ्कन गर्न नसकिने उनीहरू औंल्याउँछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)