रसुवाको उत्तरगया गाउँपालिका–१ का सन्च तामाङ भदौ १० गतेदेखि छोराको खोजीमा दिनहुँ घण्टौं भौतारिँदै छन्।
कहिले होल्डिङ सेन्टर पुग्छन्, कहिले प्रहरी प्रशासन। कहिले अस्पताल पुग्छन्, कहिले नगरपालिका।
स्कुल पढ्ने बच्चाहरू ती ठाउँमा हुन सक्ने आशा लिएर उनी त्यहाँ पुगिरहेका छन्।
उनका चार वर्षीय छोरा रिन्जेन दोङ तामाङ वैशाखदेखि प्ले ग्रुपमा भर्ना भएका थिए। छोरालाई पढाउन सन्च उत्तरगया पब्लिक इङ्लिस बोर्डिङ स्कुल रहेको वेत्रावती झरेका थिए।
छोरा जीवितै छन् भने पनि आफ्नो नाम, बुबाआमाको नाम र ठेगाना बताउन सक्ने अवस्थामा छैनन्। सानै उमेर भएकाले छोरा जीवितै भएको आशामा सन्च खोजीमा भौंतारिएका हुन्।
तर जहाँ जाँदा पनि उनले कुनै खोजखबर पाएनन्।
विद्यालयदेखि प्रहरी, प्रशासन, अस्पताल र होल्डिङ सेन्टरसम्म कसैले पनि उनको छोरा कहाँ छ भनेर जबाफ दिन सकेनन्।
‘मेरो बच्चाले राम्रोसँग आफ्नो नाम पनि भन्न सक्दैन। बाबा ममीको नाम पनि भन्न सक्दैन,’ छोराको स्कुल नजिकै भेटिएका सन्चले भने, ‘हिजोसम्म झिनो आशा थियो। कहीँ केही पत्ता नलागेपछि आज गुम्बा गएर छोराको लागि बत्ती बालेर फर्केको छु।’
चार वर्षीय रिन्जेन स्कुल भर्ना भएदेखि कहिल्यै पनि स्कुल जान्दिनँ भनेर पिरोलेनन्। शिक्षकले दिएका गृहकार्य पनि निकै राम्रो गर्दथे। बच्चा सानो भएर पनि पढ्न रूचि देखाएको देखेर बुबा सन्च खुसी हुन्थे।
अहिले उही बालक रिन्जेनसँग बिताएका क्षणहरू उनको आँखामा नाचिरहेका छन्।
‘मेरो बाबुले कहिल्यै पिरोलेन। स्कुल जान र होमवर्क गर्न खुसी हुन्थ्यो,’ उनले भने, ‘कुनै चिनो भए पनि पाइन्छ कि भनेर दौडिराखेको छु।’
सन्चको परिवारमा छोरा रिन्जेन मात्र भोटेकोशी बाढीमा बेपत्ता भएका छैनन्। उनका परिवारका चार जना बेपत्ता छन्।
उनका दाजुका छोरा पेट्रोल पम्पबाट र रसुवागढीबाट तीन जना परिवारका सदस्य बेपत्ता छन्। उनका छोरा रिन्जेन भने स्कुलबाटै बेपत्ता छन्।
बाढी गएको दिन स्कुलबाट खिचेर सार्वजनिक भएको एउटा भिडिओले भने उनको मन थप दुखाएको छ।
बाढी गएको १२ मिनेट लामो भिडिओमा स्कुलको चउरमा केटाकेटी खेलिरहेका देखिन्छन्। त्यतिबेलासम्म बालबच्चालाई माथि जंगलतिर पठाउन सकेको भए सबै जोगिने उनको आकलन छ।
‘बाढी आउँदा स्कुलमा भिडिओ खिचेर बसेका रहेछन्। भिडिओ खिच्नुको सट्टा बालबच्चालाई जंगलतिर लगेर जोगाउन सकिन्थ्यो,’ उनी भन्छन्, ‘यहाँ लापरबाही भएको स्पष्ट देखिन्छ।’
छोराका विषयमा स्कुलका शिक्षकहरूसँग सम्पर्क गर्दा ‘थाहा छैन’ भन्ने जबाफ आएको उनी बताउँछन्।
छोरासहित परिवारका चार सदस्य कहाँ छन् भनेर सोधपुछ गर्दै हिँडेका सन्चले अझै स्पष्ट जबाफ पाएका छैनन्।
बाढीले उनीहरूलाई पुर्यो कि बगायो, उनलाई थाहा छैन। बस्ती पुरिएर बगर भएका ठाउँहरू र घरहरूमा उत्खनन पनि भएको छैन।
‘हाम्रा मान्छेहरू मरेका छन् या बाँचेका छन्, कुनै रेस्पोन्स दिएको छैन। न त उद्धार नै छ,’ उनले भने।