पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
राजमार्गको उक्त खण्ड विगतमा त्रिशूली नदीमा आएको बाढीका कारण अत्यधिक कटानमा परेको संवेदनशील क्षेत्र मानिन्छ।
स्थानीय प्रशासनका अनुसार लामो समयदेखिको वर्षाका कारण कमजोर बनेको जमिन र भिरालो भूगोलका कारण पहिरो खसेको हो। बाढीको उच्च जोखिम झेलिसकेको सोही स्थानमा पुनः पहिरो खसेपछि राजमार्गको पुनःस्थापना थप चुनौतीपूर्ण बनेको छ।
सडक अवरुद्ध भएसँगै काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो मार्गमा सवारी साधनहरूको लामो लाइन लागेको छ।
प्रहरीले यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन वा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्र भएकाले यस भेगमा थप पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन प्रशासनले सतर्क गराएको छ।
–न्युज एजेन्सी नेपाल