रोल्पामा जिप र मिनी ट्रक ठक्कर खाँदा ६ जना घाइते भएका छन्। घाइते सबै जिपमा सवार यात्रुहरू हुन् ।
रुन्टीगढी गाउँपालिका–७ की २७ वर्षीया विमला खड्का, उनकी ७ वर्षीया छोरी एलिसा खड्का, सोही ठाउँकी २१ वर्षीया पूजा थापा, वडा नम्बर ८ झेनामका ३३ वर्षीय कलिमान विक, ३१ वर्षीया सीता विक र त्रिवेणी गाउँपालिका–२ दहबनका ३२ वर्षीय रेसम खड्का घाइते भएका छन्।
घाइतेमध्ये एलिसा र सीता विकको अवस्था सामान्य रहेको तथा अन्य चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
रोल्पा प्रहरीका अनुसार शुक्रबार दिउँसो होलेरीबाट दहवनतर्फ जाँदै गरेको भे १ ज ११२७ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दहवनबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ७९३३ नम्बरको मिनी ट्रकमा दिउँसो ठोक्किएको थियो ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार जारी छ। दुवै सवारी चालक र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।