भदौ १० अघि त्रिशूली र भोटेकोशी नदी किनारमा रहेका बजार र गाउँहरू अब सम्झनामा मात्र सीमित छन्। भोटेकोशी–त्रिशूली बाढीले थुप्रै मानिसको ज्यान लियो। भौतिक सम्पत्ति बढारेर लग्यो।
बाढीमा धेरैले आफन्त गुमाएका छन्। कसैका आफन्तको शव भेटिएको छ, धेरैको अझै भेटिएको छैन। जसोतसो ज्यान जोगाएकाहरूको सर्वस्व बाढीले लगेको छ।
जीवनमा कहिल्यै कल्पना नगरेको बाढी आउँदाका क्षण र दृश्य अहिले पनि उनीहरूको आँखामा झल्झली आउँछन्। आफन्त गुमाउनुको पीडा र बाढीले सर्वस्व बढार्नुको दुःख अनुहारमा झल्किन्छ। बोल्दा आवाज काँप्छ। आँखाबाट आँसुका धारा चुपचाप बगिरहन्छन्।
बाढी आएको दिन उत्तरगया–५ का मैमल गुरूङ पिँढीमा बसेर साथीसँग चिया खाइरहेका थिए। एक्कासि छिमेकीको घर ढलेको देखे। त्यसपछि एउटा झोला लिन उनी घरभित्र पसे।
बाहिर निस्किन नपाउँदै घरको छानाको पाली खस्यो। बाढीले उनलाई पनि आफूसँगै तान्यो।
'बल्लतल्ल एउटा ठुटो समातेर उत्रिएँ,' उनी भन्छन्।
त्यसपछि माथिबाट बाढीको अर्को छाल आयो। उनी भागिरहे। लगाएका लुगा, चप्पल र झोला सबै हिलोमा गाडिए। उनी नग्न अवस्थामा बाहिर निस्किन सफल भए।
'आँखा अगाडि दुई जना छिमेकीलाई बाढीले लतारेर लग्यो,' उनले भने।
बाढीले उत्तरगया–५ को बेत्रावती र आसपासका बस्तीका मानिसको जीवनलाई दुई भागमा छुट्ट्याइदिएको छ—बाढीअघि र बाढीपछि।
बाढीअघि बेत्रावती बजार थियो। रसुवा नाका हुँदै चीनबाट सामान ल्याउने र लैजानेहरूको ताँती लाग्थ्यो। मानसरोवर र गोसाइँकुण्ड मात्र होइन, बेत्रावती आफै पनि एउटा धार्मिक केन्द्र थियो। विश्वका चार गयामध्ये नेपालमा रहेको एक मात्र गया उत्तरगया धाम यहीँ पर्छ।
'अहिले सबै सम्झनामा सीमित भएका छन्,' मैमलले भने।
बेत्रावतीकै सुनिल नगरकोटी बाढी आउनुअघि घरमै सुतिरहेका थिए। अघिल्लो दिनदेखि शरीर दुखेको थियो। बिहान ७ बजे बहिनीलाई कलेज पुर्याएर फर्किएपछि उनी फेरि सुतेका थिए।
सुतिरहेकै बेला साथीको फोन आयो।
'बाढी धेरै ठूलो आउँदैछ, खोलामा मान्छे छन्, उनीहरूलाई भनिदेऊ,' साथीले भने।
सुनिल उठेर खोलातिर गए। त्यहाँ उनकी आमा पनि थिइन्।
उनले त्रिशूली खोलाबाट २५–३० जनालाई माथितिर भाग्न लगाए। उनीहरूमध्ये चार–पाँच जना वृद्ध महिला पनि थिए। एक जनालाई बोकेर सुरक्षित ठाउँतिर लगे।
बेत्रावतीमा श्राद्ध गर्न आएका मानिसहरू पनि थिए।
सुनिलले उनीहरूलाई पनि माथि जान भने।
साथीले फोन गरेको करिब १० मिनेटमै बाढी आयो। उनले देखेको बाढी पहिले कल्पना गरेजस्तो थिएन।
'बाढी त तल खोलाबाट आउँछ नि, यस पटक त माथिबाट आयो,' उनी भन्छन्, 'घरहरूभन्दा माथिबाट।'
बाढीले सुनिललाई पनि छोप्यो। उनीसँग लगाउने कपडा थिएन। अर्काको कपडा र चप्पल मागेर लगाए।
उनकी आमा हिँड्न सक्थिनन्। उनलाई पनि बोकेर सुनिलले माथितिर लगे।
'तर सबैलाई बचाउन सकिएन,' उनले भने।
खोलामा दुई जना बाबाजीहरू थिए। नजिकै राम मन्दिर थियो। सुनिलले उनीहरूलाई पनि भाग्न आग्रह गरे।
'पटक पटक बोलाएँ, उनीहरू आएनन्। घाटमा बस्ने ती बाबाजी बाढीमा परे,' सुनिलले भने।
बाढीपछि सुनिल शव खोज्न र दाहसंस्कार गर्नतिर लागे। तर दाहसंस्कारका लागि दाउरा थिएन।
'रूख काटेर साथीभाइको शव जलाउनुपर्यो,' उनी भन्छन्।
अहिले उनी बेत्रावती फर्केर हेर्न पनि चाहँदैनन्।
'कस्तो थियो बेत्रावती बजार, अहिले केही नभएको बगर बनेको छ,' उनी भन्छन्, 'फर्केर पनि हेर्न मन लाग्दैन।'
बाढीले उनको घर लग्यो। बाइक, केही सुन र पैसा पनि थियो। केही निकाल्न पाएनन्।
'घरबाट सामान झिक्न खोजेको भए हामी पनि यहाँ रहँदैनथ्यौं,' उनी भन्छन्।
उत्तरगया–५ कैतालटारकी कोपिला आचार्य रैला पनि मुस्किलले ज्यान जोगाउन सफल भइन्।
उनको घरबारी सबै बाढीले बगायो। परिवारका सदस्य बाढीमा परे।
उनकी साइँली जेठानी उत्तरगया इङ्लिस बोर्डिङ स्कुलमा मृत भेटिइन्। उनको शव स्कुलको मैदानमा भेटिएको थियो। कान्छा देवरको सानो बच्चाको पनि मृत्यु भयो।
बाढी आएपछि कोपिला र उनकी देउरानी जंगलतिर भागे। त्यही बाटोले उनीहरूलाई बचायो।
'सडकबाट गएको भए हामीलाई पनि बाढीले बगाउँथ्यो,' उनले भने।
त्यो बिहान उनीहरूले खाना पनि खाएका थिएनन्। खाना बनाएर बच्चाहरूलाई स्कुल पठाउने तयार गर्दै थिए।
कोपिलालाई केही समयअघि मात्र टाइफाइड भएको थियो। बच्चाहरू पनि अलिअलि बिरामी थिए र स्कुल जान मानिरहेका थिएनन्।
त्यही बेला माइली जेठानीका भाइको फोन आयो। बाढी आउँदै गरेको खबर पाएपछि उनीहरू बाहिर निस्किए।
'छिनभरमै बाढी आयो। चार ढलानको घर सर्लक्कै ढाकेर आयो,' उनले भनिन्।
त्यति बेला उनका छोरालाई अर्को समस्या पनि थियो। उनलाई एपेन्डिसाइटिस भएको भएछ। हेलिकप्टरबाट उद्धार गरेर बट्टारसम्म लगियो। त्यहाँबाट केही घन्टा हिँडेर गाडी भएको ठाउँसम्म पुगे।
'छोरालाई काठमाडौं लगेर भदौ १६ गते शल्यक्रिया गरियो,' उनले भनिन्।
उत्तरगया–५ कैतालटारकी अप्सरा फुयालको घर सडकभन्दा माथि थियो। त्यहाँसम्म बाढी आउला भन्ने कसैले कल्पना गरेका थिएनन्। बाढी आएको बेला उनीहरू प्रायः सडकतिर झरेर हेर्थे। त्यो दिन पनि त्यस्तै भयो।
घरमा बालबच्चा थिए। आमा घाँस काट्न बारी गएकी थिइन्। बाढी आएको खबर पाएपछि अप्सरा स्कुटर लिएर आमालाई लिन निस्किइन्। केही अगाडि पुगेपछि उनले मानिसहरू भागदौड गर्दै फर्किरहेको देखिन्।
'बाढी आयो भन्दै सबै जना फर्किरहेका थिए,' उनले भनिन्, 'त्यसपछि म पनि बाटोबाटै फर्किएँ।'
पछाडि फर्केर हेर्दा बाढी अग्ला घरहरूभन्दा पनि माथिबाट आएको थियो। अप्सराले स्कुटर बाटोमै छाडिन् र दुई छोरा लिएर जंगलतिर भागिन्।
त्यति बेला सडकमा मानिसहरूको भीड थियो। माथि जंगलतिर पुगेपछि उनले तल हेरिन्। घरका छतछतै बाढी बगिरहेको देखिन्।
उनकी आमा र सडकतिर रहेका बुबालाई बाढीले बगायो।
'बाढी त कालो–निलो धुवाँ उडेको जस्तै भएर आएको थियो,' अप्सरा भन्छिन्, 'कल्पनै गर्न नसकिने भयंकर थियो।'
उनका अंकल र छरछिमेकका मानिसहरू पनि बाढीमा परे।
पछि हेलिकप्टरले उनीहरूलाई उद्धार गरेर बट्टार पुर्यायो। त्यहाँबाट हिँड्दै उनीहरू बाटोमा पुगे र गाडी चढेर काठमाडौं पुगे। काठमाडौंमा दाजु–दिदीको कोठामा बसे।
अप्सराका श्रीमान विदेशमा थिए। बाढीपछि नेपाल फर्किएका छन्। अब गाउँमा उनीहरूको केही बाँकी छैन।
'न घरबार, न खेतबारी, हामी त जिरोमै आयौं,' उनी भन्छिन्, 'अब यी छोरालाई कहाँ पढाउने! स्कुल पनि छैन।'
बाढीले बस्ती नै बढारेर बगर बनाएपछि स्थानीय बाढीपीडितहरू अझै पनि त्यही दिनका भयानक दृश्य सम्झिरहेका छन्।
बाढीमा आफन्त र छरछिमेक गुमाउनुको पीडासँगै सिंगो बस्ती र बजार नै बगाएको दृश्यले बल्लतल्ल ज्यान जोगाएकाहरूलाई अझै छाडेको छैन।
'जतिखेर पनि त्यही बाढी आउँछ दिमागमा, केही सोच्नै सकेको छैन,' अप्सरा भन्छिन्, 'अब त बेत्रावती फर्किन पनि मन छैन।'