६ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपन्छीपालन र कृषि उद्यममा रमाइरहेका छन्।
विदेशमा काम गरेको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उनले तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक कृषि उद्यम सुरु गरेका थिए।
सुरुमा २५ लाख रुपैयाँ लगानीमा गाउँघरबाट ८० वटा उन्नत जातका बाख्रा संकलन गरेर फार्म सञ्चालन गरेका उनले अहिले लगानी बढाएर ८० लाख रुपैयाँ पुर्याएका छन्।
बाख्रापालनबाट सुरु भएको व्यवसायमा अहिले स्थानीय जातका कुखुरा, कालिज, मौरीपालन र फलफूल खेतीसमेत थपिएको छ।
‘साढे छ वर्ष कोरिया बसेर फर्किएपछि गाउँमै उद्यम गर्ने सोचले बाख्रापालन सुरु गरेको थिएँ’, उनले भने, ‘अघिल्लो वर्षदेखि बाख्रासँगै स्थानीय जातका कुखुरा, कालिज र मौरीपालन पनि विस्तार गरेको छु।’
भविष्यमा फार्मलाई मिनी एग्रो टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको बमले बताए। उनको फार्ममा अहिले स्थानीय जातका दुई हजार कुखुरा र चार सय कालिज छन्।
त्यसैगरी उन्नत जातका बाख्रा र मौरी पनि पालिएका छन्।
‘कालिज कैलालीसम्म बिक्री हुने गरेको छ। बजारको समस्या छैन, स्थानीय स्तरमै बिक्री हुन्छ’, उनले भने, ‘यस वर्ष ६० लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य छ।’
सुरुआती वर्षमा आम्दानी कम भए पनि यस वर्ष सबै खर्च कटाएर १६ लाख रुपैयाँ मुनाफा हुने उनको अपेक्षा छ। फार्ममा तीन जना कर्मचारी कार्यरत छन्। उनीहरूलाई मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म तलब दिने गरिएको छ।
पशुपन्छीपालनसँगै बमले एमबिबिएससमेत अध्ययन गर्दै आएका छन्। एउटै व्यवसायमा मात्र निर्भर हुनुभन्दा विभिन्न व्यवसाय सञ्चालन गरेर आम्दानीका स्रोत बढाउन सकिने उनको बुझाइ छ।
विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएर उद्यम सुरु गरेका बम मेहनत र लगनशीलता भए आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिने बताउँछन्।
‘सरकारी निकायबाट सहयोग प्राप्त भए व्यवसायलाई अझै विस्तार गर्ने लक्ष्य छ’, उनले भने।
बमले आफ्नै डेढ बिघा जग्गामा फार्म सञ्चालन गरेका छन्। थप १० कट्ठा जग्गा वार्षिक १२ हजार रुपैयाँ भाडा तिरेर लिएका छन्।
मौरीपालनलाई पनि व्यवसायका रूपमा विस्तार गरेर मह उत्पादन तथा बिक्रीबाट थप आम्दानी गर्ने उनको लक्ष्य छ।
मौरीले कृषि बालीमा परागसेचन प्रक्रियामा समेत सहयोग गर्ने भएकाले उनले यसलाई अन्य कृषि व्यवसायसँग जोडेर अघि बढाएका छन्। अहिले फार्ममा १० वटा घारमा मौरी पालिएका छन्।
मौरीका लागि चरन व्यवस्थापन गर्न उनले तोरीखेती पनि गरेका छन्। साथै फलफूलको बगैँचा स्थापना गरेका छन्।
‘वर्षायाममा मौरीका लागि चरन नहुँदा चिनी र चास्नी बनाएर खुवाउनुपरेको थियो’, उनले भने, ‘अहिले चरनकै लागि तोरी पनि लगाएका छौँ। साथै फलफूलको बगैँचासमेत स्थापना गरेका छौँ।’
स्वदेशमै बसेर व्यवसाय गर्ने बमको प्रयासले बेरोजगार युवालाई पनि कृषि तथा पशुपन्छीपालनमा सम्भावना खोज्न प्रेरित गरेको छ।