दुबईबाट इसराइलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमान बुधबार अचानक हजारौँ फिट तल झर्यो।
यात्रुहरूले सुरूमा विमान ठूलो टर्बुलेन्समा परेको ठाने। तर ककपिटभित्र स्थिति निकै गम्भीर थियो। संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबईको सो विमानका सहपाइलटले क्याप्टेनमाथि छुरा प्रहार गरेका थिए। कप्तान स्मित मच्छार गम्भीर घाइते भएका थिए। विमान भने तीव्र गतिमा तल झर्दै थियो।
त्यसपछि केही यात्रु ककपिटतर्फ दौडिए। उनीहरूले सहपाइलटलाई नियन्त्रणमा लिए। त्यसैबीच विमानमा यात्रुका रूपमा रहेका फ्लाई दुबईका दुई अन्य पाइलटले पनि ककपिट सम्हाले। विमान अन्ततः साउदी अरबको ताबुकमा सुरक्षित अवतरण गर्यो।
विमानमा १७४ जना यात्री थिए। तीमध्ये १६६ इसराइली नागरिक भएको विभिन्न इसराइली मिडियाले जनाएका छन्।
घटनामा गम्भीर घाइते भएका क्याप्टेन मच्छार भारतीय नागरिक हुन्। उनीमाथि आक्रमण गर्ने सहपाइलट ओमानी नागरिक भएको इसराइली मिडियाले जनाएका छन्। तर फ्लाई दुबईले अहिलेसम्मो उनको परिचय खुलाएको छैन।
३० सेकेन्डमा १४ हजार फिट तल
फ्लाई दुबईको उडान एफजेड१०७३ दुबईबाट तेल अभिभतर्फ जाँदै थियो।
विमान साउदी अरबको आकाशमाथि करिब ३४ हजार फिटको उचाइमा उडिरहेको थियो। अचानक विमान तीव्र गतिमा तल झर्न थाल्यो।
उडान ट्र्याकिङ तथ्यांकअनुसार विमान करिब ३० सेकेन्डमा १४ हजार फिटभन्दा बढी तल झरेको थियो। यात्रुहरूबीच त्रास फैलियो।
एक यात्रुले विमान ठूलो टर्बुलेन्समा परेको जस्तो लागेको बताएका छन्। तर केही समयमै ककपिटभित्रको वास्तविक अवस्था बाहिर आयो। क्याप्टेन र सहपाइलटबीच भिडन्त भएको थियो। सहपाइलटले क्याप्टेनमाथि छुरा प्रहार गरेका थिए। पछि आगो लाग्दा वा अरू आकस्मिक अवस्थाका लागि भनेर पाइलटको सिट पछाडि राखिएको बन्चरोले पनि क्याप्टेनमाथि प्रहार भएको केही मिडियाले लेखेका छन्। तर गम्भीर चोट लागे पनि क्याप्टेनले प्रतिकार गरे। त्यतिमात्रै नभएर साउदी एयर ट्राफिक कंट्रोललाई कोड पठाएर सम्भावित आतंककारी आक्रमण भएको गोप्य सूचना दिन पनि भ्याए। इसराइल आइरहेको सो विमानलाई नियालिरहेको इसराइलले त्यसपछि आफ्ना लडाकू विमान समेत पठाएको थियो।
त्यसपछि पनि उनले महत्वपूर्ण काम गर्न सके। इसराइली अधिकारीहरूका अनुसार, गम्भीर घाइते अवस्थामा मच्छारले सो बोइङ ७३७ म्याक्स ८ विमानको ककपिटको ढोका खोलिदिएका थिए। सो विमानमा इलेक्ट्रोनिक डेडबल्ट लकिङ सिस्टम हुन्छ। गम्भीर घाइते अवस्थामा पनि मच्छारले क्षीण हुँदै गएको आफ्नो सारा शक्ति लगाएर त्यो स्वीच खोलिदिए। त्यसपछि यात्रु र चालक दलका सदस्यहरू ककपिटभित्र प्रवेश गर्न सके।
यात्रुहरू ककपिटभित्र पुग्दा मच्छार गम्भीर घाइते भएर भुइँमा थिए।
क्याप्टेन र सहपाइलट दुवै रगताम्य अवस्थामा थिए। क्याप्टेनमाथि आक्रमण गरेका सहपाइलटको शरीरमा भएको रगत उनको थियो कि क्याप्टेनको भनेर नछुट्टिएको पछि केही यात्रुले बताएका छन्। त्यसपछि केही यात्रुले सहपाइलटलाई नियन्त्रणमा लिए।
घटनास्थलमा रहेका यात्रुका अनुसार उनीहरूले सहपाइलटलाई समातेका थिए। केही मिडियाले उनलाई चार्जिङ केबल र हेडफोनको तार लगायतको प्रयोग गरेर बाँधिएको उल्लेख गरेका छन्। विमानमा रहेका एक दन्त चिकित्सकले पनि घाइते कप्तानलाई उपचारमा सहयोग गरेका थिए।
तर सहपाइलटलाई नियन्त्रणमा लिनु मात्रै पर्याप्त थिएन। विमान अझै आकाशमै थियो। क्याप्टेन गम्भीर घाइते थिए। नियन्त्रणमा रहेका सहपाइलटलाई विमान उडाउन लगाए उनले फेरि दुर्घटना गराइदिने सम्भावना थियो।
त्यसैले विमान कसले उडाउने भन्ने अर्को ठूलो समस्या थियो। संयोगले फ्लाई दुबईको उक्त विमानमा दुई अतिरिक्त पाइलट पनि यात्रुका रूपमा थिए। उनीहरूलाई कुनै विशेष सुरक्षा कारणले विमानमा राखिएको थिएन।
उनीहरू रिजर्भ चालक दलका सदस्य थिए। अमेरिका र इसराइलको इरानसँग जारी युद्धका कारण रूट परिवर्तन भएमा पाइलटको ड्युटी समयको सीमा नाघ्न नदिन यो व्यवस्था गरिएको केही मिडियाले लेखेका छन्।
क्षेत्रीय परिस्थितिका कारण उडानको रूट परिवर्तन गर्नुपरेमा यात्रा एक–दुई घण्टासम्म लम्बिन सक्थ्यो। त्यसले नियमित चालक दलको ड्युटी समय सीमा नाघ्न सक्थ्यो। त्यस्तो अवस्थामा उनीहरूले फर्कंदा सो उडान सञ्चालन गर्न नसक्ने अवस्था आउन सक्थ्यो। त्यसै कारणले रिजर्भ दुई पाइलट सहित चार पाइलटलाई एउटै विमानमा राखिएको थियो।
दुई अतिरिक्त पाइलट विमानमा हुनु सुरक्षा व्यवस्था थिएन। नियमित चालक दल व्यवस्थापनको सो सामान्य निर्णयका कारणले ठूलो घटना टर्यो।
विमान तल झरिरहेको बेला दुई अतिरिक्त पाइलट भने पछाडितिर बसेका थिए। तीमध्ये एक पाइलट ककपिटमा पुगे र विमानको नियन्त्रण लिए।
त्यसपछि विमानलाई स्थिर अवस्थामा ल्याइयो। विमानलाई इसराइलतर्फ लैजानुको सट्टा साउदी अरबको ताबुकतर्फ मोडियो। त्यहाँ विमानले आपत्कालीन अवतरण गर्यो।
को हुन् क्याप्टेन स्मित मच्छार?
घटनामा गम्भीर घाइते भएका क्याप्टेन स्मित मच्छार भारतीय नागरिक हुन्। उनी मुम्बईका हुन्।
मच्छार सन् २०२२ देखि फ्लाई दुबईको बोइङ ७३७ का क्याप्टेनका रूपमा कार्यरत छन्।
यसअघि उनले भारतको स्पाइसजेटमा करिब ११ वर्ष काम गरेका थिए। त्यहाँ उनी वरिष्ठ कमान्डर बने। पछि उनी लाइन-ट्रेनिङ क्याप्टेन भए।
यस भूमिकामा उनले अन्य पाइलटलाई प्रशिक्षण र मूल्यांकन गर्ने काम गर्थे।
उनको व्यावसायिक प्रोफाइलअनुसार बोइङ ७३७ विमानमा उनको करिब ९ हजार ७५० घण्टाको उडान अनुभव छ।
मच्छारले पाइलट बन्न न्युजिल्यान्डमा प्रशिक्षण लिएका थिए।
पछि भारत फर्किएर उनले व्यावसायिक पाइलटका रूपमा करिअर अघि बढाए।
फ्लाई दुबईमा भने उनले सन् २०२२ मा क्याप्टेनका रूपमा काम थालेका थिए।
घटनापछि मच्छारलाई साउदी अरबको अस्पताल लगियो। उनको शल्यक्रिया गरिएको छ। भारतीय अधिकारीहरूका अनुसार उनको अवस्था स्थिर छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मच्छारको साहसको प्रशंसा गरेका छन्। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि उनलाई यात्रुहरूको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नाम लिएर प्रशंसा गरेका छन्।
सहपाइलट पक्राउ, अनुसन्धान जारी
घटनापछि सहपाइलटलाई साउदी अधिकारीहरूले पक्राउ गरेका छन्।
साउदी अरबमा उनीमाथि अनुसन्धान भइरहेको छ। यूएईले पनि घटनाबारे अनुसन्धान थालेको छ। विमान यूएईमा दर्ता भएकाले अनुसन्धानमा यूएईको अधिकार क्षेत्र रहने बताइएको छ।
तर सहपाइलटले किन कप्तानमाथि आक्रमण गरे भन्ने अझै स्पष्ट भएको छैन। इसराइलले त्यसलाई आतंककारी आक्रमणको प्रयास भन्दै इरानको संलग्नता हुन सक्ने शंका गरेका छन्। यूएईले सम्भावित आतंकवादी सम्बन्ध वा पूर्वयोजनाबारे पनि अनुसन्धान गरिरहेका छन्।
तर अहिलेसम्म त्यस्तो सम्बन्ध पुष्टि भएको छैन। फ्लाई दुबईले पनि घटनाको कारणबारे तत्काल निष्कर्षमा नपुग्न आग्रह गरेको छ।
फ्लाई दुबईले घटनापछि इसराइलका उडान अस्थायी रूपमा स्थगित गरेको छ। सस्तो सेवा दिने फ्लाई दुबईको टिकट पहिल्यै काटिसकेका इसराइली यात्रुलाई घर ल्याउन इसराइलले आफ्नो ध्वजाबाहक एल आल वायुसेवाको प्रयोग गर्ने भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)