तुलसीपुर उद्योग वाणिज्य संघले पश्चिम दाङका स्थानीय तहले दमकल खरिद नगर्दा आगलागीका घटनामा उद्योगी–व्यवसायी र सर्वसाधारणले ठूलो क्षति बेहोर्नुपरेको भन्दै तत्काल दमकल किन्न आग्रह गरेको छ।
संघका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देवबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन्।
उनले पछिल्लो एक वर्षदेखि आगलागीका घटना भइरहे पनि स्थानीय सरकारले समयमै रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘विपद्जन्य घटनाको पूर्वतयारी एवं अग्नि नियन्त्रणसम्बन्धी उपकरण नहुँदा आगलागीबाट उद्योगी, व्यवसायी र आमसर्वसाधारणको जीउधनको क्षति भइरहेको घटनाप्रति वाणिज्य संघ स्थानीय सरकार एवं सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
केसीले पश्चिम दाङका चार स्थानीय तहमा दमकल नहुँदा विभिन्न ठाउँमा भएका आगलागीबाट ठूलो क्षति भएको बताएका छन्।
उनले स्थानीय सरकारलाई यथाशीघ्र दमकल खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। साथै आगलागीबाट क्षति बेहोरेका व्यवसायीलाई सहयोग गर्न दाताहरूसँग पनि अपिल गरेका छन्।

बुधबार साँझ बबई गाउँपालिका–५ हापुरे बजारमा भएको आगलागीमा दुई पसलमा ठूलो क्षति पुगेको थियो।
गौरी घर्तीले सञ्चालन गरेको सारिका शृंगार तथा गिफ्ट सप पूर्ण रूपमा जलेर नष्ट भएको थियो।
भुमप्रकाश शर्माले सञ्चालन गरेको ओम गंगा किराना पसलमा करिब ९० प्रतिशत क्षति पुगेको थियो। त्यस्तै, सँगै रहेको सकिल कस्मेटिक पसलमा पनि आंशिक क्षति भएको स्थानीय प्रहरीले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिकामा रहेको एउटा दमकल जेन्जी आन्दोलनका क्रममा जलेर नष्ट भएको थियो।
त्यसयता उपमहानगरपालिकाले नयाँ दमकल खरिद गरेको छैन।
पश्चिम दाङका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा पनि दमकल छैनन्।
आगलागीका घटना भइरहे पनि यी स्थानीय तहले अहिलेसम्म दमकल खरिद प्रक्रिया अघि बढाएका छैनन्।
यो पनिः