गोरखाको चुमनुब्री गाउँपालिका ३ जगत र धार्चे गाउँपालिका १ ठाडो भर्याङको सिमा क्षेत्र जगत बगरपारि फसेको कुकुर उद्धारको प्रयास भएको छ।
एनिमल नेपालले चुमनुब्री गाउँपालिकाको समन्वयमा कुकुर र बाख्राहरूको उद्धार प्रयास गरिरहेको छ।
सुरूमा हेलिकप्टरबाट उद्धार गर्न अनुमतिलगायत प्रक्रिया पूरा गरिएको थियो। तर मौसम प्रतिकूल भएपछि हेलिकप्टर उड्न सकेन।
त्यसपछि कुकुर र बाख्राहरूको उद्धारका लागि धादिङका राम सिलवालको नेतृत्वमा खटिएको कायकिङ तथा र्याफ्टिङ विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको एनिमल नेपालले जनाएको छ।
आइजी गोरखासँगको समन्वयमा पुगेको टोलीले सेती र बाख्राहरूलाई सुरक्षित स्थानमा ल्याउने उद्देश्यसहित उद्धार प्रयास सुरू गर्ने तयारी गरेको हो।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले मौसम प्रतिकूल हुँदा हेलिकप्टरबाट उद्धार गर्न नसकिएको बताए।
‘मौसमको कारण हेलिकप्टर तत्काल आउन सक्ने आवस्था नभएकोले धादिङस्थित राफ्टिङ कम्पनीका दक्ष चालकबाट आज कुकुर र बाख्राहरूको उद्धार तयारी गरिएको छ,’ उनले भने, ‘एनिमल नेपालले केही दिनदेखि निरन्तर उद्धारको लागि चुमनुब्री गाउँपालिकासँग समन्वय गरिरहेको छ।’
बाख्राहरू असोज २५ को बूढीगण्डकी बाढीपछि गोठ फर्कन सकेको थिएन।
ठाडो भर्याङका स्थानीय दयाराम कार्कीको कुकुर पनि विगत दुई सातादेखि बूढीगण्डकी टापुमा फसेको थियो भने उक्त कुकुर भोकै छ।
कुकुर धनी र स्थानीयहरूले कुकुर भएको ठाउँसम्म खाने कुरा पठाउने प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। त्यसपछि केही दिनदेखि कुकुर उद्धार प्रयास भइरहेको छ।