भुटानको उत्तरी जिल्ला गासामा आकस्मिक बाढी आएको छ।
सिन्ताफू हिमताल फुटेर बाढी आएको हुनसक्ने भुटानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
बाढीले सडक र चर्चित तातोपानी कुण्ड बगाएको छ।
बिहीबार साँझ आएको बाढीले पुनाखा–गासा सडकको एउटा खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि यातायात बन्द भएको डेली भुटानले जनाएको छ।
बाढी भारततर्फ पनि पुग्न सक्ने भएपछि पश्चिम बंगाल र आसामका नदी किनारका बस्तीलाई सतर्क रहन भनिएको छ।
डेली भुटानका अनुसार बिहीबार साँझ करिब ८ बजेर १५ मिनेटमा बाढीको पानी तक्त्सेमाखाङ क्षेत्रमा पुगेको थियो।
त्यसले लाया जाने सडकको केही भागमा क्षति पुर्याएको थियो। शुक्रबार बिहानसम्म प्राप्त विवरणअनुसार गासा त्साचु नामको तातोपानी कुण्ड पनि बाढीले बगाएको छ।
पुनाखा–गासा माध्यमिक राजमार्गको करिब ३१.८५ किलोमिटर बिन्दुमा सडक पूर्ण रूपमा बगेको छ।
सडकमा क्षति पुगेपछि उक्त खण्डमा यातायात बन्द गरिएको छ।
बाढीले अन्य भौतिक संरचनामा पनि क्षति पुर्याएको हुन सक्ने आशंका छ। तर, क्षतिको पूर्ण विवरण आइसकेको छैन।
बाढीबाट शुक्रबार बिहानसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन।
सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिममा रहेका क्षेत्रका मानिसलाई सचेत गराउन साइरनसमेत बजाइएको छ।
सिन्ताफु हिमतालबाट निस्किएको पानी मो छु नदीमा मिसिएर दक्षिणतर्फ बग्छ।
यो नदी गासा हुँदै पुनाखा पुग्छ। पुनाखामा फो छु नदीसँग मिसिएपछि पुनात्साङ्छु नदी बन्छ। यही नदी भारत प्रवेश गरेपछि सन्कोस नामले चिनिन्छ।
यसैले पश्चिम बंगाल र आसामका अधिकारीले नदी किनारका बस्तीलाई सतर्क गराएका छन्।
नदीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिसलाई नदी किनारबाट टाढा रहन र आवश्यक परे सुरक्षित स्थानमा जान भनिएको छ।
भारततर्फ बाढीले कति असर पार्छ भन्ने विवरण भने आइसकेको छैन।
सिन्ताफु हिमताल भुटानको लाया क्षेत्रस्थित वाकिला हिमाल नजिक पर्छ।
भुटानमा हिमताल फुटेर बाढी आउन सक्ने जोखिम भएका १७ वटा ताल पहिचान गरिएको छ। तीमध्ये कुन तालमा कस्तो जोखिम छ भनेर अध्ययन र निगरानी हुँदै आएको छ।
सन् २०२३ को मे र जुन महिनामा पनि सिन्ताफु क्षेत्रमा हिमतालको अवस्था अध्ययन गरिएको थियो।
त्यस क्रममा तालको आकार, वरिपरिको भूभाग, पानी थुनेर राखेको ढुंगा–माटोको बाँध र नजिकैको हिमनदीको अवस्था हेरिएको थियो।
तालको अवस्थाबारे जानकारी लिन निगरानी उपकरणसमेत जडान गरिएको थियो।
भुटानले केही जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन विभिन्न उपाय पनि अपनाउँदै आएको छ। थोरथोर्मी हिमतालमा पानीको सतह घटाउन पाइपमार्फत पानी बाहिर निकाल्ने व्यवस्था गरिएको छ।
सिन्ताफु हिमतालबाट पानी बाहिर निस्किनुको कारण, बाहिरिएको पानीको मात्रा र तालको अहिलेको अवस्था भने स्पष्ट भइसकेको छैन। यो हिमताल पूर्ण रूपमा फुटेको हो वा कुनै भागबाट पानी बाहिर निस्किएको मात्र हो भन्ने पनि पुष्टि भएको छैन।
त्यसैले थप बाढी आउने जोखिम र भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ। अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको डेली भुटानले जनाएको छ।