सम्पत्ति शुद्धीकरणसहित विभिन्न मुद्दामा थुनामा रहेका दीपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ।
शुक्रबार न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको हो।
भट्टका बुबा चतुर्भुजले आफ्ना छोरालाई गैरकानुनी रूपमा थुनामा राखेको बताउँदै असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
विशेष अदालत, उच्च अदालत पाटन, सरकारी वकिल लगायतलाई विपक्षी बनाएर रिट दायर गरिएको छ।
यसअघि असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
भट्टमाथि सम्पत्ति शुद्धीकरण, बिमा ऐनसम्बन्धी कसुर, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर र विदेशी विनिमय ऐनसम्बन्धी कसुर गरेको आरोप छ। उनीविरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागले छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए।
उनीविरूद्ध विशेष अदालत, उच्च अदालत र जिल्ला अदालत काठमाडौंमा छुट्टाछुट्टै मुद्दा दायर गरिएका छन्। भट्ट हाल सिन्धुपाल्चोक कारागारमा छन्। यसअघि उनलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरूवा गरिएको थियो।