नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले प्रेस स्वतन्त्रताप्रति संगठन प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार साँझ नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोले तीन जना पत्रकारलाई पक्राउ र अन्य मिडिया हाउसमा प्रवेश गरेको थियो।
यस घटनामा नेपाल प्रहरीको चौतर्फी आलोचना भएको छ। अहिले प्रहरीले नियन्त्रणमा लिएका तीनै जना पत्रकारलाई रिहा गरिसकेको छ।
तर उनीहरूलाई पक्राउ गर्नुको कारण र पक्राउ गर्न मिडिया हाउसको न्युजरूम सम्म पुगेको घटनाबारे प्रहरीले कुनै कारण खुलाएको थिएन।
केन्द्रीय प्रवक्ता एवं डिआइजी काफ्लेले पछिल्लो समय प्रकाशित भइरहेका समाचारहरूले गर्दा सरकार र प्रहरी संगठनबीच दुरी कायम भएको र त्यस्ता समाचारले गर्दा शान्ति सुरक्षामा समेत असर पर्ने हुँदा त्यसबारे छलफल गर्न बोलाइएको सेतोपाटीसँग बताए।
‘पछिल्लो समय प्रकाशित समाचारहरूले नेपाल प्रहरीको व्यावसायिकता र संगठनका विभिन्न दर्जाका कर्मचारीहरूको कार्यसम्पादनप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएको छ। यसले सरकार र प्रहरी संगठनबीचको सम्बन्धका विषयमा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो र ध्यानाकर्षण भएको हो,’ उनले भने।
त्यस्तै, उनले सत्यता र तथ्य जाँचमा ध्यान दिन भन्नका लागि ब्युरोले बोलाएको पनि दाबी गरे।
‘सरकार र प्रहरी संगठनबीचको सम्बन्ध राम्रो होस् र प्रहरीले आम नागरिकको सेवामा गर्दै आएको कार्यसम्पादनप्रति नकारात्मक सन्देश नजाओस् भन्ने हाम्रो चाहना हो। नेपाल प्रहरी चेन अफ कमान्ड र अनुशासनमा चल्ने संगठन हो। पछिल्लो समय निरन्तर आइरहेका यस्ता समाचारले आम नागरिकमा गलत सन्देश जाने र त्यसले शान्ति सुरक्षामै असर पार्न सक्ने भएकाले पनि हाम्रो ब्युरोले यस विषयमा बुझ्न खोजेको हो,’ उनले भने।
त्यस्तै उनले नेपाल प्रहरी प्रेस स्वतन्त्रताप्रति र प्रेसकर्मीका सुरक्षाका लागि सँधै प्रतिबद्ध रहेको पनि बताए।
‘नेपाल प्रहरीको प्रेसप्रति सदैव सकारात्मक भावना छ। प्रेस स्वतन्त्रता र प्रेसकर्मीको सुरक्षाका लागि नेपाल प्रहरी सधैँ कटिबद्ध र प्रतिबद्ध छ। यस विषयमा प्रहरीले इमानदारी र व्यावसायिकताका साथ काम गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ,’ उनले भने।
प्रहरीले समाचारको स्रोतबारे बुझ्न भन्दै नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको हो।
कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेर लगेका थिए। त्यसपछि उनलाई साइबर ब्युरोमा बुझाइएको थियो।
त्यस्तै, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरूमा 'इसेवा नम्बरको विषयमा बुझ्नुछ' भन्दै फोन गरिएको थियो।
सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका बस्नेतलाई त्यहीँ नियन्त्रणमा राखिएको थियो।
मोटिभेट न्युजका प्रधान सम्पादकलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
त्यसैगरी नयाँ पत्रिकाका पत्रकार नवराज मैनाली पक्राउ गर्न प्रहरी न्युजरूममा प्रवेश गरेको थियो।
दियो पोस्ट डटकमको अनामनगरस्थित कार्यालयमै पुगेर प्रधान सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रीता बुढाथोकीको खोजी गरिएको थियो।
यो विषय बाहिर आएपछि प्रधानमन्त्री कार्यालयले आफूहरूको संलग्नता नरहेको भन्दै प्रेस नोट जारी गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ एवं सल्लाहकार दीपा दाहालले यसबारे प्रधानमन्त्रीलाई थाहा नभएको भन्दै तत्काल रोक्न निर्देशन दिएको बताएकी थिइन्।
'पत्रकार पक्राउ परेको सम्बन्धमा प्रधानमन्त्रीज्यूको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालय संलग्न छैन। यसबारे कुनै पनि जानकारी हामीलाई प्राप्त भएको थिएन। यो घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइसक्नुभएको छ,' उनले सेतोपाटीसँग भनेकी थिइन्।