रोबोटिक सर्जरीलाई धेरैले रोबोटले आफै शल्यक्रिया गर्ने प्रविधिका रूपमा बुझ्छन्। तर वास्तविकता त्यस्तो होइन। यसमा शल्यक्रिया सर्जनले नै गर्छन्। रोबोटिक प्रणालीले सर्जनलाई शरीरभित्रका जटिल र संवेदनशील भागमा बढी स्पष्ट रूपमा हेर्न तथा सटिक ढंगले शल्यक्रिया गर्न सहयोग गर्छ।
रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमानसिंह गुरूङका अनुसार यो प्रविधि अमेरिकामा सन् २०००–२००१ तिरै सुरू भएको थियो। त्यसपछि शल्यक्रियाको परिणामसम्बन्धी अध्ययन र प्रमाणका आधारमा युरोपलगायत अन्य देशमा विस्तार हुँदै गयो। नेपालका लागि भने यो अझै नयाँ प्रविधि हो।
डा. गुरूङले बेलायत र अमेरिकामा २० वर्षभन्दा बढी काम गरेका छन्। बेलायत र अमेरिकामा गरेर युरोलोजी सम्बन्धी धेरै अध्ययन अनुसन्धान अनि पिएचडी गर्ने र काम गर्ने मौका पाएका गुरूङ रोबोटिक तथा युरो–सर्जन हुन्।
सन् २०११ देखि रोबोटिक सर्जरी गर्न थालेका उनले विभिन्न जेनरेसनका रोबोटिक प्रणाली प्रयोग गरिसकेका छन्। हाल चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत उनले नेपालमा पनि यो प्रविधिको प्रयोग विस्तार गर्ने प्रयास गरिरहेका छन्।
रोबोटले होइन, सर्जनले गर्छन् शल्यक्रिया
रोबोटिक सर्जरीलाई ‘रोबोट असिस्टेड सर्जरी’ अर्थात् रोबोटको सहयोगमा गरिने शल्यक्रिया भन्नु उपयुक्त हुने डा. गुरूङ बताउँछन्। यसमा बिरामीको शरीरमा साना प्वाल बनाएर रोबोटिक उपकरण राखिन्छ।
ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको सट्टा साना प्वालबाटै काम गर्न सकिने भएकाले यसलाई न्यून चिरफारमा आधारित शल्यक्रिया मानिन्छ। ल्याप्रोस्कोपिक शल्यक्रियामा पनि साना प्वाल प्रयोग हुन्छन्। तर रोबोटिक प्रविधिमा कम्प्युटर प्रणालीको सहयोगले उपकरणलाई अझ सटिक रूपमा चलाउन सकिन्छ।
यसको अर्को विशेषता शरीरभित्रको भागलाई सामान्यभन्दा कम्तीमा १० गुणासम्म ठूलो बनाएर तीन आयाममा स्पष्ट देख्न सकिने दृश्य प्रणाली हो। क्यामेरालाई आफूले चाहेको दिशामा घुमाउन सकिने भएकाले शल्यक्रिया गर्नुपर्ने ठाउँ, नसाहरू र वरिपरिका तन्तु छुट्ट्याउन सजिलो हुन्छ।
विशेषगरी प्रोस्टेट क्यान्सरजस्ता जटिल शल्यक्रियामा क्यान्सर भएको भाग निकाल्दै स्वस्थ तन्तु र नसालाई जोगाउनु महत्त्वपूर्ण हुन्छ। यसले क्यान्सर उपचारको परिणामसँगै शल्यक्रियापछि पिसाब चुहिने वा अन्य कार्यगत समस्या हुने जोखिम कम गर्न सहयोग गर्न सक्छ।
जटिल शल्यक्रियामा बढी उपयोगी
रोबोटिक सर्जरीको मुख्य उपयोग जटिल शल्यक्रियामा देखिएको डा. गुरूङ बताउँछन्।
'शल्यक्रियाको परिणाम मूल्यांकन गर्दा क्यान्सर पूर्ण रूपमा निकाल्न सकियो कि सकिएन, पछि फेरि क्यान्सर देखियो कि देखिएन, बिरामीलाई कस्ता जटिलता आए र उनीहरू कति छिटो सामान्य जीवनमा फर्किए भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,' उनले भने, 'रोबोटिक प्रविधिबाट गरिने उपयुक्त शल्यक्रियामा अस्पताल बसाइ छोटो हुन, घाउ सानो हुन, संक्रमणको जोखिम कम हुन र बिरामी चाँडो निको हुन सहयोग पुग्न सक्छ।'
जटिलता कम हुँदा दोहोर्याएर शल्यक्रिया गर्नुपर्ने सम्भावना र उपचारको समग्र खर्च पनि घट्न सक्ने उनको भनाइ छ।
यद्यपि, सबै शल्यक्रियामा रोबोटिक प्रविधि आवश्यक हुँदैन। उदाहरणका लागि, सामान्य अवस्थामा पित्तथैली निकाल्न ल्याप्रोस्कोपिक शल्यक्रिया नै पर्याप्त हुन्छ। रोबोटिक प्रविधि महँगो हुने भएकाले बिरामीलाई वास्तविक लाभ हुने जटिल शल्यक्रियामा यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने डा. गुरूङको धारणा छ।
नेपालमा हाल काठमाडौंको बिएनबी अस्पताल र चितवन मेडिकल कलेजमा रोबोटिक प्रणाली रहेको उनले बताएका छन्। सिएमसीमा युरो सर्जरीसँगै जनरल सर्जरी र स्त्रीरोगसम्बन्धी शल्यक्रिया पनि भइरहेको छ। कुराकानीका क्रममा उनले सिएमसीमा एक वर्षभित्र करिब ५३ वटा रोबोटिक शल्यक्रिया भएको र तीमध्ये झन्डै ४० वटा आफूले गरेको बताए।
प्रोस्टेट क्यान्सरमा किन महत्त्वपूर्ण?
प्रोस्टेट पुरूषको पिसाबथैलीमुनि रहेको ग्रन्थी हो। यसले प्रजनन प्रक्रियामा आवश्यक तरल पदार्थ उत्पादन गर्छ। उमेर बढ्दै जाँदा प्रोस्टेटको आकार बढ्न सक्छ। तर प्रोस्टेट बढ्नु र प्रोस्टेट क्यान्सर हुनु फरक कुरा हुन्।
'प्रोस्टेट बढेका धेरै व्यक्तिमा पिसाबको धारा कमजोर हुने, राति पटकपटक पिसाब फेर्न उठ्नुपर्ने वा दिनमा बारम्बार पिसाब लाग्ने समस्या देखिन सक्छ,' उनले भने, 'यस्तो समस्या हुँदैमा क्यान्सर भएको निष्कर्ष निकाल्न मिल्दैन। उमेरसँगै हुने सामान्य प्रोस्टेट वृद्धिका कारण पनि यस्ता लक्षण देखिन सक्छन्।'
प्रोस्टेट क्यान्सरको प्रारम्भिक अवस्थामा भने कुनै लक्षण नदेखिन पनि सक्छ। रोग फैलिएको अवस्थामा ढाड, छाती वा अन्य हड्डीमा दुखाइ हुन सक्छ। त्यसैले लक्षण देखिएपछि मात्र जाँच गर्नेभन्दा जोखिमका आधारमा समयमै परीक्षणबारे चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ।
प्रोस्टेट क्यान्सरमा आनुवंशिक तथा वातावरणीय पक्ष दुवैको भूमिका हुन सक्छ। परिवारका सदस्यमा कम उमेरमै प्रोस्टेट क्यान्सर भएको इतिहास छ भने विशेष सतर्कता आवश्यक हुन्छ। यस्तो पारिवारिक इतिहास भएका व्यक्तिले ४० वर्षपछि नै परीक्षणबारे युरोलोजिस्टसँग छलफल गर्नुपर्ने उनको सुझाव छ। अन्य व्यक्तिमा परीक्षण सुरू गर्ने उमेरबारे विभिन्न निर्देशिका रहेकाले चिकित्सकसँग परामर्श गरेर निर्णय गर्न सकिन्छ।
प्रोस्टेट क्यान्सरको शंका हुँदा रगतमा प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पिएसए) परीक्षण गरिन्छ। यसको नतिजा असामान्य देखिएमा आवश्यकताअनुसार पुनः परीक्षण, एमआरआई र बायोप्सी गर्न सकिन्छ। बायोप्सीबाट क्यान्सर पुष्टि भएपछि त्यसको अवस्था र जोखिमअनुसार उपचार तय गरिन्छ।
सबै प्रोस्टेट क्यान्सरमा तुरून्तै शल्यक्रिया गर्नुपर्छ भन्ने छैन। कम जोखिम भएको क्यान्सरमा नियमित परीक्षण, एमआरआई र आवश्यकताअनुसार बायोप्सी गर्दै निगरानीमा राख्न सकिन्छ। यसलाई ‘एक्टिभ सर्भिलेन्स’ भनिन्छ। जोखिम बढी भएमा शल्यक्रिया वा रेडियोथेरापीजस्ता उपचार आवश्यक हुन सक्छन्। क्यान्सर अन्य अंगमा फैलिएको अवस्थामा भने उपचारको योजना फरक हुन्छ।
मिर्गौला नफाली क्यान्सर निकाल्न सकिन्छ
रोबोटिक सर्जरीको अर्को महत्त्वपूर्ण उपयोग मिर्गौलाको क्यान्सरमा छ। पहिले मिर्गौलामा ट्युमर देखिँदा कतिपय अवस्थामा पूरै मिर्गौला निकाल्नुपर्ने हुन्थ्यो। तर अहिले सम्भव भएका अवस्थामा क्यान्सर भएको भाग मात्र निकालेर बाँकी मिर्गौला जोगाउन सकिन्छ।
रोबोटिक प्रविधिले ट्युमर र स्वस्थ तन्तु छुट्याउन तथा मिर्गौलाको बाँकी भागलाई सटीक रूपमा सिलाउन सहयोग गर्छ। उनले सिएमसीमा पाँच–छ सेन्टिमिटरसम्मका ट्युमर निकालेर मिर्गौला जोगाएको उदाहरण रहेको बताएका छन्। यद्यपि, सबै ट्युमरमा मिर्गौला जोगाउन सम्भव हुँदैन। क्यान्सरको स्थान र फैलावटका आधारमा निर्णय गर्नुपर्ने उनको भनाइ छ।
मिर्गौलाबाट पिसाब तल ल्याउने नली साँघुरिएको अवस्थामा त्यसलाई काटेर पुनः जोड्ने ‘पाइलोप्लास्टी’ पनि रोबोटिक प्रविधिबाट गर्न सकिन्छ। विशेषगरी युवा बिरामीमा देखिने यस्तो समस्याको उचित उपचार नभएमा समयसँगै मिर्गौलाको कार्यक्षमता बिग्रन सक्छ। पिसाबको थैली र पिसाब नलीसम्बन्धी जटिल शल्यक्रियामा पनि रोबोटिक प्रविधि उपयोगी हुन सक्छ।
मिर्गौला प्रत्यारोपण गर्दा पुरानो मिर्गौला निकाल्नैपर्छ?
मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको पुरानो मिर्गौला अनिवार्य रूपमा निकाल्नुपर्छ भन्ने हुँदैन। डा. गुरूङका अनुसार उच्च रक्तचाप वा मधुमेहजस्ता कारणले दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेका धेरै बिरामीको पुरानो मिर्गौला शरीरमै छाडिन्छ।
तर पुरानो मिर्गौलामा बारम्बार संक्रमण हुने, पत्थरीका कारण समस्या भइरहने, पिसाब जम्ने वा क्यान्सरको शंका हुने अवस्था छ भने त्यसलाई निकाल्नुपर्ने हुन सक्छ। प्रत्यारोपणअघि पुरानो मिर्गौला निकाल्ने वा ननिकाल्ने निर्णय बिरामीको अवस्थाअनुसार गरिन्छ।
महँगो प्रविधि नेपालमा कसरी विस्तार गर्ने?
रोबोटिक सर्जरीका लागि आवश्यक प्रणालीको मूल्य करोडौँ रुपैयाँ पर्ने डा. गुरूङ बताउँछन्। त्यसैले नेपालजस्तो देशमा यसको प्रयोग विस्तार गर्दा खर्च र बिरामीलाई हुने लाभ दुवैलाई ध्यान दिनुपर्छ। सामान्य शल्यक्रियामा अनावश्यक रूपमा महँगो प्रविधि प्रयोग गर्नुभन्दा जटिल शल्यक्रियामा यसको उपयोग बढाउनु उपयुक्त हुने उनको धारणा छ।
बेलायतमा काम गर्दा उनले सुरूमा प्रोस्टेट क्यान्सरको शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोग बढी देखेका थिए। पछि यसको उपयोगिता प्रमाणित हुँदै गएपछि मिर्गौला, पिसाबथैली, जनरल सर्जरी र स्त्रीरोगसम्बन्धी शल्यक्रियामा पनि यसको प्रयोग विस्तार भएको उनले बताए।
नेपाल फर्किएर नयाँ प्रविधि विस्तार गर्ने चाहना
बेलायत र अमेरिकामा लामो समय काम गरेका डा. गुरूङ नेपाल फर्किनुको एउटा प्रमुख कारण परिवार पनि हो। उनका बुबाआमा वृद्ध हुँदै गएको र बुबाको स्वास्थ्यसम्बन्धी समस्या रहेकाले नेपाल फर्किने निर्णय गर्न सजिलो भएको उनले बताए।
त्यससँगै, आफूले विदेशमा सिकेको रोबोटिक सर्जरीको सीप नेपालमा उपयोग गर्ने चाहना पनि थियो। नेपालमा यो प्रविधि विस्तार गर्न, अन्य सर्जनलाई सिकाउन र बिरामीलाई आधुनिक उपचारको अवसर दिन सकिने भएकाले आफूले व्यक्तिगत सन्तुष्टि पाएको उनको भनाइ छ।
उनले युरोलोजीका सहकर्मी, जनरल सर्जन र स्त्रीरोग विशेषज्ञलाई रोबोटिक प्रविधिबारे सिकाउने तथा शैक्षिक कार्यक्रममार्फत यसको जानकारी फैलाउने काम गरिरहेका छन्।
उनका अनुसार नेपालमा रोबोटिक सर्जरी विस्तार गर्न समय लाग्नेछ। तर जटिल शल्यक्रियामा बिरामीलाई हुने लाभ, उपचारको परिणाम र स्वास्थ्य प्रणालीमा पर्ने समग्र प्रभावलाई ध्यान दिएर यसको प्रयोग बढाउन सकिन्छ।