बिहीबार रातिदेखि परेको पानीले शनिबार बिहानसम्म देशका अधिकांश भूभाग भिजाएको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा रातभर वर्षा भयो। बिहान पनि केही समय पानी पर्ने र रोकिने क्रम चलिरह्यो।
बंगालको खाडीमा बनेको अर्नब चक्रवात भारतको जमिनमा प्रवेश गरेपछि कमजोर भएको थियो। तर त्यसको अवशेष र जलवाष्प नेपाल नजिक आइपुग्दा बिहीबार रातिदेखि देशका धेरै ठाउँमा वर्षा भएको हो।
अब भने झरी क्रमशः रोकिने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार दिउँसो २–३ बजेपछि वर्षा कम हुँदै जानेछ। साँझसम्म धेरैजसो ठाउँमा वर्षाको प्रभाव घट्ने उनको अनुमान छ।
अहिले सबै ठाउँमा उस्तै वर्षा भइरहेको छैन। सुदूरपश्चिमका तराई र पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराईमा वर्षा निकै कम भइसकेको छ। मध्यपश्चिमका केही ठाउँमा मात्रै छिटपुट पानी परेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा कर्णालीका पहाडी र हिमाली क्षेत्रमा भने वर्षा भइरहेको छ।
'बिहान केही समय पानी पर्ने छ र बिस्तारै दिउँसोपछि कम हुँदै जाने हुन्छ,' लामिछानेले भने, 'दुई–तीन बजेपछि क्रमिक रूपमा कम हुँदै जान्छ। काठमाडौं आसपास पनि वर्षा कम हुँदै जाने अनुमान छ। साँझसम्ममा यसको प्रभाव कम नै हुने देखिन्छ।'
पछिल्लो चौबीस घण्टामा मनाङको तालमा सबैभन्दा धेरै १२२ मिलिमिटर वर्षा मापन भएको छ। मनाङकै तिल्चेमा ६६.२ मिलिमिटर पानी परेको छ।
त्यस्तै लमजुङको भुजुङमा ८९.२, तनहुँको दमौलीमा ८३.४, गोरखाको सखरमा ८८.८ र चितवनको भरतपुरमा ८४.८ मिलिमिटर वर्षा भएको छ। नवलपुरको दमकौलीमा ८४.२ र देउरालीमा ९०.४ तथा पर्साको ठोरीमा ७५.८ मिलिमिटर वर्षा मापन भएको छ।
काठमाडौं उपत्यकाका बबरमहलमा ५१.२ र गोदावरीमा ५३ मिलिमिटर वर्षा भएको छ। बिहान काठमाडौंमा पानी पर्ने क्रम बढेको थियो। अहिले भने पानी पर्ने र रोकिने भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार पछिल्लो एक घण्टामा कोशी प्रदेशका पूर्वी भूभाग, लुम्बिनीको तराई र सुदूरपश्चिमका पश्चिमी क्षेत्रमा वर्षा लगभग रोकिएको छ।
केही ठाउँमा छिटपुट पानी परेको छ। कोशीका पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशमा भने पानी परिरहेको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ३६ घन्टाभन्दा बढी समयदेखि झरी परिरहेको बताएका छन्। शनिबार दिउँसोपछि वर्षा कम हुँदै जाने उनी बताउँछन्।
उनका अनुसार दिउँसो १–२ बजेसम्म देशका धेरै ठाउँमा पानी पर्नेछ। काठमाडौंमा पनि करिब २ बजेसम्म वर्षा हुने उनको पूर्वानुमान छ।
'आज दिउँसो १–२ बजेसम्म धेरै ठाउँमा वर्षा जारी रहने देखिन्छ। काठमाडौंमा पनि करिब २ बजेसम्म पानी परिरहने पूर्वानुमान छ,' पोखरेलले भने, 'त्यसपछि क्रमशः कम हुने आशा गरौँ। ठाउँअनुसार वर्षा रोकिने समय केही अघि–पछि हुन सक्छ।'
आइतबारदेखि भने मौसम खुलेर घाम लाग्ने सम्भावना रहेको मौसमविद लामिछानेले बताए।