डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको पहिचान खुलेको छ।
उनीहरू चोरी र जबर्जस्ती करणी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।
स्थानीय प्रहरी प्रशासन स्रोतका अनुसार चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी पनि भागेका छन्।
त्यस्तै, रूकुम पश्चिमकै आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय र वडा नम्बर ४ का २८ वर्षीय हरिबहादुर बुढा भागेका छन्।
जेलर आरसीका अनुसार भाग्नेमा जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन्। तीमध्ये चोरी मुद्दामा पक्राउ परेका दुई जना झन्डै तीन महिनाअघि मात्रै कारागार ल्याइएका थिए। उनीहरू पुर्पक्षका लागि थुनामा थिए।
कैदीबन्दीले सुत्ने कोठाबाट शौचालयको सेफ्टी ट्यांकीसम्म र त्यहाँबाट बाहिर निस्कने गरी सुरूङ खनेका थिए। सुत्ने कोठा कच्ची भएकाले त्यहाँबाट माटो खन्दै सुरूङ बनाउन सहज भएको जेलर आरसीले बताए।
‘सुत्ने कोठा पनि कच्ची थियो,’ उनले भने, ‘माटो भएको ठाउँबाट सुत्ने कोठा हुँदै सेफ्टी ट्यांकीसम्म र त्यहाँबाट बाहिर निस्कने गरी झन्डै चार मिटर लामो सुरूङ खनेको देखिएको छ।’
सुरूङको नापजाँच गरेर रिपोर्ट तयार पार्ने काम भइरहेको पनि उनले बताए।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शुक्रबार बेलुकी साढे ५ बजेतिर कैदीबन्दीको गणना गर्दा सबै उपस्थित थिए। तर शनिबार बिहान ६ बजेपछि गणना गर्दा आठ जना फेला परेनन्। त्यसपछि उनीहरू मध्यरातपछि सुरूङ खनेर भागेको अनुमान गरिएको उनले बताइन्।
‘सुरूङको अवस्था हेर्दा सानो तिनो नभई बेल्चा वा फरूवा जस्ता वस्तुले खनेको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘खनिएको सुरूङ र घटनास्थलको मुचुल्का तयार पार्न प्रहरी खटिएको छ।’
प्रजिअ ढकालका अनुसार उनीसहित जिल्ला प्रहरी प्रमुख र अन्य अधिकारी भागेका कैदीबन्दीको खोजीमा खटिएका छन्। उनले उनीहरूलाई छिट्टै पक्राउ गर्ने आशा व्यक्त गरिन्।
कारागारबाट आठ जना भागेपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुरूङ खन्न प्रयोग गरिएका औजार कहाँबाट ल्याइयो र कारागार प्रशासनले त्यसबारे कसरी थाहा पाएन भन्ने विषय पनि अनुसन्धानको दायरामा छ।