डोल्पामा आठ जना कैदीबन्दी चार मिटर लामो सुरूङ खनेर भागेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार प्रारम्भिक अवलोकन गर्दा कैदीबन्दी सुत्ने ठाउँदेखि करिब चार मिटर पर्खालबाहिरसम्म सुरूङ खनेर उनीहरू भागेको देखिएको छ।
भाग्नेमा दुई जना पुर्पक्षका लागि थुनामा रहेका र अन्य ६ जना कैदी रहेको खुलेको डिएसपी गिरीले बताए।
‘सुरूङ खनेर भागेकाहरूको खोजतलासमा प्रहरी सक्रिय छ,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि बताउने छौं।’
जिल्ला कारागार डोल्पाका प्रमुख जेलर दीर्घ आरसी छन्। यति लामो सुरूङ खन्दासम्म पनि जेलर र कारागार प्रशासनले किन थाहा पाएन भन्ने विषयमा अनुसन्धान भइरहेको स्रोतले बताएको छ।
‘फिल्मी शैलीमा सुरूङ खनेर कैदीबन्दी भाग्दासम्म किन कारागार प्रशासनले अत्तोपत्तो पाएन?’ अर्का एक अधिकारीले भने, ‘त्यसमा कसकसको मिलेमतो छ भन्ने कुरा अनुसन्धानपछि भनौंला।’
कारागारमा कुल १७ जना कैदी रहेको खुलेको छ।
जिल्ला कारागारका जेलर आरसीका अनुसार सुरुङ खनेर भाग्नेमा जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन्। तीमध्ये चोरी मुद्दामा पक्राउ परेका दुई जना झन्डै तीन महिनाअघि मात्रै कारागार ल्याइएका थिए। उनीहरू पुर्पक्षका लागि थुनामा थिए।
जेलर आरसीका अनुसार कैदीबन्दीले सुत्ने कोठाबाट शौचालयको सेफ्टी ट्यांकीसम्म र त्यहाँबाट बाहिर निस्कने गरी सुरुङ खनेका थिए।
‘सुत्ने कोठा पनि कच्ची थियो,’ उनले भने, ‘माटो भएको ठाउँबाट सुत्ने कोठा हुँदै सेफ्टी ट्यांकीसम्म र त्यहाँबाट बाहिर निस्कने गरी झन्डै चार मिटर लामो सुरुङ खनेको देखिएको छ।’
सुरुङको नापजाँच गरेर रिपोर्ट तयार पार्ने काम भइरहेको पनि उनले बताए।
जेलर आरसीका अनुसार शनिबार बिहान सवा ६ बजेतिर चेकजाँच गर्ने क्रममा मात्रै कैदीबन्दी सुरुङ खनेर भागिसकेको पत्ता लागेको थियो।
यस विषयमा बुझ्न पटकपटक फोन सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल भने सम्पर्कमा आइनन्।
प्रहरी प्रशासनले सुरुङ खनेर भागेका आठै जनाको पहिचान भने गोप्य राखेको छ।