अमेरिकाले इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित केन्द्र, उपकरण र त्यसमा संलग्न व्यक्तिबारे सूचना दिनेलाई पुरस्कार दिने जनाएको हो।
सूचना दिने व्यक्तिलाई आवश्यक परे सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने प्रस्ताव पनि अमेरिकाले गरेको बिबिसीले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सुरक्षा दायित्व पूरा नगरेका कारण उसको आणविक गतिविधिबारे निगरानी र जानकारीमा पहुँच कायम गर्न कठिन भएको जनाएको छ।
मन्त्रालयका अनुसार यसले इरानमा आणविक सामग्री उत्पादन र भण्डारणको अवस्था बुझ्न समस्या सिर्जना गरेको छ।
विशेषगरी युरेनियम प्रशोधनका लागि आवश्यक सेन्ट्रिफ्युजको उत्पादन र भण्डारणबारे जानकारी गुम्दै गएको भनिएको छ।
सेन्ट्रिफ्युजबाट प्रशोधित युरेनियम आणविक ऊर्जा उत्पादनमा प्रयोग हुन सक्छ।
तर, त्यसलाई करिब ९० प्रतिशत वा त्यसभन्दा बढी शुद्धतामा प्रशोधन गरे आणविक हतियार बनाउन पनि सकिन्छ।
अमेरिकाको यो घोषणा इरानमाथि सैन्य र आर्थिक दबाब बढाइरहेका बेला आएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अमेरिका र इजरायलले गरेको बम आक्रमणपछि इरानका आणविक केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए।
तर, पछिल्लो समय इरानको आणविक कार्यक्रमसँग जोडिएका गतिविधिबारे अमेरिकाले फेरि सूचना संकलन तीव्र बनाएको छ।
यसैबीच अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानको सीमापार हतियार तथा प्रतिबन्धित सामग्री ओसारपसार रोक्न नयाँ कार्यदल गठन गर्ने जनाएको छ।
‘टास्क फोर्स आइरन गेट’ नाम दिइएको उक्त कार्यदलले फ्लोरिडाको टम्पाबाट काम गर्नेछ। यसले अमेरिकी सरकारका अन्य निकायसँग मिलेर हतियार, दोहोरो प्रयोजनमा प्रयोग हुन सक्ने सामग्री र गैरकानुनी आम्दानीका स्रोत नियन्त्रणमा काम गर्ने सेन्टकमले जनाएको छ।
सेन्टकमका अनुसार इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानले २५ अर्ब डलरभन्दा बढी मूल्यको कच्चा तेल निर्यात गर्न पाएको छैन।
इरानमाथि थप सैन्य आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा पनि अमेरिकी प्रशासनभित्र बहस जारी छ।
मध्यावधि निर्वाचनअघि ट्रम्पले इरानमाथि तत्काल थप आक्रमण गर्ने हतारो नरहेको बताएका थिए।
तर, निर्वाचनको अघिल्लो दिन फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानको आणविक कार्यक्रमसँग जोडिएको भूमिगत केन्द्र ‘पिक्याक्स माउन्टेन’ मा आक्रमण गर्नुपर्ने हुन सक्ने बताएका थिए। उक्त आक्रमण एक घण्टामै गर्न सकिने उनको भनाइ थियो।
यसअघि पनि ट्रम्पले उक्त भूमिगत केन्द्रमा बम आक्रमण गर्ने चेतावनी दिँदै आएका थिए। तर, इरान युद्धप्रति अमेरिकी जनताको असन्तुष्टिले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले स्वीकार गरेका छन्। त्यसैले युद्ध थप चर्काउने अमेरिकी प्रशासनको योजनामा पुनर्विचार हुन सक्ने अनुमान गरिएको छ।
शुक्रबार ट्रम्पले इरान युद्ध अन्त्य गर्न वार्ता भइरहेको र तेहरान सम्झौता गर्न निकै इच्छुक रहेको दाबी गरेका थिए।
‘हामी उनीहरूसँग अहिले वार्ता गरिरहेका छौँ। उनीहरू सम्झौता गर्न निकै चाहन्छन्,’ उनले भने।
कतारको विदेश मन्त्रालयका प्रवक्ताले पनि मंगलबार अमेरिका र इरान दुवै पक्षले आफूहरूले प्रस्तुत गरेका प्रस्ताव तथा विकल्पमाथि समीक्षा गरिरहेको बताएका थिए। उनले सम्झौता हुनेमा आशावादी रहेको बताएका थिए।
यसअघि इरानी वार्ताकारहरूले मध्यस्थकर्तासँग अमेरिकी पक्षले आफ्ना सात सर्त पूरा गरेमा ४८ घण्टाभित्र होर्मुज जलमार्ग पुनः खोल्ने प्रस्तावबारे छलफल गरेका थिए।
अमेरिका र इरानबीच गत जुनमा युद्ध अन्त्य गर्ने र हर्मुज जलमार्ग खोल्ने प्रारम्भिक सहमति भएको थियो।
तर, इरानले पानीजहाजमाथि पुनः आक्रमण गरेपछि र अमेरिकाले नाकाबन्दी कायम गरेपछि केही सातामै उक्त सहमति भंग भएको थियो।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्रै भएको र आणविक हतियार बनाउने कुनै योजना नरहेको बताउँदै आएको छ।