दैलेखमा बिरामी बोकेको गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान साढे ५ बजेतिर कालिकोटबाट विष सेवन गरेका बिरामीलाई अक्सिजनसहित सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको गाडी दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका सान्नीत्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते सार्कीलाई बिहान करिब ९ बजे सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका–७ का चालक २२ वर्षीय योगेश सिंखडा, २१ वर्षीय तपेन्द्र सिंखडा, १८ वर्षीया गंगा सार्की, सान्नीत्रिवेणी–६ का ३६ वर्षीय जादुकाल सार्की र बिरामी २७ वर्षीया कैसी सार्की घाइते भएका छन्।
दुर्घटनापछि चालक योगेशको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
तल्लो डुंगेश्वर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ललित रावलको नेतृत्वमा खटिएको पाँच जनाको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।