छिमेकीले शरीरमा पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएका दाङका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
राजपुर गाउँपालिका–२ मटेरियाका ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान ६ बजेतिर बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार शनिबार दिउँसो सवा २ बजेतिर राजपुर गाउँपालिका–२ बेलाको खाल गैरा खेलमैदानमा मदिरा सेवनपछि छिमेकी ३८ वर्षीय त्रिलोकसिंह कार्कीले चौधरीको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए।
चौधरीको शरीरको ८५ प्रतिशत भाग जलेको थियो। गम्भीर घाइते उनलाई सुरुमा लमही अस्पताल लगिएको थियो।
त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार घटनापछि फरार भएका कार्कीलाई प्रहरीले केही बेरमै लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार कार्की र चौधरीले खेल मैदानमै सँगै बसेर मदिरा सेवन गरेका थिए। त्यसक्रममा सामान्य विवाद भएपछि कार्कीले मोटरसाइकलमा राख्न बोतलमा ल्याएको पेट्रोल चौधरीको शरीरमा छर्केर लाइटरले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आगो लगाएर कार्की भागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी तत्काल घटनास्थल पुगे पनि एम्बुलेन्स आउन ढिलाइ हुँदा चौधरीलाई करिब २० मिनेटपछि मात्र लमही अस्पताल पठाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए।
स्थानीयले दुवै जनाले राजमार्गनजिकैको खुला चौरमा मदिरा सेवन गरेको र सामान्य भनाभनका क्रममा कार्कीले चौधरीमाथि पेट्रोल छर्केर आगो लगाएको देखेका थिए।
प्रहरी निरीक्षक बुढाथोकीका अनुसार प्रारम्भिक बयानमा कार्कीले आफूलाई ठूलो कुरा गरेको सहन नसकेर आगो लगाएको बताएका छन्।
‘म जमिनदारसँग रैतिले ठूलो कुरा गरेपछि मैले सहन सकिनँ,’ कार्कीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक बुढाथोकीले भने।
कार्कीलाई आइतबार म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ। म्याद थपपछि घटनाको थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार कार्की काठमाडौंमा सवारीचालकका रूपमा काम गर्थे। उनी तिहार मनाउन गाउँ आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनकी श्रीमतीले छाडेको र बुवाआमाको निधन भइसकेको खुलेको प्रहरीले जनाएको छ।