दाङको घोराहीमा शनिबार बेलुकी दुई जुवाखालमा एकै साथ प्रहरीले कारबाही चलाउँदा १७ जनालाई पक्राउ गरेको छ।
ती जुवाखालबाट ५ लाख रूपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ बिदामा रहेको समयमा डिएसपी हेमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरूमा साढे ५ बजेतिर घोराही उपमहानगरपालिका–१८, नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा छापा मारेको थियो।
त्यहाँ जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको हो।
त्यहाँबाट प्रहरीले घोराही–१४, स्वर्गद्वारी टोलका ४८ वर्षीय नवलसिंह डाँगी, घोराही–१३, डुमरगाउँका ४३ वर्षीय निमबहादुर भण्डारी र सोही ठाउँका ४३ वर्षीय तुलबहादुर खड्का, घोराही–१४, जनचेतना टोलका ३५ वर्षीय रामकृष्ण खड्का, घोराही–१८ का ४७ वर्षीय बसन्त बुढाथोकी (घरधनी), घोराही–१४ का ४० वर्षीय यदुनाथ पाण्डे, घोराही–१० का ४० वर्षीय हिमराज केसी, घोराही–१४ का ३५ वर्षीय निमेश भण्डारी र सोही वडाको नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढालाई पक्राउ गरेको छ।
यो जुवाखालबाट ४ लाख ८ हजार १२० रूपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्ला प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिएका छन्।
त्यस्तै, त्यसको आधा घन्टाको अन्तरालमा घोराही–१५, जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको थियो। त्यहाँबाट प्रहरीले डाँगीसहित ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा घोराही–१५, जानकी टोलका ६० वर्षीय केशरबहादुर पछाई, ६४ वर्षीय लुमासिंह बस्नेत, ६५ वर्षीय निमबहादुर पुन र ५२ वर्षीय गिरीराज केसी, घोराही–१४ का ५३ वर्षीय ओबिन्द्र महरा, घोराही–१६ का ४७ वर्षीय तारा डाँगी र रोल्पाको रून्टीगढी गाउँपालिका–५ का ३९ वर्षीय हिरालाल रावत रछन्।
डाँगीको घरबाट १ लाख ४ हजार ५८० रूपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
यी दुई स्थानमा गरिएको जुवा कारबाहीबाट प्रहरीले कुल ५ लाख १२ हजार ७०० रूपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखेर आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।