उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्न सके कम उत्पादन दिने जमिनबाट समेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ।
देशका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो रहने र परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी लिन नसकिरहेको अवस्थामा उनले बालुवा र ढुङ्गाले भरिएको बगरलाई व्यावसायिक कृषि उद्यमको आधार बनाएका छन्।
चारैतिर बालुवा नै बालुवा। न मलिलो माटो, न पर्याप्त पानीको सुविधा। सामान्यतया खेती गर्न कठिन मानिने तमोर नदीको बगरमा अहिले हरियाली छाएको छ। लहरै फैलिएका ड्रागन फ्रुटका बोट, कतै फलले भरिन थालेका बिरुवा त कतै नयाँ बालीका लागि तयार पारिएका संरचना छन्। कुनै बेला खेतीका लागि अनुपयुक्त मानिने यही जमिन अहिले आम्दानीको स्रोत बनेको छ।
परम्परागत सोचभन्दा फरक ढङ्गले खेती गर्ने योजना बनाएका भण्डारीले तीन वर्षअघि तमोर नदीको बगरमा ड्रागन फ्रुट खेती सुरु गरेका थिए। सुरुमा करिब पाँच रोपनी क्षेत्रफलमा ३०० बिरुवा लगाएर खेती थालेको उनले बताए। सुक्खा तथा बलौटे जमिनमा पनि उत्पादन लिन सकिने सम्भावना देखेपछि यो खेती रोजेको उनको भनाइ छ।
सुरुआतमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैको चुनौती थियो। तर उत्पादन हुन थालेपछि बजारमा माग देखियो। ड्रागन फ्रुटको मूल्य पनि राम्रो पाएपछि उनले खेती विस्तार गर्दै लगे। अहिले ड्रागन फ्रुट खेती करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको छ।
एउटै बालीमा निर्भर हुँदा जोखिम बढी हुने र वर्षभरि नियमित आम्दानी गर्न कठिन हुने भएकाले उनले जमिनको प्रकृति तथा हावापानीअनुसार विभिन्न फलफूल र तरकारी खेती पनि विस्तार गरेका छन्।
हाल उनले करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर लगाएका छन्। त्यस्तै, करिब १५ रोपनी क्षेत्रमा स्थानीय मालभोग जातको केरा खेती गरेका छन्। यस वर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएका छन्। त्यसैगरी म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत गरेका छन्। बगरको जमिनदेखि माथिल्लो भागसम्म उपलब्ध क्षेत्र उपयोग गर्दै उनी विभिन्न बालीको सम्भावना परीक्षण गरिरहेका छन्।
ड्रागन फ्रुटले दिलायो कृषिमा लाग्ने प्रेरणा
भण्डारीका लागि ड्रागन फ्रुट खेती व्यावसायिक कृषिको पहिलो खुड्किलो बनेको छ। सुरुमा नयाँ बालीका रूपमा लगाइएको ड्रागन फ्रुट अहिले आम्दानीको महत्त्वपूर्ण आधार बनेको उनको भनाइ छ।
उनका अनुसार उत्पादन सुरु हुँदा ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो। अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको छ।
उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारी खेतीस्थलमै आउने गरेका छन्। यसले बजार खोज्दै विभिन्न स्थानमा पुग्नुपर्ने झन्झटसमेत कम गरेको छ। उत्पादनको गुणस्तर र मागका कारण बगानमै आएर फल खरिद गर्ने ग्राहक बढेको उनले बताए। ड्रागन फ्रुटको बजार सम्भावना देखेपछि नै अन्य फलफूल तथा तरकारी खेतीमा समेत लगानी बढाएको उनको भनाइ छ।
धनकुटामा पछिल्लो समय सुक्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ। परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रूपमा ड्रागन फ्रुटलाई लिन थालेका छन्।
जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिने सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको छ। विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरिएको र अहिले किसानलाई आवश्यकताअनुसार विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए। उनले चालु आर्थिक वर्षबाट अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
बाली विविधीकरणबाट आम्दानी बढाउने योजना
एउटै बालीमा निर्भर हुँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुन सक्ने भएकाले भण्डारीले विभिन्न समयमा उत्पादन दिने फलफूल तथा तरकारीलाई प्राथमिकता दिएका छन्।
ड्रागन फ्रुटपछि एप्पल बयर खेती सुरु गरेका उनले अहिले त्यसका करिब ५०० बोट हुर्काइरहेका छन्। बोटको आकार र उमेर बढ्दै जाँदा उत्पादन पनि बढ्ने अपेक्षा उनको छ। नयाँ लगाइएका बालीले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने विश्वास उनले व्यक्त गरे।
केरा खेतीमा पनि उनले नयाँ जातको परीक्षण गरिरहेका छन्। स्थानीय मालभोग जातसँगै जी–नाइन जातको केरा लगाएर उत्पादनको सम्भावना बुझ्ने प्रयास गरेको उनले बताए। म्याकाडेमिया र एभोकाडो खेतीलाई पनि भविष्यको आम्दानीको आधार बनाउने उनको योजना छ।
तरकारी खेतीतर्फ टमाटरलाई प्राथमिकता दिएका भण्डारीले यसअघि करेला खेतीको अनुभव पनि लिएका थिए। तर करेला उत्पादनमा बढी मेहनत गर्नुपर्ने र बजारको समस्या हुने भएकाले अपेक्षित आम्दानी लिन नसकेको उनको अनुभव छ।
सिँचाइ व्यवस्थापनमा सहयोग
तमोर नदीको बगरमा खेती विस्तार गर्दा सबैभन्दा ठूलो चुनौती सिँचाइ व्यवस्थापन हो। बलौटे जमिनमा पानी टिकाउन कठिन हुने भएकाले नियमित सिँचाइको व्यवस्था नगरी व्यावसायिक खेती गर्न सम्भव छैन। यसलाई ध्यानमा राखेर भण्डारीले सिँचाइको व्यवस्था गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी निर्माण गरिएको छ। यसबाट खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ। सोही सहयोग तथा सहजीकरणमा केरा खेतीसमेत विस्तार गरिएको हो।
भण्डारीको कृषि उद्यमबाट केही स्थानीयले रोजगारीसमेत पाएका छन्। खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ। रोजगारीको खोजीमा अन्यत्र जाने युवाका लागि आफ्नै ठाउँमा कृषि व्यवसायमार्फत अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ।
अहिले कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको भण्डारीले बताए। विभिन्न बालीको उत्पादन बढ्दै जाँदा आम्दानी पनि बढ्ने उनको अपेक्षा छ। अहिले लगाइएका एप्पल बयर, म्याकाडेमिया, एभोकाडो र अन्य फलफूलका बोटले पूर्ण उत्पादन दिन थालेपछि कृषि व्यवसायलाई थप विस्तार गर्न सकिने उनले बताए।
आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पुर्याउने लक्ष्य रहेको भण्डारीले बताए। त्यसका लागि अहिले नै विभिन्न जातका फलफूल तथा तरकारी खेती विस्तार गर्दै बजारको सम्भावना खोजिरहेको उनको भनाइ छ।