त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
बुधबार बिहान १:२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० को उडानमार्फत हङकङबाट काठमाडौं आएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुवा वाङ झन्डै २ किलो सुनसहित पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी ढुण्डीराज नेउपानेका अनुसार ती व्यक्ति १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित पक्राउ परेका हुन्।
शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
चार वटा गोलाकार पदार्थ प्लास्टिकमा बेरिएको अवस्थामा बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ।
भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा उक्त पदार्थ फेला परेपछि वाङलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरीले बरामद पदार्थ र पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जनाएको छ।