त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले बिरामीलाई सहज र समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विस्तारित स्वास्थ्य सेवा (EHS) व्यवस्थित बनाएको जनाएको छ।
अस्पतालले अपराह्न ४ बजेदेखि वरिष्ठ विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्रयोगशाला र रेडियोलोजिकल परीक्षण एवं विभिन्न उपचार सेवा उपलब्ध गराउने भएको हो।
EHS अन्तर्गत ERCP, इन्डोस्कोपी, कोलोनोस्कोपी, ब्रोन्कोस्कोपी, कोल्पोस्कोपी, लेजर तथा माइनर र मेजर शल्यक्रियालगायत सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।
शल्यक्रिया आवश्यक भएका बिरामीको चिकित्सकीय मूल्याङ्कन र प्रि-एनेस्थेसिया चेकअप (PAC) पूरा भई शल्यक्रियाका लागि उपयुक्त ठहरिएमा तथा बिरामी तयार भएमा तीन दिनभित्र शल्यक्रिया गर्ने लक्ष्य अस्पतालले लिएको छ।
सेवाग्राहीको सहजताका लागि छुट्टै EHS दर्ता तथा बिलिङ काउन्टरको व्यवस्था गरिएको छ। यसबाट नियमित समयमा अस्पताल आउन नसक्ने र विशेषज्ञ सेवा लिन लामो समय कुर्नुपर्ने बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ।
अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिरामीको समय र सहजतालाई प्राथमिकता दिँदै विस्तारित स्वास्थ्य सेवा प्रभावकारी बनाइएको बताए।
एउटै सेवा प्रणालीमार्फत विशेषज्ञ परामर्श, परीक्षण र उपचार उपलब्ध गराउनु अस्पतालको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।