इरानले बहराइनमा गरेको आक्रमणबाट एक औद्योगिक क्षेत्रमा आगलागी भएको छ। घटनामा मानवीय क्षति नभएको बहराइनले जनाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार शनिबार भएको आक्रमणपछि औद्योगिक क्षेत्रमा आगलागी भएको थियो।
आगो नियन्त्रणमा लिन नागरिक सुरक्षा टोली परिचालन गरिएको बहराइनको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आक्रमण भएको औद्योगिक क्षेत्रको स्थान र प्रकृतिबारे भने खुलाएको छैन।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले बहराइनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्यालय छ।
इरानको सरकारी समाचार संस्था आइआरएनए प्रकाशित आइआरजिसीको वक्तव्यअनुसार उसले अल रिफा र अवालीस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी संयुक्त क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको हो।
इरानी सेनाले आफ्नो हवाई क्षेत्रमा भइरहेको निरन्तर अतिक्रमण र आक्रमणको जवाफमा उक्त कारबाही गरेको दाबी गरेको छ।
बहराइनको गृह मन्त्रालयले सुरुमा सम्भावित खतराको सूचना जारी गर्दै सर्वसाधारणलाई नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।
पछि खतरा टरेको सूचना जारी गरिए पनि मन्त्रालयले पुनः अर्को चेतावनी दिएको थियो।
बहराइनको रक्षा बलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट आएका कैयौँ हवाई आक्रमणलाई बीचमै रोकेको जनाएको छ।
ती आक्रमण रोक्ने क्रममा खसेका टुक्राले भौतिक क्षति पुर्याए पनि मानवीय क्षति नभएको उसको भनाइ छ।
बहराइनले इरानले आफूविरुद्ध योजनाबद्ध रूपमा शत्रुतापूर्ण गतिविधि जारी राखेको आरोप लगाएको छ।
आइआरजिसीले अमेरिकी सैन्य अखडामा आक्रमण गरेको दाबीबारे अमेरिकी सेनाको केन्द्रीय कमान्डले रोयटर्सको प्रश्नमा तत्काल प्रतिक्रिया दिएको थिएन।
गत फेब्रुअरीमा अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको छ। त्यसयता खाडी क्षेत्रका अरब मुलुकहरू पनि युद्धको प्रभावमा परेका छन्।
इरानले यस क्षेत्रमा रहेका विभिन्न स्थानमा पटकपटक आक्रमण गर्दै आएको छ।
बहराइनले पछिल्ला केही दिनयता पनि इरानका कैयौँ हवाई आक्रमणलाई आफ्नो प्रतिरक्षा प्रणालीले विफल पारेको जनाएको छ।
पछिल्लो घटनाले खाडी क्षेत्रमा युद्धको दायरा थप फैलिने जोखिम बढाएको भनेर रोयटर्सले लेखेको छ।