रोल्पामा ट्रयाक्टरबाट खसेर एक व्यापारीको मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका – २ गुराँसेका २८ वर्षीय एकराज (राजन) केसीको गएराति रा १ त ४६६१ नम्बरको ट्रयाक्टरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रहरी निरीक्षक मनिस थापाले सेतोपाटीलाई बताए ।
केसी गुराँसेस्थित आफैले उत्पादन गरेको र आसपासका अन्य किसानबाट समेत खरिद गरी ल्याएको तरकारी ट्रयाक्टरमा राखेर बिक्रीका लागि रोल्पाको निगालपानी जाँदै थिए ।
आइतबार निगालपानीमा हाटबजार लाग्ने हुँदा उनी त्यहाँ तरबारी बेच्नका लागि जाँदै थिए ।
चलिरहेको ट्रयाक्टरबाट लडेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
इप्रका होलेरका प्रमुख थापाका अनुसार शनिबार बेलुकी ७ बजेतिर ब्यापारी लडेको खबर पाएका उनी घटनास्थल पुग्दा राति ११ बजेको थियो ।
उनलाई राति नै प्रहरीले उद्धार गरी एम्बुलेन्स मार्फत उपचारका लागि दाङ पठाएको थियो। प्रहरी निरीक्षक थापाका अनुसार घटनास्थल भन्दा करिब दुई सय मिटर आसपासमा सडकमा दुई वटा तरकारीको बोरा फेला परेका थिए ।
गुडिरहेको ट्रयाक्टरबाट बोरा खसेपछि राजन बोरा हेर्न ट्याक्टरको पछाडि गएका थिए। त्यसै बेला सन्तुलिन खलबलिएर उनी लडेको प्रहरीले जनाएको छ।
उनलाई अचेत अवस्थामा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याउनासाथ चिकित्कसले मृत घोषणा गरेका थिए।
शव पोष्टमर्टमका लागि सोही अस्पतालमै राखिएको छ।
प्रहरीका अनुसार ट्रयाक्टर चालक फरार छन् । उनको खोजी कार्य जारी छ ।
ट्रयाक्टर धनी भने प्रहरीको सम्पर्कमा छन् ।
घटनाबारे चालक पक्राउ परेपछि थप तथ्य खुल्ने पनि प्रहरीले जनाएको छ ।