इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरीले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि बुधबारसम्म १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान तथा चौपाया बरामद गरेको हो।
गुल्मका अनुसार सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता–चप्पल र मदिराजन्य पदार्थलगायतका सामान बरामद गरिएको हो।
बरामद गरिएका सामानमध्ये १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ र ५७० किलो फर्सीको बियाँलगायत छन्।
सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट सशस्त्र प्रहरीका बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेको संयुक्त टोलीले ती सामान बरामद गरेको हो।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निरन्तर गस्ती, पेट्रोलिङ र निगरानी गर्दै आएको जनाएको छ।