हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
दाङ, राप्ती बबई क्याम्पस जाने सडकको गुफा चोकस्थित वरपीपलको रूखमुनिको चौतारीमा ५३ वर्षीय पर्शुराम बुढा पूर्वतर्फ फर्किएर बसिरहेका थिए। चौतारीको ठीक अगाडि उनको खाजा–नास्ताको रेस्टुरेन्ट छ।
हामीले उनलाई सोध्यौं—
आफ्नो बारेमा भन्नुहोस् न। परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
यो ठाउँ तुलसीपुरको पुरानो स्याउली बजार हो। म 'केएस रेस्टुरेन्ट' चलाउँछु। यहाँ खाजा–नास्ता पाइन्छ।
यो आसपासको सबै जग्गा ऐलानी हो। मेरो यहाँ आफ्नै नामको जग्गाजमिन छैन। म पूर्वप्रहरी हुँ। मैले आठ वर्ष प्रहरीको जागिर खाएँ। जागिर छोडेपछि विदेश गएँ।
अहिले घरमा श्रीमती, कान्छो छोरा वीरेन्द्र र जेठो छोरा सुधीरकी श्रीमती अर्थात् बुहारीसँगै बस्छौं। जेठो छोरा सुधीरले वैशाखमा बिहे गर्यो र एक महिनाअघि मलेसिया गयो।
कान्छो छोरा वीरेन्द्र फुटबल खेलाडी हो। ठाउँ ठाउँमा फुटबल खेलमा एम्पायरिङ गर्दै हिँड्छ। उसको बिहे भएको छैन। एक्ली छोरीको बिहे भइसकेको छ। छोरी तुलसीपुरकै मेट्रो हस्पिटलमा स्टाफ नर्स छिन्।
तपाईंले प्रहरीको जागिर किन छोड्नुभएको थियो?
हाम्रो पुर्ख्यौली घर रोल्पा हो। त्यो बेला माओवादी द्वन्द्व उत्कर्षमा थियो। माओवादीले हाम्रो घरबाट तोकेरै डेढ लाख रूपैयाँ चन्दा मागेका थिए। बुवा नन्दराम बुढा हुलाकमा काम गर्नुहुन्थ्यो। माइलो भाइ श्यामकुमार बुढा पनि सशस्त्र प्रहरीमा थियो।
भाइ कैलालीको वनभेडामा भएको दोहोरो भिडन्तमा घाइते भई चार वर्षमै घाइते पेन्सनमा निस्किएको थियो।
माओवादीले हाम्रो घरपरिवारलाई दिनुसम्म तनाव दिए। घरमा पालेका भाले, बाख्रा, भैंसी सबै माओवादीले लगिदिन्थे। माओवादीको यातना र दुःखका कारण प्रहरीको जागिर छाडेँ। मन नभए पनि बाध्य भएर छोड्नुपरेको थियो।
त्यो बेला रोल्पामा मेरो कारणले गर्दा आमाबुवासमेत घरमा बस्न नसक्ने अवस्था थियो। मैले जागिर छोडेपछि घरपरिवारलाई राम्रो होला भन्ने भयो। तर हामीलाई माओवादीले सताउन छोडेनन्।
हामी बुबाआमासहित घरै छोडेर हिँडेका थियौं। माओवादीको त्रासले घोराहीमा कोठा भाडामा लिएर बस्न थालेका थियौं।
हाम्रो घरपरिवारका सबै सदस्यलाई माओवादीले लखेटे।हाम्रो घरजग्गा र सम्पत्ति सबै कब्जा गरेका थिए। त्यो बेला कान्छो भाइ पाण्डव सानै थियो। हामी उसलाई उतै आफन्तकोमा छोडेर दाङ झरेका थियौं।
पछि रोल्पामा कब्जा गरिएको हाम्रो घर, सम्पत्ति र जग्गा शान्ति प्रक्रियापछि कारितास नेपालले फिर्ता स्थापित गरिदिएको थियो। फेरि हामीलाई स्थापित गर्दा त्यहाँको हाम्रो घर भत्किसकेको थियो। अहिले कान्छो भाइ शिक्षक छ। ऊ मात्रै रोल्पामा बस्छ।
जागिर छाडेपछि के गर्नुभयो?
मैले जागिर छोड्दा जम्मा ८६ हजार रूपैयाँ आएको थियो। त्यो बेलाको अवस्था त्यस्तै थियो। यता बसे माओवादीमा लाग्नैपर्ने बाध्यता थियो। मलाई त्यो गर्न मन लागेन।
म सन् २००५ मै मलेसिया गएँ। मलेसिया जान डेढ लाख रूपैयाँजति लागेको थियो। प्रहरीको जागिर छोड्दा आएको पैसाले नपुगेर ऋण खोज्नुपरेको थियो।
त्यो बेला मलेसियाको कमाइ कस्तो थियो?
कमाइ ठीकै थियो भन्नुपर्छ। मासिक ३६ हजार रूपैयाँ तलब हुन्थ्यो। दुई छोरा र एक छोरी पढाउँदा सबै ठिक्क हुन्थ्यो।
मैले आफूले जति दुःखकष्ट सहनुपरे पनि छोराछोरी सबैलाई सानैदेखि निजी स्कुल पढाएँ। बच्चा पढाउन धेरै खर्च गरेँ। मैले जग्गाजमिन जोड्नुभन्दा उनीहरूको भविष्यका लागि खर्च गरेँ। पैसा बचत गर्नुभन्दा शिक्षाको उज्यालो दिन्छु भन्ने सोचेँ।
मलाई लाग्थ्यो, छोराछोरीले राम्रो पढे भने भविष्यमा उनीहरूले दुःख पाउने छैनन् र जहाँ पनि खुट्टा टेक्न सक्छन्।
मैले विदेशमा जे–जस्तो दुःख पाए पनि बच्चाहरूले भविष्यमा दुःख नपाऊन् भन्ने सोचेर मेहनत गरेको थिएँ। मलेसियापछि सन् २०१७ मा पनि त्यही कारणले कतार गएको थिएँ।
तपाईंको काम, कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
नढाँटी भन्दा रेस्टुरेन्टको कमाइले घरधन्दा चलाउन मुस्किल पर्न थालेको छ। पहिले रेस्टुरेन्ट राम्रो चल्थ्यो, अहिले अलि व्यापार कम छ। गाउँघरका प्रत्येक कुनामा अटो पुग्न थालेपछि हाम्रो व्यापार पनि घट्यो जस्तो लाग्छ। किनभने पहिले गाउँघर चल्ने निश्चित बसहरू हुन्थे।
मानिसहरू बसको प्रतीक्षामा बजारमा रोकिन बाध्य हुन्थे। उनीहरू खाजा–नास्ता खान आउँथे। त्यस्तै, कतिपय मानिसहरू हिँड्दै जाँदा पनि यहाँ छिर्थे। अब त मानिसहरू स्वाट्ट अटोमा चढेर बजारै पुग्छन्। उतै खाजा–नास्ता खान्छन् र उतैबाट अटो चढेर स्वाट्टै घर गइहाल्छन्।
तपाईंलाई कस्ता ग्राहक नआइदिए हुन्थ्यो भन्ने लाग्छ?
खाजा–नास्ता खाइसकेपछि पैसा भोलि दिन्छु भन्नेहरू र पहिलेको उधारो नतिरी फेरि थप्न खोज्ने ग्राहक नआइदिए हुन्थ्यो भन्ने लाग्छ। प्रायः नेता हौं भन्नेहरूले मसँग त्यस्तो व्यवहार गरेको पाएको छु।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
सबैभन्दा ठूलो चिन्ता कर्जाबाट कहिले मुक्त होला भन्ने छ। मैले मासिक ३४ हजार रूपैयाँ बैंकमा ब्याज तिर्नुपर्छ। जेठो छोरा त्यही भएर बिहे गरेको पाँच महिना पुग्दा नपुग्दै विदेश जानुपर्ने अवस्था आयो। कर्जामुक्त भई आफ्नै नाममा थोरै भए पनि जग्गा किनेर सानो, चिटिक्कको घर बनाउने चाहना मनमै कैद छ।
अर्को प्रमुख चिन्ता भनेको ऐलानी जग्गाबाट तत्काल उठ्नुपर्ने अवस्था आउला भन्ने हो। त्यसपछि कहाँ गएर बसौंला भन्ने लाग्छ। आफ्नै नामको जग्गाजमिन र घर छैन।
त्यो ऋण के गर्दा लागेको हो?
कान्छो छोराको अमेरिका जाने सपनाले गर्दा पछिल्लो समय त्यो ऋण लागेको हो। उसले स्नातक पास गरेको छ। तर, यहाँ आफूले भनेजस्तो काम पाइरहेको थिएन।
तल्लो बाटो (डंकी रूट) हुँदै अमेरिका जान खोज्यो। त्यही भएर ४० लाख रूपैयाँ ऋणको भार थपिएको छ। आफन्तले जग्गा धितो राखेर त्यो पैसा दिएका थिए। मैले त्यसैको मासिक ३४ हजार रूपैयाँ ब्याज तिर्छु।
दलाल दाङको लमहीतिरकै हुन्। अहिले उनी सम्पर्कविहीन छन्। मेरो छोरालाई एक वर्ष दुबईमा बसालेर फिर्ता ल्याएका थिए। हामीले वैदेशिक रोजगार विभागमा उजुरी दिएको हुँदा अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ। तर ती दलाल अहिले सम्पर्कविहीन छन्। विदेशमा छन् भन्ने सुन्छु। उनलाई पक्राउ गरी नेपाल ल्याउन हामीजस्ता मानिसले भन्दैमा रेड कर्नर नोटिस जारी कसले गरिदिन्छ र? समस्या छ।
तपाईंको घरपरिवार वा नातागोताका युवाहरू किन विदेश जान चाहन्छन्?
कान्छो छोरा वीरेन्द्र अब खाडी मुलुक भए पनि विदेश जानुपर्छ भन्न थालेको छ। कमर्समा ब्याचलर्स गरे पनि के काम लाग्यो र? नेपालमा रोजगारीका अवसर भएनन्। यहाँको मेहनतले खानै मुस्किल छ।
यही कारण हरेक घरका युवा–युवती विदेश जान खोजिरहेका छन्। त्यो भविष्यप्रतिको चिन्ताले गर्दा हो। समयमै विदेश गएर कमाएपछि भविष्यमा सुख होला भन्ने सोचले हो।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यतिधेरै युवाहरू मारिए, देशभर आगजनी र ध्वंस भयो। यस्तै अवस्था रहिरहे यो मुलुक अब कहिल्यै बन्दैन कि भन्ने लागेको थियो। फेरि त्यस्ता दिन नदोहोरिऊन् भन्ने कामना गर्छु।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
पहिलेकाले गर्छौं मात्रै भने, तर त्यसअनुरूप काम गरेनन्। जनतालाई भोट बैंक मात्रै बनाएका थिए। जनतालाई भ्रममा पारेका थिए। विकास पनि गरेनन्। हेर्नुहोस् न, यही बाटोको हालत कस्तो छ? जहाँ कमिसन पाइन्छ, त्यहीँ मात्रै काम गरे। त्यसैप्रतिको रिस र आक्रोश थियो।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
कुर्सीको मात्रै दौडमा रमाइरहेकाहरूलाई युवाहरूले सही गरेका थिए। तर, केपी ओलीको सत्ता ढालिसकेपछि, केपी हेलिकप्टर चढेर भागिसकेपछि त्यो विध्वंस नगर्नुपर्ने थियो।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत सबै जलाए। तुलसीपुरका मालपोत, यातायात कार्यालय, सिँचाइ कार्यालय र लोकसेवा कार्यालयले के गरेका थिए? अब ती बनाउँदा तपाईं–हामीले तिरेको करको अथाह पैसा स्वाहा हुने त हो नि, हैन त?
माथिको कर कार्यालयको आफ्नै भवन र कार्यालयमा आगजनी गरी खरानी पारेपछि यहाँ मन्दिरमा हजारौं तिरेर भाडामा बसेको छ। के त्यो पैसा हाम्रो खुनपसिनाबाट तिरेको करको पैसा होइन?
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिले जस्तै छ?
मलाई त मेरो अपेक्षा अनुसार सुधार भएजस्तो लागेको छैन। यो सरकार गरिबप्रति निर्मम बन्यो। किनभने हामी सबै नेपाली हौं, यहाँ बाहिरबाट आएर कोही बसेको छैन।
सुरूमै गरिब सुकुम्बासीमाथि यो सरकारले आँखा चिम्लेर निर्मम प्रहार गर्यो। घरबारविहीन बनायो। कतिलाई मर्न बाध्य बनायो। जबकि विगतमा नेपालले भुटानी शरणार्थीलाई शरण दिएर आश्रय दिएको मुलुक हो।
उनीहरूले हामीले जितेमा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भन्थे, तर झन् बढेर गयो। जनताले त्यत्रो १८२ सिट दिए, तर यो सरकारले जनतामाथि विद्युतमा समेत कर लगायो।
दुई तिहाइ बहुमतनजिकको सरकारले जनताको काम गर्नुपर्नेमा भित्रभित्रै आफ्नै स्वार्थ र गुटका स्वार्थ बाझिएका हुँदा उनीहरू आपसमै लड्दै छन् कि जस्तो लाग्छ। बालेन (शाह) र रवि (लामिछाने) बीच आफ्ना मान्छे हाल्ने नाममा जुहारी चलिरहेको छ कि जस्तो लाग्छ।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
अहिलेसम्मको अवस्था हेर्दा चित्त बुझ्दो काम केही छैन। त्यसैले ठूलो आशा छैन।
पहिले घरघरमा पासपोर्ट र स्मार्ट लाइसेन्स पुर्याउँछौं भन्थे, तर त्यस अनुरूप काम भएको देखिनँ। स्मार्ट लाइसेन्स तत्काल आउँछ भन्थे। यहाँ यातायात कार्यालयले दिएको फोटोकपीले वर्षौंदेखि काम चलाउन बाध्य हुनुपरेको छ। भ्रष्टाचार पनि नियन्त्रण भएन।
तुलसीपुर–घोराही सडकको सेवार खोलाको पुल ६–७ वर्षसम्म अझै बनिसकेको छैन। योभन्दा ठूलो प्रमाण के हुन्छ? पहिले जस्तै चुनावी गुलिया नारा मात्रै हुने हुन् कि भन्ने शंका पैदा भएको छ।
विदेशबाट स्टिकर लगाएर मान्छे फर्काउँछौं भन्थे, त्यो पनि गरेनन्। र, त्यो सम्भव छ जस्तो पनि लाग्दैन।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
धेरै सुध्रिएको जस्तो लाग्दैन। कतिपयले अझै पनि सत्तामा जानका लागि जनताको मन जित्न सुध्रिएको नाटक गर्दै छन्। जनताको पक्षमा बोल्दै हिँड्न थालेका छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
नेपाली कांग्रेसले लैजान सक्छ। कांग्रेसको विचारधारा राम्रो छ। गगन थापा आएपछि झन् त्यो विश्वास बढेको छ।
गगन स्वास्थ्य मन्त्री भएका बेला धेरै सुधार गरेका थिए। पहिले स्वास्थ्य बिमा थियो। अहिले त्यो हटाइयो। बिमाबाट डायलाइसिस गर्ने बिरामी धेरै लाभान्वित भएका थिए।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन्? उनीहरूले के गरिदिऊन् भन्ने लाग्छ?
एक नम्बरमा गगन थापा, दुई नम्बरमा पनि कांग्रेसकै सुनिल शर्मा र तीन नम्बरमा हर्क साम्पाङ।
सबैभन्दा पहिले भ्रष्टाचार रोकून्। गरिब जनताको बाँच्ने आधारको जग बसाल्न ध्यान दिऊन्। अहिलेको सरकारले पनि कर्मचारीको मात्रै तलब बढायो। त्यो सही होइन। अतिविपन्न र बेरोजगारलाई भत्ता दिनुपर्यो। गरिबमाथि अन्याय हुनु भएन। उनीहरूले न्याय नै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' का अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्