हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
पाल्पाको बगनासकालीका अमित अधिकारी २५ वर्षदेखि बुटवलमा बसोबास गर्दै आएका छन्।
अहिले उनी तिलोत्तमा नगरपालिका–३ मा बुटवल अटो इन्टरनेसनल चलाइरहेका छन्। आफ्नै कार्यालयमा भेटिएका अमितसँग हामीले कुराकानी गरेका छौं।
हामीले उनलाई सोध्यौं—
पहिले आफ्नोबारे भन्नुस् न। परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
यहाँ म, श्रीमती लक्ष्मी र दुई जना छोराछोरी असीम र प्रकृति छौं। पाल्पामा आमाबुबा हुनुहुन्छ। दाइहरू आ–आफ्नो पेसा–व्यवसायमा हुनुहुन्छ। म सेकेन्ड ह्यान्ड गाडीको खरिदबिक्रीको काम गर्छु। पहिले त अरू काम गरेँ। यो व्यवसाय गर्न थालेको सात वर्ष भयो।
अहिले व्यापार कस्तो छ?
मानिसहरूमा गाडी चढ्ने क्रम बढेकाले सेकेन्ड ह्यान्ड गाडीको बजार राम्रै छ। तर घरमै बसेर व्यापार गर्नेहरूका कारण बजारमा राम्रा गाडी पाउन अलि दुःख छ। म कमर्सियल गाडीको व्यापार गर्दिनँ, व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने साना गाडीको किनबेच गर्छु।
पछिल्लो समय विद्युतीय गाडीको बजार पनि बढिरहेको छ। अहिलेसम्म इन्धनबाट चल्ने गाडीको कारोबार हुन्थ्यो, अहिले विद्युतीय गाडी पनि खरिदबिक्री गर्न थालेको छु। अहिले मसँग आठ लाखदेखि ३०/३५ लाख रूपैयाँसम्मका सेकेन्ड ह्यान्ड गाडी छन्।
आम्दानी कस्तो छ र घरखर्च कसरी चलिरहेको छ?
महिनामा दुई–चार वटा गाडी खरिदबिक्री भइरहन्छन्। त्यसबाट सजिलै घरखर्च चलाउन सकिएको छ।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
अब आफ्नोबारे चिन्ता त केही छैन। छोराछोरी ठूला भए, उनीहरूलाई केही नराम्रो नहोस् भन्ने चिन्ता त भइहाल्यो।
अर्को कुरा, जसरी मैले संघर्ष गरेर यो व्यवसाय सुरू गरी यहाँसम्म ल्याएको छु, यसलाई छोराछोरीले सम्हालून् र मैले आराम गर्न पाऊँ भन्ने छ। त्यही भएर पनि छोरालाई अटोमोबाइल्स विषय लिएर मेकानिकल इन्जिनियरिङ पढ्न पठाएको छु।
तपाईंका छोराछोरीको चाहना के छ? नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्?
मेरी छोरी ठूली हुन्। उनले प्लस टू गरिसकेपछि विदेश जान धेरै मरिहत्ते गरेकी थिइन्। मैले जान नदिएपछि केही दिन खाना नखाई अनसन समेत बसिन्। मैले विदेश जान हुन्न, विदेशमा दुःख हुन्छ, गए पनि ब्याचलर पढेपछि विवाह गरेर श्रीमान–श्रीमती सँगै गए हुन्छ भनेर जिद्दी गरेँ।
मैले जान नदिएपछि यहीँ ब्याचलर पढिन्। छोरीलाई जान नदिएको देखेपछि छोराले पनि मसँग विदेश जान्छु भन्ने आँट गरेन। यहीँ मेकानिकल इन्जिनियरिङ पढ्छु भन्यो।
छोरीले ब्याचलर पास गरेपछि फेरि विदेश जान्छु भनिनन्?
अहिले त विदेश जाने भए जाऊ भन्दा पनि जान्नँ, यहीँ पढ्छु भन्छिन्। अहिले छोरा १९ र छोरी २३ वर्षका भए। नेपालमै पढेर यहीँ केही गर्छौं भनेका छन्। उनीहरूले कुरा बुझेपछि म धेरै खुसी छु।
तपाईंलाई छोराछोरीलाई विदेश पठाउन किन मन लागेन?
मलाई मेरा छोराछोरी मात्र होइन, कसैका पनि छोराछोरी विदेश नजाऊन्, आफ्नै देशमा केही गरून् भन्ने लाग्छ। हामी विदेश गएकाहरू सबैले सुख पाएका छन् भन्ने सोच्छौं। त्यस्तो हुँदैन। काम गर्न नेपालमा भन्दा विदेशमा दुःख छ।
हामी यहीँ बसेर जीविका चलाउन सकेका छौं भने छोराछोरीले किन गर्न सक्दैनन्? अझ हाम्रो समयमा भन्दा अहिले त धेरै सुविधा नेपालमै छन्। मैले पनि पाल्पाबाट बुटवल आउँदा केही नलिई झरेको हुँ। छोराछोरीलाई हुर्काउन र पढाउन सकेको छु। निरन्तर मेहनत गरेर लाग्ने हो भने नेपालमा सबै थोक छ।
सबैभन्दा ठूलो कुरा त परिवारसँगै बसेर काम गर्न पाइन्छ।
अहिलेका तन्नेरीहरू किन विदेश जान चाहन्छन् होला?
खासमा यो त एउटा लहर हो। एक जना साथी विदेश गएको छ भने उसको देखासिकी गर्दै त्यहाँको परिवेश नबुझी विदेश जाने प्रचलन धेरै छ। एउटा साथी गयो, अर्को गयो भनेर त्यही लहरमा लागेर विदेश जानेहरू धेरै छन् जस्तो लाग्छ मलाई त।
कसैलाई भने बाध्यता पनि होला, तर लाखौं खर्च गरेर विदेश जानुपर्ने के बाध्यता होला? विदेश जाँदा गरेको खर्च सबैले नेपालमै लगाउने हो भने जुनसुकै व्यवसाय पनि चल्छ।
पोहोर साल जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
खासमा सरकारले सामाजिक सञ्जालमा कडाइ गर्न थालेको भन्दै युवाहरूले २३ गतेको आन्दोलन आह्वान गरेका थिए। युवाहरूको आन्दोलनपछि सरकारले सामाजिक सञ्जालमा लगाउन खोजेको कडाइ खुकुलो बनाउन सकिन्छ भन्ने लागेको थियो।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
आन्दोलनका लागि जुन कुरालाई बहाना बनाइयो, सामाजिक सञ्जालमाथिको कडाइको विषय, त्यतिले मात्र युवाहरू सडकमा उत्रिएका हुन् भन्ने लाग्दैन। एउटा त पुराना दलहरूले राजनीतिलाई र देशलाई जुन ट्र्याकमा लैजानुपर्ने थियो, त्यो हुन सकेन भन्ने मलाई लाग्छ।
राजनीतिलाई नेताहरूले व्यापारजस्तै बनाउन थाले। हामी व्यापार गरेर बस्ने मान्छेले आफ्नो घरपरिवार चलाएका छौं भने कतिपय मान्छेले राजनीति गरेर आफ्नो घर चलाउन थाले। त्यसले गर्दा राजनीतिमा स्वार्थ मिसियो।
राजनीति त विशुद्ध सामाजिक सेवा हुनुपर्ने थियो। त्यसो हुन नसकेपछि युवाहरू विस्फोट भए।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
त्यो आन्दोलनले राम्रो गर्यो भन्ने मलाई केही पनि लाग्दैन। सबै नराम्रो मात्र भयो। विगतमा पनि विभिन्न आन्दोलनहरू हुन्थे। त्यस्तो विध्वंस कहिल्यै भएन। त्यो आन्दोलन त्यति ठूलो होला, युवाहरूलाई त्यसरी गोली हानिएला, २४ गते देश नै जलाइएला भनेर सोचेको थिइनँ।
आन्दोलनले गरेको राम्रो पक्ष मलाई कुनै पनि लाग्दैन।
मलाई त्यो आन्दोलन स्वतः स्फूर्त थियो भन्ने पनि लाग्दैन। जसरी निषेधित क्षेत्र तोडियो, सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य पारियो, भोलिपल्ट देशभर जे–जे गरियो, त्यो सबै सुनियोजित नै थियो भन्ने लाग्छ। हुन त समयले सबै खुलस्त पार्ला।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
मलाई त आन्दोलनपछि पनि केही फेरिएको जस्तो लाग्दैन। त्यति ठूलो आन्दोलन भयो, आन्दोलनपछि व्यापार–व्यवसाय चलायमान हुन्छ भन्ने लागेको थियो, त्यो हुन सकेको छैन।
लगानी गर्ने वातावरण नै छैन। बैंकमा गयो, पैसा थुप्रिएको छ, लैजानुस् भन्छ बैंकले। बैंकबाट ऋण लिएर व्यवसाय गर्यो, वातावरण छैन। विमानस्थलमा विदेश जानेहरूको लर्को उस्तै छ। बजारमा गयो, महँगीले केही सामान किन्न सकिँदैन।
दिनभरि काम गरेर खानेहरू दुई छाक खान नपुग्ने अवस्थामा पुगेका छन्। मिलेर बसेको समाज यति धेरै विभाजित भएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जाल हेर्यो, निराशा मात्र छ। असुरक्षा उस्तै छ। हिजोभन्दा आज के राम्रो भयो र?
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
देश बन्छ भन्ने आशा त गरौं, भर नपरौं भन्नेजस्तै भयो। अब त देश बन्ला बन्ला भन्यो, एउटा न एउटा विपत्ति आइपर्छ। पहिले पनि नेपालमा राम्रो हुँदै नभएको त होइन, भइरहेकै थियो। तर नेपालमा राजनीतिक अस्थिरताले गर्दा भएका कामहरू पनि ओझेलमा परे।
अहिले पनि राजनीतिक स्थिरता भइहाल्यो भन्न सकिँदैन। यसभन्दा पहिले पनि झन्डै दुईतिहाइका सरकार बनेका थिए। सत्तामा पुगेकाहरूले राजनीति बुझेका र परिपक्व भएको भए अहिले केही आशा गर्न हुन्थ्यो, तर त्यस्तो छैन। कामना गरौं, अब देश बनोस्।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
मेरो आफ्नो र परिवारको जिन्दगी राम्रै होला भनेर मेहनत गरिरहेको छु। मेरो व्यापारको हिसाबले हेर्ने हो भने गाडी चढ्ने मान्छेहरूको संख्या बढिरहेकोले व्यापार पनि बढ्ला।
व्यापार बढ्दा आम्दानी पनि बढ्ला भन्ने आशा छ। अब त छोराछोरीले पनि सघाउलान्।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्तबुझ्दो काम गर्न सकेको छैन?
सुरू–सुरूमा त अलि–अलि गरेका एक्सनहरू राम्रै थिए। जस्तो, सेवाग्राहीहरूले छिटो सेवा पाउने, कार्यालयहरूमा बस्ने दलालहरूलाई समाउनेजस्ता काम गरेको थियो। ती काम निरन्तर हुन सकेनन्।
अहिले जुन कार्यालयमा गए पनि सेवाग्राहीको लाइन देखिन्छ। ग्यासको अभावले उपभोक्ता लाइनमा छन्। के राम्रो काम भएको छ र?
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
सरकारले तल्लो तहका जनतालाई राहत दिने काम गर्नुपर्यो। जनतालाई छिटो सुविधा दिने, उपचार सर्वसुलभ गर्ने, जताततै बिग्रिएका बाटोघाटो सहज बनाउने गर्नुपर्थ्यो।
हुन त यस्तो भन्दा आजको भोलि परिवर्तन कहाँ हुन्छ र भनिएला, तर ठूला ठूला परियोजनाभन्दा पनि गाउँका साना साना योजना पूरा गर्दा धेरैले राहत पाउँछन्। जनताले महसुस गर्छन्। जनतालाई सजिलो हुन्छ। ती काम गर्नुपर्यो।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
पुराना पार्टी त केही सुध्रिए, केही उस्तै छन्। कसलाई सुध्रिएको भन्नु, कसलाई नसुध्रिएको भन्नु? कसका लागि सुध्रिनुपर्ने हो?
नेपाली कांग्रेस परिवर्तन भयौं, युवामा नेतृत्व गयो भन्ने पनि छ। मलाई भने युवा उमेरले मात्र हुँदैन, सोचले युवा हुने हो भन्ने लाग्छ। उमेर युवा तर सोचाइ अघिल्लो पुस्ताको जस्तो भयो भने केही हुँदैन।
एमालेमा पनि परिवर्तन भएर नयाँ आउने अथवा अरू राप्रपाहरूमा पनि युवा–युवा आउने र देशका लागि सबैको कुरा मिले देश पनि बन्थ्यो।
सबै एकै ठाउँमा भएर काम गर्ने हो भने त देश छिटो बन्थ्यो। अब सत्तामा जान तानातान भइरहने हो भने परिवर्तन भएको के काम?
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
दलको हिसाबले हेर्ने हो भने त केही राम्रो एमालेले नै गरेको थियो। केपी ओलीको नेतृत्वमा सरकार हुँदा धेरै राम्रा काम भएका थिए। ओलीलाई सल्लाह दिने सल्लाहकारहरू राम्रा नभएपछि सबै नराम्रो मात्रै भयो भन्ने प्रचार गरियो।
तपाईंले आशा गरेको पार्टीका अध्यक्षकै दम्भ र हठका कारण मुलुक यो अवस्थामा आयो भनिन्छ नि?
भन्नलाई जे पनि पाइयो। नेपाली कांग्रेसको पालामा पनि केही काम राम्रै भएका थिए होलान्। जति पनि राष्ट्रिय गौरवका योजना अगाडि बढाइए, ती धेरैजसो त ओलीकै पालामा अगाडि बढेका हुन् नि।
अहिलेको सरकारले पनि बजेट ल्याएको थियो, खोइ त जनतालाई राहत दिने योजना केही आएनन्? राम्रोलाई राम्रो भन्न सक्नुपर्छ। नराम्रामध्ये राम्रो खोज्दा एमालेले नै देशलाई निकास दिन्छ भन्ने लाग्छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
जसले जे भने पनि मलाई आशा लागेको पहिलो नेता त केपी ओली नै हो। अर्को, नेपाली कांग्रेसका भर्खरै वरिष्ठ उपसभापति भएका विश्वप्रकाश शर्मा पनि मलाई अत्यन्त मनपर्छ। विश्वप्रकाशमा भएको त्याग गर्ने क्षमता र सहनशीलता मलाई अति मनपर्छ।
मनपर्ने अर्को नेता एमालेका विष्णु पौडेल हो। उहाँसँग मेरो व्यक्तिगत चिनजान वा फोन सम्पर्क केही छैन तर यो क्षेत्रमा काम गरेको हिसाबले यो क्षेत्रमा चाहिने व्यक्ति हो।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
मैले भनेका तीनै जना देशका लागि काम गर्ने नेता हुन् जस्तो लाग्छ। केपी ओलीलाई त आफ्नो बनाउनुपर्ने केही पनि छैन, सबै कुरा राष्ट्रका नाममा अर्पेको मान्छे हो। विष्णु पौडेलले यो क्षेत्रका लागि कति राम्रो गर्नुभएको छ। विश्वप्रकाशमा पनि देशका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी छ।
जसरी मैले उहाँहरूलाई विश्वास गरेको छु, त्यसरी नै अरू जनताले पनि विश्वास गर्छन्। त्यो विश्वास नतोड्नू भन्न चाहन्छु।
***
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे