यानिक सिनरले इन्डियन वेल्सपछि मियामी ओपनको उपाधि पनि जितेर इतिहास रचेका छन्। यो उपलब्धिसँगै उनले आफ्ना प्रतिद्वन्द्वी कार्लोस अल्कारेजलाई कडा चुनौती दिएका छन्।
२४ वर्षीय सिनरले एकै सिजनमा क्यालिफोर्निया (इन्डियन वेल्स) र फ्लोरिडा (मियामी ओपन) दुवै प्रतियोगिता जितेर 'सनसाइन डबल' पूरा गरेका छन्। यी दुवै प्रतियोगितामा उनले एउटै सेट पनि नहारी यो उपाधि जित्ने पहिलो पुरुष खेलाडीको इतिहास बनाएका छन्।
मियामी ओपनको फाइनलमा सिनरले चेक गणतन्त्रका २१औं वरीयताप्राप्त जिरी लेहेकालाई ६-४, ६-४ को सोझो सेटमा पराजित गरे। यो जितले सिनर र अल्कारेज अन्य टेनिस खेलाडीहरूभन्दा निकै अगाडि रहेको प्रमाणित गरेको छ।
सिनरले अहिले मास्टर्स प्रतियोगिताहरूमा लगातार ३४ सेट जितेका छन्। योसँगै उनी नोभाक जोकोभिच र राफेल नाडालपछि लगातार तीनवटा मास्टर्स स्तरका उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन्।
मियामीमा जित हात पारेसँगै विश्व नम्बर २ मा रहेका सिनरर र शीर्ष स्थानमा रहेका अल्कारेजबीचको अंकको दूरी अब मात्र १,१९० मा झरेको छ। अब सिजनको अर्को चरण 'क्ले-कोर्ट' मा सुरु हुँदैछ, जहाँ यी दुईबीच फेरि कडा टक्कर हुने निश्चित छ।
आफ्नो सफलताबाट उत्साहित सिनरुले भने, ‘यो मेरो लागि अविश्वसनीय यात्रा रहेको छ। हामीले जुन स्तरको खेल प्रदर्शन गर्ने प्रयास गरिरहेका छौं, त्यसबाट म धेरै खुसी छु।’
अहिले टेनिस जगतमा सिनर र अल्कारेजले आफ्नो खेललाई यति माथि पुर्याएका छन् कि एटीपी टुरका अन्य खेलाडीहरू उनीहरूभन्दा निकै पछाडि देखिएका छन्।